"पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।"
सन्ध्या यस्तै यस्तै के के भन्दै भान्छा तयार पार्दै थिइन् । उसैको छोरो अनमोल मेरो छेऊमा बसेर थरिथरिका रङ्गिन कलम लिएर बिभिन्न आकारहरु बनाउदै थियो।घरिघरि आफ्नी आमालाई चित्र देखाउथ्यो । सन्ध्या फुरुङ्ग पर्दै भन्थी-आहा! कति सुन्दर,ठ्याक्कै मेरो अनमोल जस्तै । त्यतिबेला अनमोलको चेहेरामा झल्किएको खुसी देखेर पुलकित हुँदै म उसलाई झनै हौस्याउथेँ ।
'सुन्यौ स्वप्निल,सब्जी सकिएछ।'
सन्ध्या मपट्टि फरक्क फर्केर प्रतिकृया पर्खिरहेकी थिइ। म चुपचाप उठेर तल पसलमा गएर केही सब्जी लिइ आए। अनमोल आफ्नो कार्यमा अझै ब्यस्त थियो।

साँझको छ बज्न लाग्दै थियो। सन्ध्याले भान्छा तयार पारिसकेकी थिइ।अनमोलको काम अझै जारी थियो।सन्ध्याले उसका किताब कापी बटुलेर भनी -ल म खाना लगाउछु।
'मम्मी आज अण्डा खाने भनेको हैन?'

अनमोलको प्रश्न सुनेर सन्ध्या लामो जिब्रो फट्कारेर हाँस्न लागी । मलाई थाहा थियो, सन्ध्या अनमोलको अगाडि नाइ भन्नै सक्दिन । तर बाहिर अँध्यारो भैसकेको थियो र ल्याएका अण्डाहरु पनि थिएन। म तल ओर्ले। अत्यधिक चिसोको कारण मान्छेको चाप कम भैसकेको थियो। यद्यपि पसलहरु अझै खुल्लै थिए।
एक दर्जन अण्डा किनेर फर्कनै लाग्दा मोबाइलको घण्टी बज्यो। आमा फोनबाटै सम्झाउदै हुनुहुन्थ्यो-रात बिरात एक्लै कोठाबाट कतै नजा भनेकी हैन?
खाना खाएर अनमोल छिट्टै सुतिहाल्यो।सन्ध्या उसैलाई काखी च्यापेर निदाउने प्रयत्न गर्न थाली। म पनि आफ्नो कोठामा गएर पल्टिए। तर निद्रा परेन।छट्पटाउदै थेँ, मोबाइलको घण्टी बज्यो। तर यस पटक फोन अनमोलका लागि थियो।
'ऊ त निदाइ सक्यो।सन्ध्यालाई दिँऊ?'
'नाइ, पर्दैन।' सँधैको प्रत्युत्तर सुनेर म हैरान भए।
अनमोलसँग कुरा गर्न चाहने मान्छे अरु कोही नभएर उसको बावु अर्थात सन्ध्याको लोग्ने थियो। उसलाई मैले देखेकी छैन,भेटेकीछैन। तर धेरै पटक टेलिफोनमा कुरा गरेकी छु।त र ऊ अचम्मको मान्छे। जुन दिन सन्ध्याले मेरो मोबाइलबाट फोन गरेकी थिइ,त्यही दिनदेखि लगातार ऊ मेरो मोबाइलमा फोन गरेर अनमोलसँग कुरा गर्छ।

