घोचो : एक नयाँ साहित्यिक विधा । - Palpali Milan

Recent

03 September 2012

घोचो : एक नयाँ साहित्यिक विधा ।


 

घोचो : एक नयाँ साहित्यिक विधा ।

 परिचय

१. घोचो शब्दको व्युत्पत्ति र अर्थ :

घोचो शब्द घोच् धातुमा ओ प्रत्यय जोडिएर बनेको कृदन्त व्युत्पन्न शब्द हो । यसको अर्थ कुनै वस्तुलाई घोच्न प्रयोग गरिने वस्तु हुन्छ । उदारण : घोचाले नरिवल झार्छ वा भनौ मेवा झार्न घोचाको प्रयोग गर । यसलाई लक्ष्यार्थ र व्यङ्ग्यार्थका रुपमा पनि प्रयोग गरिन्छ । उदारण : घोचाघारा बटुलेर ल्याउनू । त्यसका तिखा वचनले घोचाले जस्तो घोच्छन् । साहित्यिक विधागत रुपमा घोचोको अर्थ खुलाउनु पर्दा कुनैपनि विषय ( विषय एक वा एक भन्दा बढीपनि हुन सक्छन ) मा केन्द्रित भएर कसैप्रति गरिने चोटिलो प्रहार जुन घोचो जस्तै तिखो हुनु पर्दछ र सटिक, चुस्त एवं यसको भावले पाठकको मन मुटुलाई च्वास्स छुन सक्ने किसिमको हुनु पर्दछ ।

२ . साहित्यिक विधाका रूपमा घोचो :

घोचो एक नयाँ साहित्यिक विधा हो । अरु विधाहरु जस्तै यो पनि स्वतन्त्र हैसियत भएको विधा हो । यसकोपनि आफ्नै संरचना छ, गजल विधासँग मिल्दो जुल्दो भएतापनि गजल भन्दा फरक अनि पृथक विधा हो भनेर बुझ्नु पर्छ र त्यसरी नै लिनु पर्छपनि । त्यसैले गजलको दुई शेर भए यो विधालाई पुगि हाल्ने रहेछ अनि पहिलो र दोश्रो शेरको सानीलाई कपि गरेर तेश्रो शेर बनायो सकि हाल्यो नि भनेर त्यसरी नजर अन्दाज भने गर्नु हुन्न है किनभने तेश्रो शेरले घोचो कस्तो भयो भन्ने कुरा जनाउँछ र त्यसैले नै तपाइँलाई घोचो विधामा पास वा फेल के हुनु भयो भन्ने कुरा सजिलै बताउँछ । अनि अर्को कुरा घोचोमा प्रयोग गरिएका शेरहरु यति शक्तिशाली हुनुपर्छ कि त्यसले मान्छेको मन मुटुलाई चसक्क छुन सकोस । पाठकहरु हाँशेपनि दिल खोलेर हाँश्न सक्नु होस अनि रोएपनि दिल खोलेर ।

३. घोचोका आधारभूत तत्वहरु :

क . संरचना
क . १  . बाह्य संरचनाः

घोचोको बाह्य संरचना तीन जोडी लहरहरु (गजलका सन्दर्भमा शेर ) मिलेर निर्माण हुन्छ जसको पहिलो शेर गजलको मतला झैँ दुवै मिसरामा काफिया र रदिफको समन्वयबाट बनेको हुन्छ , दोस्रो जोडीको दोस्रो पङ्क्तिमा गजलका मिसरा ए सानीमा झैँ नै काफिया र रदिफ रहन्छन् तथा तेस्रो श्लोकको निर्माण क्रमशः पहिलो जोडीको दोस्रो लहर र दोस्रो जोडीको दोस्रो लहर राखेर निर्माण गरिएको हुन्छ ।

क .२ . आन्तरिक संरचना : 

तीन जोडीमा जीवनजगतका कुनै एक महत्वपूर्ण विषयमा अनुभूतिको प्रकाशन हुने र तेस्रो जोडी पूर्वसंरचनाभित्रैबाट निर्माण हुने हुँदा अनुभूतिको तीव्रता र पूर्णतामा सचेत हुनु जरुरी छ । माथिल्ला दुई जोडीका हरफ जोडेर तयार हुने तेस्रो जोडीबाट नया भाव र स्वाद प्राप्त हुनु पर्ने कुरामा पनि उत्तिकै सचेतता आवश्यक छ ।

ख . लय :

घोचो एक लय प्रधान गेय विधा हो जसमा जोडीहरु सममात्राका आधारमा निर्मित हुन्छन् । विधागत रुपमा छुट्टै छन्द बहरहरू नभएर लयप्रधान विधाहरुमा प्रयोग हुनसक्ने जुनसुकै संगीतमैत्री लयको प्रयोग यसमा गर्न सकिन्छ ।

ग . विम्बप्रतिक

अभिव्यक्तिलाई कलात्मक र सम्प्रेषणीय बनाउन कविता , गीत , गजल आदि विधामा झै घोचोमा पनि विविध सहजसंवेद्य विम्बप्रतिकहरुको प्रयोग गर्न सकिन्छ ।

घ . भाव

घोचो मुख्यतः व्यङ्ग्यप्रधान विधा भएकाले यसमा त्यसै अनुकुल भावविधान गरिएको हुन्छ । सामाजिक , आर्थिक , राजनैतिक , प्रवृत्तिगत आदि जुनसुकै विषयवस्तुमा विम्बप्रतिकका माध्यमले भावविधान गर्न सकिन्छ ।

घोचोका केही उदाहरणहरु :

# घोचो (एक ) भक्ति प्रसाद पौड्याल

काँढो तान्छ पछ्यौरी यो बाटो छेक्छ भँगालो
आतुर छु फुकाउनु छ बिछोडको सँगालो

बेला पनि चिप्लिएर हातबाट भाग्दो छ
खोसियो कि पर्खिरा'छ मलाई , उनको अँगालो

आतुर छु फुकाउनु छ बिछोडको सँगालो
खोसियो कि पर्खिरा'छ मलाई उनको अँगालो

# घोचो (दुई ) नीरस मैनाली

तिमी भनि हेर प्रिय तारापनि झारिदिन्छु
तिम्रा शत्रु जति सबै चारधाम तारीदिन्छु

ढुक्क भई बस्नु फेरी मानि सधैं मेरै भर
समिप त्यी आए भने छेकबार बारीदिन्छु

तिम्रा शत्रु जति सबै चारधाम तारीदिन्छु
समिप त्यी आए भने छेकबार बारीदिन्छु
# घोचो (तीन ) रबिन प्रधान "प्रतिक"

पिरतीमा पैसा संग झुटो वाचा खाउ तिमी !
रोजगारी छैन यहाँ डिस्को तिर धाउ तिमी !!

फेशनले मार्यो बरै आँखै छोपी हिड्नु पर्ने !
महंगी छ कपडा'नि आधा मात्रै लाउ तिमी !!

रोजगारी छैन यहाँ डिस्को तिर धाउ तिमी !
महंगी छ कपडा'नि आधा मात्रै लाउ तिमी !!

# घोचो (चार ) राज कँडेल "निरास"

सपनाको संसार नै हत्याएर गयौ !
दुनीयाका झुठा कुरा पत्याएर गयौ !

तिमी बिना एक पल बाँच्न गाह्रो छ ,
मेरो चोखो मायाँलाई लत्याएर गयौ !

दुनीयाँका झुठा कुरा पत्याएर गयौ !
मेरो चोखो मायाँलाई लत्याएर गयौ !



Search