Nepali Poet Shudhir Khawabiसपनाको रंग

हरेक रात मेरो सपना सम्म आउँछन्
र , गुनासा गर्दछन् मृतात्माहरु
कवि ज्यु , के सँधै कविता मात्र लेखेर बस्छौ ?

मेरो सपनाको चौतारीमा
मृतात्माहरुको जमघट हुने गर्दछ
र मलाई प्रश्न गर्न थाल्दछन् ।



कलिला बालबालिकाहरुका अबोध आत्मा
भर्खर यौवनको संघार टेकेका युवा युवतीका स्वप्निल आत्मा
वयष्क र बुजुर्गहरुका अतृप्त, अधूरा आत्मा ।

बाल - सुलभता बारूदसंग साटेर गाडिएकाहरु
यौवनका रहरहरु संगीनमा उनेर चिथोरिएकाहरु
फतवा जारी गरि प्वाल पारिएका निर्दोष छातीहरु ।

हरेक रात मेरो सपना सम्म धाउँछन्
आक्रोश व्यक्त गर्दछन् मृतात्माहरु
कवि ज्यु , के सँधै हाईकु मात्र लेखेर बस्छौ ?

दिनहुँ , मृतात्माहरुको भीड बढ्दै थियो
एक , दुई गर्दै सय , दुईसय हुँदै हजार
त्यसपछि हजारौं हजारका संख्यामा ।

मृतात्माहरु :
चिल्लाईरहेका थिए - आक्रोशमा
रोईरहेका थिए - व्यथामा
कोहि चुपचाप स्तब्ध देखिन्थे - पछुतोमा

र पनि कोहि मृतात्मा
मलाई प्रश्न माथि प्रश्नको खात लगाउँदै थियो
कवि ज्यु , के सँधै रुमानी गज़ल मात्र लेखेर बस्छौ ?

एउटा अर्को मृतात्माले फेरि प्रश्नले खेदे
हाम्रो सपनाको रंग, किन रंगहीन भए , सुनौलो किन भएन ?
हाम्रो वलिदानको मर्म किन अँध्यारो भए , उज्यालो किन भएन ?

मेरो कलम, कापीसंगै निस्क्रिय थिए , सपनामा म जस्तै
कवि ज्यु , अब कहिले हाम्रो सपनाको कथा लेख्न थाल्छौ ?
अनि कहिले दिन्छौ , हाम्रा प्रश्नहरुका सहि जवाफ !
कवि
सुधीर ख्वबि
ललितपुर नेपाल

हाम्रो अभियान “श्रष्टाको सम्मान” । शेयर गरौँ सहभागिता जनाऔँ ।

 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.