पहाडबाट झरेकै दुई बर्ष भयो। अभाव गरिबीका बाबजुद पनि पढाइ पुरा गर्ने तिब्र इच्छा बोकेर बुटवल झरेकै दिन सन्ध्यासँग चिनजान भयो। पहिलो भेटघाटमै मेरो हात समाएर आफ्नो घर लगी,आफ्नै भान्छाको भात खुवाइ र रहन बस्नका लागि एउटा चिटिक्क परेको कोठा दिइ। म अबिबाहित मान्छे,ऊ एउटा छोराकी आमा र पनि हाम्रो मित्रता खुब जम्छ।मलाई उनको मित्रता र आत्मियतामा कुनै शंका छैन। तर ...तर उनको लोग्नेको रहस्यले मलाई जहिल्यै गम्भिर बनाउँछ।यत्रो दुई बर्ष भो मैले सन्ध्यालाई संगत गरेको,तर सन्ध्याले लोग्नेको बिषयलाई लिएर कहिल्यै कुरा गरेकी छैन र उसको लोग्ने पनि स्वास्नी,छोरो सम्झेर फर्केको छैन।

अर्को एकदिन घर्क्यो र सन्ध्याले लिएको एक दिनको बिदा पनि घर्किसकेको थियो। मेरो कलेज थिएन,अनमोलको स्कूल पनि थिएन।अत्यधिक चिसोको कारण बाहिर निस्कन सक्ने अवस्था पनि थिएन। तर सन्ध्याले जसरी पनि आफ्नो ड्युटीमा जानै पर्थ्यो।
साँझ पख छतमा बसेर घाम ताप्दै अनमोलसँगै खेल्दै थिए। सन्ध्याको फोन आयो-सुन,अनमोलको बावाको एक्सिडेन्ट भएर यहाँ लुम्बिनी मेडिकल कलेजमा ल्याइएको छ। म आज राती आउँदिन,तिमी अनमोललाई सम्हाल। हे भगवान! कस्तो अशूभ खबर?
रातभर अनमोल मेरो छातीमै निदायो। कस्तो ज्ञानी र अदभूत बालक? आमाले-बावु आज ममीले धेरै बिरामी हेर्नुपर्छ,तिमी अन्टीसँगै सुत ल भनेकै भरमा ऊ ज्ञानी भएर निदायो।

थकित र गलित भएर अर्को बिहानै सन्ध्या फर्किइ। मलाई देख्ने बित्तिकै गर्लम्म अंगालो हालेर रुन लागी।मलाई कस्तो कस्तो असहज लाग्यो।तैपनि बिरहमा डुबेकी सन्ध्यालाई आलिँगन मुक्त गरेर त्यो असहजपनलाई दूर गर्न सक्दिन थेँ।
झण्डै पन्ध्र मिनेट जति लाग्यो सन्ध्याको आँसु थामिन। सन्ध्याका दुई राताराता आँखामा सिधै हेर्न पनि निकै असहज लाग्यो। कति धेरै पीडा छ त्यो आँखामा,कति धेरै उकुस मुकुस भावहरु लुकेका छन् ती दुई आँखाभित्र?
दुई दिनपछि सन्ध्याले आफ्नो लोग्नेलाई लिएर आइ र पुरै तन मनले लोग्नेको सेवामा समर्पित भइ। पुरै मौन सेवा।ती दुई बीच संवाद भएको मैले सुनिन।मलाई किन किन ती दुई बीचको निकटताका बीच पनि लामो दूरता महशुस हुन्थ्यो। कस्तो संकुचित मिलन,कति असहज त्यो सामिप्यता पनि।

झण्डै पन्ध्र दिनको उपचारपछि ऊ पुरै तन्दरुस्त भयो। एकदिन म सहित(हामी चारै जना) सन्ध्याको परिवार बजार गएका थियौ। आखिर शहर न हो,ठाउँ ठाउँ फोहोर थुप्रिनु र भुस्याहा कुकुरहरु जम्मा भएर एक आपसमा बाझ्नु अब शहरबासीका लागि नौलो हुन छाडिसकेको छ।त्यहाँ पनि चारैतिर फोहोर थुप्रिएकोले दुर्गन्ध फैलिएको थियो। एउटा घाइते कुकुर टाउकोमा चोट लिएर हामीलाई पछ्याइरहेको थियो। दुई/चार पटक धपाए तर उसले हाम्रो पीछा छोडेन।त्यसको टाउकोको घाउ कुहिएर नमिठो गन्ध आइरहेको थियो। खपिसक्नु भएन,सडक छेऊमा लडेको सानो ढुङ्गा टिपेर हाने। त्यसको घाउमै लागेछँ।रगत पिच्छे भएर कराउदै भाग्यो।
स्थिति थाहा पाएर सन्ध्या आफ्नो लोग्नेतिर फरक्क फर्केर बोली-घर गएर कुरा गरौँ। उसको लोग्नेबाट कुनै प्रतिकृया आएन। सामानहरु किनेर चुपचाप फर्कियौ।

