कपाल यो चुल्ठो पारि, सजाउँ झैं लाग्छ आज
यो लाजको घुम्टो मेरो, हटाउँ झैँ लाग्छ आज ।।
हेरी दिने कोहि छैन, मेरो आफ्नै सोह्र सृगार
पीडा रुपी अश्रु सारा, बगाउँ झैँ लाग्छ आज ।।
बन्द हुँदा आँखा मेरो, झस्किन्छु म निन्द्राबाट
आफ्नै मन दुख्दा आफै, फकाउँ झैं लाग्छ आज ।।
अतितका तिता मिठा, यादहरु समेटेर
प्रवाशको एक्लो पन, धपाउँ झैँ लाग्छ आज ।।
सम्हालेर राखें मैले, वियोगको पीडा हरु
शब्द बनाइ तिम्रो सामु, खसाउँ झैँ लाग्छ आज ।।
गजलकार
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड