Komal Bhatta from ktm
इशु र इशान - केहि समय कार्यक्षेत्र एउटै थियो,पछी फेरियो । अत्यन्तै गाढा प्रेम थियो दुवैमा । भर्खरै २०/२२ मा प्रवेश गरेका यिनीहरु एक अर्काप्रतिको असिमित चाहना र समर्पणले गर्दा घन्टौ घण्टाको कुराइ,लामो प्रतिक्षाको थकाइ ,यता उता हेर्दाहेर्दै टट्टाउन पुगेका आँखाहरुको कुनै चिन्ता गर्दैनथे किनकि भेटेपछि सबैकुरा खुसीमा परिणत हुन्थ्यो । उनीहरुका लागी काठमाडौँका सम्पूर्ण गल्लीहरु,चोकहरु, पार्कहरु ,सिनेमा घरहरु तथा जलपान गृहहरु चीरपरिचित भैसकेका थिए ।  समय बित्दै गयो ,यिनीहरुको मायामा कुनै कमि आएन बरु बढ्दै गयो ।
          
इशु अत्यन्तै सुन्दर,फरसाइली तथा बोलाची केटी थिइ भने इशान सुन्दर,गम्भीर तथा कम बोल्ने केटा थियो । इशु, इशान संग यति समर्पित भैसकेकी थिइ कि ऊ इशान को बाहुपासमा कसिन चाहन्थी, टास्सीन चाहन्थी र आफ्नो सम्पूर्ण कुरा निछावर गर्न चाहन्थी ।
यसको लागि उसले कैयौँ वातावरण को निर्माण गरी । कोहि नभएको मौका पारेर घरमा खाना खाने बहानामा बोलाएर घन्टौ घण्टा संगै बसी, साथी  संग कुरा मिलाएर उसको डेरामा भरदिन संगै बसी तर इशानले उसलाई स्पर्श सम्म पनि गरेन यत्ति भन्यो "अधैर्यता,आवेश र अनियन्त्रण राम्रो कुरा होइन,सबै कुराको समय आउँछ कुर्न सक्नु पर्छ । "
                                                                                         इशानको कुराले अत्यन्तै चित्त दुख्थ्यो इशुलाई, विचलित हुन खोज्थी ,गहभरी आँशु हुन्थ्यो, भर रात निदाउन सक्दैन थी । प्रत्येक पटक सोच्थी ,यो कस्तो मान्छे हो ? तर इशानको मायामा कुनै खोट पाउदैन थि र चित्त बुझाउथी । जति पटक भेटे पनि जति कुरा गरेपनि इशानले सुनी रह्यो तर आफ्नो विचारबाट कहिल्यै टसमस भएन । दिन ,महिना गर्दै वर्षहरुपनि बित्दै गए तर इशान परिवर्तन भएन ।  इशुले धेरै प्रतिक्षा गरी केहि प्रस्ताव आउँछ कि भनेर तर .अहँ ..इशान सधैं उस्तै र उस्तै कुराहरु, इशुको विचलितता बढ्दै गयो ,ऊ  असमहाल्य बन्दै गई । एक दिन इशानले एउटा पत्र पायो लेखिएको थियो " धोकेवाज तथा पत्थर दिल मान्छे ! वर्षौं कुरें ,कहिल्यै बुझेनौ मलाई ,मेरो धड्कनलाई छाम्न सकेनौ तिमीले , तिमीले मेरो भावनामा गहिरो चोट पुर्याएउ, म तिम्रो व्यवहारबाट खुसी हुन सकिन । तिम्रो पनले तिमीलाई सधै खुसी देओस .. " अन्त्यमा यस्तो पनि लेखिएको थियो "छिट्टै नै अरुको हुदै छु, शायद निमन्त्रणा पाउछौ होला ?..........अलबिदा ,इशु । " 
                                                      इशान अत्यन्तै दुखी,विक्षिप्त तथा विदीर्ण भयो । आँखा रसाए। दिमागमा एउटै शब्द घुमिरह्यो घुमीरह्यो "धोकेबाज तथा पत्थरदिल मान्छे " यसको अर्थ खोजि रह्यो र यो भनाइ र आफूबीच तालमेल गराउन कोशिश गरी नै रह्यो । निमन्त्रणा अस्वीकार गर्न सकेन । विवाहको दिन उपहार लिएर इशुको घर गयो । उपहार त के थियो कुन्नि ? उपहार संगै यौटा सानो कागजमा लेखेको थियो "यो सानो उपहारसंगै सिङ्गै मुटु पठाएको छु । अनि लामो ,सुखी र सन्तुष्ट जीवनको कामना पनि .., स्वीकार गरे है ?--इशान " 
         इशु, उसैत राम्री झन् आज दुलही बनेकी ,टपक्कै टिपेर खल्तीमा हाल्नु जस्तै भएकी थिइ । उसका साथीहरुले इशानसंग केहीबेर भेट्ने एकान्त मिलाइदिए । इशुको समिपमा बस्दा अत्यन्तै विह्वल भयो इशान,आँखा रसाए, बोली फुटेन । इशुलाई हेरी मात्र रह्यो । मन मनै भन्यो "बाबा ! तिमीले अत्यन्तै हतार गरेउ ........प्राप्ति भन्दा समर्पण पो मूल्यवान हुन्छ त " इशुको पनि आँखा भरिए, वाक्य फुटेन । आँशुका तरेलीसंगै मन मनले भनी"मेरो इशान ! तिमीले मलाइ बुझ्न सकेनौ ....... प्राप्ति बिनाको समर्पण अर्थहीन हुँदोरहेछ " तल मुटु नै चुडाउला झैं गरेर बाजा घन्की रह्यो । कसैमा जीतको उत्साह ,कसैमा हारको पीडा ,कसैलाई मिलनको आतुर कसैलाई वियोगको छटपटी ,आखिर जीवन पनि त यस्तै नै हो नि ....... ... इशु र इशान छुट्टिए सधैको लागि ... गहभरी आँशु पारेर हात हल्लाई इशुले । त्यहि प्यारो र मायालु हात जो वर्षौदेखि मीठो स्पर्शको लागि लालयित थिए, बलिष्ट सहारा दिन उत्सुक र व्याकुल थिए । अनि..अनि ओझेल पर्दै गयो त्यो मायालु अनुहार जो घन्टौ घण्टा उसको बाटो हेरेर कुरी रहेका हुन्थे । त्यी ठूला ठूला बल्ड्याङग्रे आँखाहरु जो उसलाई हेरेर कहिल्यै अघाउँदैनथे ..,अनि इशान ती सम्पूर्ण कुराहरुबाट सदासदाको लागि टाडा भएको थियो ,विलीन भएको थियो र बिदा भएको थियो । 
  कथाकार 
कोमल भट्ट
काठमाडौँ नेपाल हाल न्युर्योक
धोकेवाज तथा पत्थर दिल मान्छे ! लघु कथा 
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.