अनमोल अर्को कोठामा टि.भी कार्टुनमै भुलेको थियो।हामी तिनै जना चुपचाप एक अर्काको सन्मुख बसेका थियौ। सन्ध्याले एक पटक आफ्नो लोग्नेतिर फर्केर भनी-निरीह प्राणीलाई तपाईले यसरी चोट दिनु भएको यो समेत चौथो पटक हो। म आश्चर्यमा परे। कुकुरलाई चोट त मैले पो दिएथेँ।
उनको लोग्ने फिस्स हाँसेर बोल्यो-हो,तर तिम्रो गैर हाजिरीमा यस्ता प्राणीलाई चोट मात्र होइन,कतिका त प्राणै पनि लिइसके। अस्तिको एक्सिडेन्टको कारण पनि त्यही कुकुर त थियो। म त बाँचे तर बिचरोको त आन्द्रा भुँडी छरपस्ट भएर...।
सन्ध्या चुपचाप आफ्नो कोठामै गइ। त्यसदिन कसैसँग कुरा पनि गरिन।मैले थाहा पाए,त्यो घटनाले उनको मनमा ठूलो ठेस लागेछ।
राती आठ बजेतिर तातोपानी बोकेर म उनको कोठामा प्रवेश गरे | सन्ध्या हातमा पुस्तक लिएर टोलाइरहेकी थिइ।अनमोल शायद निदाइ सकेको थियो।
मलाई देख्ने बित्तिकै भनी-अर्जुन यस्ता कुरामा कहिल्यै गम्भीर हुँदैन।सदैव त्यस्तै निरीह प्राणीको पीडामा ऊ किन रमाउछ?
'तर सन्ध्या, यसमा अर्जुन जीको केही गल्ती छैन।त्यो त मैले नै त्यो कुकुरलाई ढुङ्गाले हानेकी थेँ।
सन्ध्याले अत्यन्त छिटो मलाई हेरी।उनको हेराइमा म प्रति प्रशस्त घृणा थियो।यद्यपि सारा क्रोध र आवेग पचाएर भनी-ए भैगो!

