यो परदेश - Palpali Milan

Recent

17 December 2011

यो परदेश


घरभन्दा धेरै टाढा अनी सम्झना नै सम्झनाले रुहाउने देश रहेछ परदेश । आफुले सोचेभन्दा बिल्कुल फरक यो अनौठो खगोल, आफु जन्मी हुर्केको त्यो मनमोहक प्राकृतिक सुन्दरता भन्दा कता हो कता फरक नै लाग्दो रहेछ । सुरु सुरुका त्यी दिनहरुमा यहाँ मध्यान्हमा चर्कने पचास उकालो उच्च तापक्रमले पारेको प्रभाव सम्झदा आज पनि मन झसङ्ग हुन्छ ।

प्राय समुन्द्री तटहरु अनी बालुवै बालुवाले भरीएको यो मरुभुमीलाई मनिसहरुले सोचेभन्दा बढी नै मनोरम र संवृद्ध त बनाए तर यो आफ्नोपनको अभावमा रोएको मनलाई त्यी मनोरम अनी संवृद्ध सारा कुराहरुले भुलाउन खोजेपनी फकाउन नसक्दो रहेछ ।
हिजोआज मलाई मेरो देशको, मेरो जन्मभुमिको असाध्यै याद आइरहेको छ, मेरो परिवारको याद्ले रुहाएको छ । मैले भनेको सुनेको बिदेशिनुको वास्तविकता स्वंयमले महसुस गर्दा अनी आफ्नोपनको याद्ले तड्पाउदा पर्देशीहरु आफुसगै सुतेको साथीले सुन्लाकी भनेर आफ्नो मुखमा आँफैले ओढेको ओढने कोच्चाएर रुन्छन रे , साच्चै रहेछ ।

                                                                   हामी यहाँ बस्नु हाम्रो रहर होइन बाध्यता हो , मजबुरी हो । पैसाको लागि हामी यहाँ भुलेपनी वास्तवमा हामीलाई यो देश मनपर्दैन । अरुलाई त खै कस्तो लाग्छ कुन्नी तर मलाई पर्देशीभुमिमा रहेका कुनै कुराहरु मनपर्दैन । आकाशै छोलाझै गरेर ठडिएको सर्बोच्च बिल्डिङ् "बुर्जखलिफा' भन्दा मेरै रजधानीको पुरानो नौँतले धरहरा मनपर्छ मलाई । नुनैनुन भएका बिकराल हजार समुन्द्रहरु भन्दा मेरै देशको पवित्र झर्झर झरना अनी ताल ,कुवाहरुनै राम्रा लाग्छन मलाई । यहाँ बडेमानका बिल्डिङ्भित्र राखिएका सान्दार सोफाहरुमा भन्दा मेरै घरचेउको बरपिपल छायामा बनाइएका चौँतारीमा बिसाउदा दु:ख बिसाएझै लाग्छ मलाई । तर के गर्नु खै,नाम सुन्दा मात्र पनि उदास लाग्ने यो परदेश हामी सबैको गन्तब्य स्थान भएको छ, बाध्यता भएको छ, अधुरो सपना पुरा गर्ने एक कडी भएको छ । नचाहदा नचाहदै पनि जय परदेश भन्नुपरेको छ । हाम्रो पिडा खै कस्ले सुनीदिने, ब्यथा कस्ले बुझिदीने । देख्नेसुन्ने कोही नभएपछी जय परदेश भन्नु सिवाय अरु के नै गर्न सकिदोरहेछ र ? जय परदेश ! जय जय !!
Sujan Samyogi  
sujan_rai56@yahoo.com

No comments:

Post a Comment

Search