Gita Thapa


एकैछिन् साथीहरूसँग खेलेर आउँछु भनेर हिंडेको छोरो दिउसोको खाना खाने समय टरेपछि घर फार्कियो । फर्किएर आमाको डरले पिँढीमा चुपचाप बसेको छोरोलाई ढोकाको संघारमा उभिएर आमाले हप्काइ-एकैछिन्मा आउँछु भनेर गा'को मान्छे यसबेला आउने ? कहाँ गएको थिइस् हँ ? मैले सारा गाउँमा खोजें । तर तँलाई फेला पार्न सकिनँ।

बाटो हिँड्ने बटुवाले भन्यो - के भनेको दिदी तिमीले खोज्दा ईश्वर त पाइन्छ ।

रिसले आमाको कन्पारो तातेको थियो,त्यसैले बटुवाका कुरातिर ध्यानै दिइन । ऊ एकहोरो छोरोलाई हप्काउदै थिइ । छोरो भने आमाको गालीलाई वेवास्ता गरेर बटुवाको कुरा मनमनै गम्दै थियो।

भोलिपल्ट स्कुलजान भनेर घरबाट निस्केको छोरो ईश्वर खोज्न हिँड्यो । सहरको भीडभाड छिचोल्दै नदी-नाला, झरना, वनपाखा, संसार चाहर्दा पनि उसले ईश्वरलाई भेटाउन सकेन। एक,दुई तीन गर्दै दिनहरू व्यतित हुँदै गए। उसले मनमनै दृढ-संकल्प गर्‍यो-जसरी हुन्छ म ईश्वर नभेटिकन घर फर्किन्न।

एकदिन नदीको किनारमा बसेर विचारदै थियो-यो ईश्वर पनि कहाँ लुकेर बसेको होला ? उसको पछाडिबाट कोही गुज्रिएको आवाज कानमा परे । उसले मुन्टो घुमायो। एकजना पहेंलो वस्त्रधारी साधु उसैको नजिक उभिएका थिए।

साधुले केटोलाई सोधे-बालक तिमी यो एकान्त ठाउँमा के गर्दै छौ ?

केटोले जवाफ दियो-साधुजी ! म ईश्वर खोज्न हिँडेको ।

साधु अचम्मित हुँदै तिनै कुरा दोहोर्याए- ईश्वर खोज्न ?

हो ईश्वर खोज्न।

कसले भन्यो तिमीलाई ईश्वर वनजंगल,नदीनालामा खोजेर पाइन्छ भनेर ?

बटुवाले।

साधुले स्नेहपूर्वक केटोलाई सम्झाए-हेर बाबु ईश्वर बाहिर खोजेर पाइदैन।

अनि कहाँ पाइन्छ त ?

ईश्वरको निवास हामीभित्र हुन्छ ।

हामी भित्र कहाँ हुन्छ देखाइदिनुस् न?म ईश्वरलाई एकपल्ट हेर्न चाहन्छु ।

ईश्वर हेरेन चाहेर देखिने र किन्न चाहेर किनिने बस्तु होइन। ईश्वर त महसुस गर्ने चिज हो । ईश्वर हाम्रो आत्माको एउटा सुन्दर भाव हो । हामी भित्र रहेको ईश्वरिय भावलाई बचाउनको लागि हामीले हाम्रो आत्मा पवित्र र विचार शुद्ध राख्नुपर्छ । कर्मबाट भागेर होइन । कर्म गरेर,धर्म निभाएर । मेरो भनाइको तात्पर्य यो हो बालक-अहिले तिम्रो ईश्वर खोजेर वनजंगल भौंतारिने समय होइन । यो पढ्ने लेख्ने समय हो । यसरी वनजंगल भौंतारिएर जान्ने, बुझ्ने,केही बन्ने अवसर व्यर्थ नगुमाऊ । घर जाऊ। तिम्री आमा तिम्रो चिन्ताले अन्न, जल,त्यागेर आफ्नो शरीरलाई याताना दिरहेकी छिन् । उनलाई बचाएर छोरो हुनुको कर्तव्य निभाऊ।

केटोले साधुका कुरा बुझ्यो । ऊ श्रद्धापूर्वक साधुको पाउमा आफ्नो शिर राखेर घर फर्कियो र एउटा मानव हुनुको कर्म र कर्तव्य निभाउनमा तनमयातापूर्वक लागिरह्यो।

कथाकार
गीता थापा
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.