मलाई यो आइमाई साँच्चै रहस्यमय लाग्यो | यसको लोग्ने रहस्यमय,यसको व्यवहार रहस्यमय | तर मलाई यो रहस्यको पोको जसरी नि फुकाउनु थियो |
'सन्ध्या तिमी मेरो साथी हौ नि |'
'निश्चिन्त |'
'तर मैले तिमीलाई कहिले बुझिन | यत्रो लामो संगतमा पनि तिमीलाई चिन्ने सकिन |'
बिजुली चम्केको गतिमा ऊ मतिर फर्कीइ | उनको आँखामा,चेहराको पुरै रङ्ग रङ्गमा घोर आश्चर्यका रेखाहरु कोरिएका थिए |
'तिमी मलाई बुझ्छौ र चिन्छौ पनि |'
'एकदमै गलत | दुई बर्षदेखि तिम्रो जीवनमा समाहित भएर बहेको छु र पनि म तिम्रो हृदयमा छोइएको छैन | तिम्रो अनुभूतीमा डुबेको छैन | जतातै रहस्य.तिमी रहस्य,तिम्रो लोग्ने रहस्य र तिम्रो व्यवहार रहस्य | तिमीभित्र अझै कति रहस्यहरु बाँकी छन् ?'
सन्ध्याले मलाई बेस्सरी धाप मारेर खुलेर हांसी | फेरी अर्को रहस्य मलाई डस्न तम्तयार भए झैँ लाग्यो | कस्तो फरक हँसाई,कस्तो फरक व्यवहार |
हाँस्दा हाँस्दै सन्ध्याको आँखामा अर्को एउटा नमिठो भाव सल्बलायो।थोरै रिस आवेग र पीडा मिश्रित भावमा बोली-तिमी जसलाई रहस्य मानिरहेछौ,त्यो तिम्रो अघि खुल्लम खुल्ला छ।मेरो जीवन,मेरो लोग्ने र मेरो ब्यबहार,सब चीज।
दुइ दिन अरु बित्यो | फेरो उस्तै उकुस मुकुसपन सुरु भो ती दुई लोग्ने स्वास्नी बीच | न कुनै संवाद, न कुनै मायालु व्यवहार | रहदा बस्दा मलाई ती दुईको सम्बन्ध छन्द न बेछ्न्दको, सुरु अन्त नमिलेको साहित्य लाग्न थाल्यो | व्यस्तता बाट फुत्त निस्केर सन्ध्या अनमोलको छेउमा पछारिन्थी | लोग्ने फुर्सदी र पनि मैले कहिल्यै उसको आँखामा सन्ध्याको प्रतीक्षा देखिन |
एकदिन उसको लोग्नेले भन्यो-तिम्री साथी छे नि,सन्ध्या| त्यसको कुरा र मन बुझ्न कसैले सक्दैन | बडो अजवकी छे!
त्यो भन्दा दोहोरिएर अर्जुनले सन्ध्याको बारेमा कुरा गरेन | यही कुरा सन्ध्यालाई सुनाउदा भनेकी थिइ-जस्तो तिमी त्यस्तै अर्जुन |
'अर्जुन जस्तै म कि, म जस्तै अर्जुन?
सन्ध्या पुरै मनदेखि मुस्कुराइ।मलाई आनन्द लाग्यो।तर फेरि तत्काल गम्भिर भएर भनी-अर्जुन र मेरो सम्बन्ध तिमीले अनुमान गरे भन्दा पृथक छ।
'त्यो त म बुझ्छु ।तिमी दुईको सम्बन्द देख्दा मात्रै असहज हो।तर वास्तबिकता अर्कै छ।'
मैले बोलेको वाक्य समाप्तीसँगै सन्ध्याका नयन रसाएर आए। म फेरि अर्को पटक आश्चर्यमा डुबे।सन्ध्या मेरो आलिँगनमा समेटिन आइ।
'हन,यो केटीलाई कहिल्यै बुझेर नसिद्धिने भो।'
अनायास मेरो गलाबाट यिनै शब्द फुत्किए।
'म तिमीलाई बुझाउछु।'
त्यसको दुई दिनपछि सन्ध्या र म एका बिहानै घरबाट निस्कियौ।सन्ध्याले बाचा गरे अनुसार म सन्ध्यालाई पूर्ण रुपमा बुझ्न गैरहेथे। रिक्साले हामीलाई लक्षित ठाउँमा पुर्यायो। हुस्सु र कुहिरो अझै कायमै थियो।यद्यपि त्यहाँको जीवन निकै न्यानो थियो।
तिनाउ खोलाको किनार, बगर छेउमा बलेको न्यानो आगो, आगो वरिपरि झुम्मिएका स-साना बालक र केही पर पर छरिएका श्रमिक। मैले पहिलो पटक महशुस गरे-वाह! क्या जीवन!
सन्ध्या बालकहरुसंगै आगो छेउमा बसी | म पनि छेवैमा टुक्रुक्क बसे | ढुङ्गा निकाल्ने, फोर्ने काम जारी थियो | बच्चाहरु मुढाको आगो ताप्दै घरीघरी आ-आफ्नो आमा बावुसंग मिलेर स-साना ढुंगा उठाउथे  । जति हेरे पनि कहिल्यै नथाकिने कति रमणीय दृश्य । आँखैमा राखीरहू जस्तो ।
बिस्तारै दिन उघ्रदै गयो | सन्ध्याले शुन्य बगरहरुमा मलाई एकोहोरो डुलाउन थाली | मौन भइ म सन्ध्यालाई पच्छ्याइरहे| पछ्याएरै नसकिने त्यो किनार,हिडेरै नसकिने तिनाउ बगर । बगरै बगरको साढें एक घन्टाको हिडाई पछी प्रश्न गरि-मलाई बुझ्यौ ?
'ए पागल भयौ कि क्या हो ? कहिले बुझायौ र बुझ्ने ?'
सन्ध्या थचक्क बसी । थकाइ र भोकले म पनि निक्रै थकित थिए ।सन्ध्याले एक पटक पर परसम्म हेरेर भनि- त्यो तिनाउ बगर मेरो जिन्दगीको आधार हो ।
साँझ ४ बजेतिर मात्रै भोक र थकानले लखतरान भएर फर्कियौ । म फर्कने बित्तिकै हात गोडा धोएर बिछ्यौनामा पल्टे | तर सन्ध्या भने भान्छा तयार गर्न लागी | अनमोलका बाबु छोरा टि.भिमै झुण्डीएका थिए ।
सन्ध्यालाई पुरै बुझिसकेकी थिए र पनि मभित्र कस्तो कस्तो नमिठो भाव सल्बलाई रहेका थिए । अर्जुन भंत्यो-बडो अजवकी छे! साँच्चै हो रहेछ ।
छटपटी र बेचैनी बढ्दै गएपछि डायरी कलम टिपेर लेख्न थाले,

