Ramesh Karkiरूपक र दिपक खुबै मिल्थे । स्कूलदेखिका साथी, आइ एस्सी पनि संगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दिपकको शहरमा घर थियो । रूपकको प्राय दिपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि गर्थ्यो । संगै कलेज जान्थे, संगै घुम्थे । सिनेमा हेर्ने, गफ गर्ने, होमवर्क गर्ने आदि इत्यादि सबै दुबै एकसाथ गर्दथे । एक अर्काको रमाइलोमा साथ दिन्थे, अप्ठेरोमा सहयोग गर्थे अनि दु:खमा आँसु पुछ्थे । रुपकको आर्थिक स्थिति अलि कमजोर थियो । खर्च गर्न पर्ने ठाउँमा दिपक नै गर्थ्यो । पढाइमा रूपक अलि तेज थियो । दिपक पनि कम थिएन । तर रूपक धेरै नै मेहनती थियो । त्यसैले रूपकको परीक्षामा नम्बर दिपकको भन्दा राम्रो आउँथ्यो ।


दुबैजनाको खुब राम्ररी दिनचर्या बित्दै थियो । दिन, महिना, साल बितेको पत्तै भएन । उच्च शिक्षाको लागि बिदेश जानु पर्ने समय आयो । दुबैजनालाई दुई भिन्न देशमा जानुपर्ने भयो । दुबैको मन गह्रुँगो हुने नै भयो । दिपकले रुपकलाई छुट्टिने बेलामा भनेको थियो “रूपक मलाई बिर्सन त बिर्सिदिनस् ? प्रत्युत्तरमा रूपकले भनेको थियो । दिपक, के भनेको तैले ! त्यस्तो पनि भन्ने । बरु म आफैँलाई बिर्सुँला तलाई कहिल्यै बिर्सन सक्दिन ।“ दुबैजना हात मिलाएर सधैँ एकअर्कालाई सहयोग गर्ने प्रण गर्दै छुट्टिएका थिए ।

धेरै बर्ष पछि दिपकले पत्रिकामा रुपकको बारेमा पढ्न पायो । उ कम्प्युटर इन्जिनियर भएर अमेरिकामा आफ्नै कम्पनि खोलेर बसेको रहेछ । अमेरिकाको नेपाली धनाढ्यहरुमा उसको पनि नाम आउँदो रहेछ । उ त करोडपति भएछ । दिपक रूपकको बारेमा थाहा पाएर खुशीले गद्गद् भयो । उसलाई सम्पर्क गर्न दिपकले धेरै कोशिश गर्यो । उसको कम्पनिको नाम गुगलमा सर्च गर्न थाल्यो । बल्ल उसले कम्पनिको ठेगाना र फोन पत्ता लगायो ।

संयोगबश दिपकलाई अफिसको कामले अमेरिका जानुपर्ने भयो । दिपक रूपकलाई सरप्राइज दिन सिधै उसको अफिसमा गयो । भव्य भवनको अफिस रहेछ । काम गर्ने मानिसहरु धेरै रहेछन् । रूपकको पिए शेली नामकी केटी रहिछिन् । दिपकले शेलीलाई भन्यो दिपक आएको छ भनि भनिदिनोस, उसले चिनिहाल्छ । शेली रूपकको कोठा भित्र गइन् । दिपक रुपकलाई भेट्न आतुर थियो । रूपक अब निस्कन्छ, तब निस्कन्छ भनेको त, शेली एक्लै निस्किन् ।

दिपकले सोच्न सकिरहेको थिएन, शेलीले अंग्रेजीमा भनिन् । डाइरेक्टरको निकै बिजि स्केज्योल छ । तपाईले अप्वाईमेन्ट लिइ भेट्न सक्नुहुन्छ । उहाँ कहिले फ्रि हुनुहुन्छ म हेरिदिन्छु । दिपकले थाहा पायो रूपक आफ्नै कम्पनिमा आफै डाइरेक्टर रहेछ । एकछिन पछि घोरिएर शेलीले भनिन् अर्को हप्ता तपाईँ भेट्न सक्नुहुन्छ । दिपकको मनले अर्को हप्ता !!! भने पनि बाहिर उसले केही बोल्न सकेन । तिनदिन पछि दिपकको फर्किने टिकट थियो । द्याट इज ओके, थ्याङ्यू शेली ! भनेर दिपक लुरु लुरु निराश भएर फर्कियो । दिपकको दिमागले रूपकसंगको उसको रमाइला दिनहरु सम्झिरह्यो ।

कथाकार
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर, लस् एन्जेलस्

हजुरको आफ्नो मौलिक रचनाहरु साहित्यप्रेमी मनहरुमाझ प्रस्तुत गर्न चाहानुहुन्छ भने Click Click

 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.