म सन्ध्या, सन्ध्या राना । सुकुम्बासी बस्तीमा जन्मे,तिनाउ बगरमा हुर्के र कपिवस्तुको चन्द्रौटामा रोपिन पुगे |र त्यहाँबाट भाँचिएर बुटवलमा गाडिन पुगे ।
तिनाउ बगरमा मेरो आमा बावुले रगत पसिना बगाउनु भो।तिनाउको बगरमा मैले जिन्दगीका विविध आकारहरु कोरे।कति कति आकारहरु मेटिए। तर कोर्ने क्रम रोकिएन।
लेख्द लेख्दै च्याते । के लेखिरहेछु आफैलाई पत्तो भएन । फेरी अर्को पानामा लेख्न सुरु गरे ।

दु:ख सुखले आमा बाबुले पढाउनु भो | डुंगा बेचेर कमाएका १\१ पैसा जम्मा गरेर मेरो पढ़ैमै खर्च गर्नु भो । अर्काको १ बिगाहा माटो खनेर मेरो पेट उकास्नु भो | मेरो आमा बावुले थकाई महशुस गरेको मैले कहिल्यै पत्तो पाइन । सन्चो छैन भनेर लडेको थाहा भएन | मेरो आमा बावुलाई कहिल्यै घामले पोलेन,शीतले पिरोलेन । कति जाती थियो त्यो बालापन,कति हँसिलो थियो त्यो बालापन । तर कति छिट्टै ठुली भएछु | सुकुम्बासी बस्तीमै सबै भन्दा गन्य मान्य भएछु ।
सुकुमबासी बस्तीको माया जति मेरै थाप्लोमा खनियो।त्यै माया र लाड प्यारले कुत्कुतिएर उफ्रदै भन्थे-म त नर्स बन्छु। यो काले (कुकुर) को टाउकामा लागेको चोट निको पार्छु। बिचरो आमा बावु! तिनाउ खोलाको बगरमा बटुलेको ढुङ्गा बेचेर आएको पैसाले कहाँ नर्स बनिन्थ्यो ?साहुका खेत खनेर आएको खाइवरी उब्रेका अन्न बेचेर आएको पैसाले कहाँ नर्स बनिन्थ्यो? तर म कति अज्ञानी। आमा बावुको गरिबी र अभाव मैले कहिल्यै बुझिन।मैले कालेको घाउ मात्रै देखे,तिनाउ बगरमा खेलेका भाई बहिनीको आङभरि उम्रेका खटिरा मात्रै देखे।
मेरो जिद्धिको अगाडि मेरो आमा बावुले घुँडा टेक्नु भो।बर्षौदेखि मेरै बिहेका लागि साँचेर राख्नु भएको रुपैयाँ पुरै थैली टक्टक्याएर खन्याउनु भो।
म आश्चर्यमा परे | १८ वर्षको बिचमा आमा बावुले गरेको मेरा लागि साँच्चै ठूलो मिहनेत गर्नु भएछ | दिनरात घाम पनि नभनी मेरा आमा बावुले गर्नु भएको परिश्रमको रहस्य बुझेर म त साँच्चिकै नतमस्तक बने |

म नर्स बनेर फर्केको दिन सुकुमबासी बस्ती उज्यालो थिएन। आमा बावु पनि भगवानको प्यारो हुनु भएछ।मेरो भन्नु त्यही काले थियो।तर छिः त्यो पनि घाउ कुहिएर गन्हाएको। नराम्रो भनेर के गर्नु?त्यसैलाई अंगालो हालेर रुँदै आमा बावुलाई सम्झे-हे आमा बावु! मैले हजूरहरुको लागि केही गर्न सकिन। त्यही बेला बचपनकी साथी दीपा टुप्लुक्क आइपुगी। त्यसैलाई अंगालो हालेर रोए।त्यसले मलाई सम्झाइवरी घर लगी। त्यस रात हामी पटक्क निदाएनौ। सम्झी सम्झीकन दीपाले मेरो आमा बावुको राम कहानी सुनाइ। म नर्स बन्ने सपना बोकेर बस्ती छाडेपछि आमा बावुले तेब्बर मिहनेत गर्नु परेको,मेरो पढाइ खर्च जुटाउन साहुलाई बुझाएर बाँकी रहेको सबै अन्न बेच्नु परेको,त्यतिले पनि नपुगेर बावु आमाले एक लाख रुपैयाँ साहुसँग ऋण लिएको र चुक्ता गर्न नपाइ एकदिन ढुङ्गा बटुल्दै गर्दा माथिबाट ढिस्को खसेर पुरिएर दुःखद मृत्यु भएको।

मेरो जिन्दगीमा आफ्नो भन्ने त्यही काले थियो तर उमेर परिपक्कतासँगै साथ थपिदो रैछ। भावना पेशा अनि विचार मिल्ने मान्छेको हात थपिदो रैछ। कालेको एक्लो म,अर्जुनको भए,अनि मेरो अनमोलको। यी साथ अनि स्नेह मेरो जिन्दगीको अनमोल धन थियो।
कालेलाई लिएर निस्केको पाँच बर्षपछि सुकुमबासी बस्ती फर्के। बावुले मेरो पढाइका लिनु भएको एक लाख ऋणको साँवा ब्याज चुक्ता गर्न बाँकी नै थियो।अतः अर्जुन र मैले खाइ नखाइ बचाएका थियौ। साँच्चै कति धेरै माया सुकुमबासी बस्तीको। बस्तीको माया फेरि जम्मै मैतिर खनियो। केटाकेटी बुढाबुढी सवैको मायाले साँच्चै पुलकित भए म ।

त्यही बस्तीमा ठ्याक्कै अनमोलकै उमेरको प्यारो बच्चा थियो-फट्के।कस्तो प्यारो बच्चा।तर थोरै बदमास पनि। अनमोलको हातकै बिस्कुट खोसेर क्वाप्प आफ्नो मुखमा हाल्यो।मलाई त आनन्द लाग्दै थियो-उसको बाल सुलभ ब्यबहार देखेर। तर...तर अर्जुनले औलाको छापै बस्ने गरी गालामा हान्यो।  बिचरो डरले र पीडाले कट्टुमै सु गर्यो।छिः कति नराम्रो भो।अर्जुनलाई सबैले पछाडिबाट धारे हात लगाएर गाली गरे।मैले पनि मन मनमा खुबै गाली गरे। लोग्ने भनेर हुन्छ र?
बुटवलमै अर्जुनले घर किनेपछि अनमोल, काले म र अर्जुनसँगै रहन थाल्यौ।काले केहि न केही बदमासी गरि नै रहन्थ्यो।त्यही रिसको झोँकमा एकदिन अर्जुनले पुरानो घाउमा राम्रै चोट पुर्यायो। मैले उसलाई गाली गरे।त्यही झोकमा ऊ एकहप्ता मसँग बोलेन। कालेको कुरालाई लिएर ऊ र म बीच यस्तै असमझारी बढ्दै गयो।
ऊ मसँग हरपल बाझिन खोज्थ्यो।र मेरा सबै रिस ऊ काले माथि खन्याउथ्यो। एकदिन त मेरै रिसको शिकार काले भयो। फलतः ऊ पीडा खप्न नसकेर मर्यो।
छि:कति क्रुर मान्छे ? दया माया नभएको मान्छे पनि डाक्टर रे।  त्यही घटनाले गर्दा ऊ र म बीच
दूरी बढ्दै गयो  र एकदिन सम्बन्ध विच्छेदको पेपर आयो । र साथमा सानो कागज पनि,

तिमी मलाई कहिल्यै बुझ्दैनौ, र मेरो मायालाई पनि बुझ्दैनौ |र तिमी जस्तो आइमाईसग मेरो भावना पनि मिल्दैन । छि: कति संकुचित सोच तिम्रो? सुकुमबासी बस्ती भन्दा माथि उठेर तिमी सोच्नै सक्दिनौ । तिम्रो सोच संकुचित,विचार संकुचित । तिनाउ खोलाको बगरमा हुर्केको मान्छेको सोच त्यही बगरमा लडेको ढुंगा जस्तै जहींको तहीं हुन्छ ।
दायाँ बायाँ नसोची चुपचाप पेपरमा साइन गरिदिए । माया त म धेरै गर्थे अर्जुनलाई तर के गर्नु?  उसलाई मेरो सुकुमबासी वस्ती र तिनाउ बगरसंग त्यति घृणा छ भने म के नै गर्न सक्छु ? तर मैले प्रथम पटक जिन्दगीका विम्बहरु कोरेको त्यो तिनाउ बगरसंग मेरो प्रेम छ,मेरो आमा बावुको पसिनाले भिजेको त्यो बगरसंग मेरो लगाव छ । मेरो हर्ष उमंग र हरेक दु:खमा संगै रुने हाँस्ने सुकुमबासी बस्ती प्रति मेरो मोह छ । कसैले माया नगर भनेर आफ्नो जिन्दगीलाई माया नगर्न सकिन्छ र ?

भोलि पल्ट बिहानै अर्जुन मसंग भन्दै थियो- म त आजै फर्कदै छु । म प्रतिक्रिया हिन भए । नभन्दै १० नबज्दै ऊ हिड्यो । उसले संध्यासंग बिदा मागेन । अनमोल र मलाई हेरेर फटाफट बाहिरियो  तर सन्ध्याको आँखामा नजानिँदो पीडा थियो र यदि म गलत छैन भने आफ्नो लोग्नेसँग छुट्टिनु पर्दाको पीडा थियों त्यो आँखामा । व्यक्त नगरेरै अनुभूत गर्न सकिने अमिट माया थियों । तर हाय: अर्जुन ! धिक्कार छ तिमीलाई । तिमी बुझ्दैनौ सन्ध्याको भावना, तिमी बुझ्दैनौ सुकुमबासी बस्तीको माया र तिमी बुझ्दैनौ तिनाउको बगरै बगर छरिएको सन्ध्याको माया..............|

कथाकार
स्वप्निल नीरव
पाल्पा नेपाल
हाल बुटवल ।
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.