परिबदंमा कमली ( कथा ) राजेश रुम्बा लामा । - Palpali Milan

Recent

31 August 2012

परिबदंमा कमली ( कथा ) राजेश रुम्बा लामा ।

 परिबदंमा कमली

Kathakar Rajesh Rumba Lama "Atript"
यस धर्तीमा पाइला टेकेको १९ औं बसन्त पार गर्दै गर्दा आज म चार दिवार भित्र जेलको चिसो कुनामा बसेर आफ्नो अतित सम्झिदैंछु र पोखाउदै छु सबै सामु । तर मलाई कुनै दु:ख र पश्चताप लागेको छैन । सानैमा बाबाको देहवासन पछी आमाको पाइला पछ्याउंदै होटलका जुठो गिलास माझ्दै बाल्यकाल बित्यो । शायद भाग्य मै नभएर होला, मलाई पढ्न लेख्न भन्दा पनि त्यहि जुठो गिलास पखाल्न र आमाको सिको गर्नमै मज्जा लाग्थ्यो र गर्थें पनि । आमाले पढ्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्नु हुँदा सबै भन्दा गाह्रो काम त्यहि पढ्ने लाग्थ्यो ।




४ बजे बिहानै उठेर आमा संगै कलंकीको चोकमा चियाको किट्ली खेलाउदैमा प्रत्येक बिहानीले सूर्य जन्माउथ्यो । त्यसपछि भने हामी लाग्थ्यौं वासस्थान तिर जहाँ जस्ताकै छाना र जस्ताकै ढोकाले हामीलाई स्वागत गरिरहेको हुन्थ्यो । हो त्यहि छाप्रोभित्र हामी आमा छोरी ओत लाग्थ्यौं । २,४ वटा टुल र एउटा चिया टेबुल र कुनामा एउटा खाट थियो । सम्पतिको नाममा एउटा पुरानु आधा ऐना फुटेको स्टिलको दराज हाम्रै खाटको छेउमा कानो मान्छे झैं उभिएको थियो । एक दिन आमा र बाबाको भनाभन पछी बाबाले आमालाई कुट्नु कुटेसी बाँकी रिस फेर्न मुक्का बजार्नुभाथ्यो रे त्यो दराजमा । आमाले यस्तै यस्तो आफ्नो अतितका कहानीहरु सुनाउनु हुँदा मलाई निक्कै सुनी रहन मन लाग्थ्यो,त्यसैले प्रत्यक साँझ आमालाई त्यस्तै आफ्नो कहानी र कथाहरु सुनाउन लगाउथे । आमाले मेरो टाउकोमा हातले सुमसुम्याउंदै आफ्नो स्मृतिकापानाहरु पल्टाउनु हुन्थ्यो । मुर्छा परेर हाँस्नुहुन्थ्यो कहिले आँशु भेल बाढी बगाउनु हुन्थ्यो ।

उहाँको अनुसार आमाको माईती धादिङ्ग रहेछ । कामको सिलसिलामा काठमाण्डौंको कुनै एउटा रेस्टुराँमा काम गर्दै गर्दा उहाँको भेट मेरो बाबासंग भएको रहेछ। त्यसै बिच आमालाई बाबाले फकाएर बिहे गर्नुभा रहेछ। बाबा चाँहि नुवाकोटको हुनुहुदों रहेछ तर उहाँले कहिल्यै आमालाई आफ्नो घर लानुभएनछ । पछि थाहा भयो मलाई मेरो बाबा क्षेत्री र आमा वि.क.भएकोले नै उहाँले आफ्नो घरमा लान नसक्नुभएको रहेछ । जातिय छुवाछुतको कारण उतिबेला त्यस्तो गन्धर्व विवाहलाई जघन्य अपराधको रुपमा लिईन्थ्यो रे ! काठमाण्डौं तिरै सानो तिनो ठेक्का पठ्ठा गर्नुहुन्थ्यो बाबा । दिनभरिको थकान भुलाउनलाई होला बाबा हरेक साँझ रक्सी पिएर आउनुहुन्थ्यो रे ! त्यहि नशाको झोकंमा बाबाले आमालाई कुटी रहनुहुन्थ्यो रे ! "त्यसरी रक्सी नपिउनुस् ! आफ्नो स्वास्थ्यको ख्याल त राख्नुस् ।" भन्ने मेरो आमाको पटक पटकको अनुरोधलाई बाबाले लत्याइदिनुहुन्थ्यो रे ! एकपटक त्यसरी नै रक्सीले धुत भएर घर फर्किदैं गर्दा कलकीं चोकमा सडक दुर्घटनामा परेर बाबाको घटनास्थलमै मृत्यु भएछ । त्यो खबर भोलीपल्ट मात्रै आमासम्म आईपुगेको थियो रे ।

त्यसपछिका दिनहरु भने निकै कष्टकर भएछ आमाको लागि । मलाई सकिनसकी बोकेर कहिले बालुवा चाल्न, कहिले ईटाँ बोक्न घरघर हिड्नुभएछ । त्यसै क्रममा एकजना रणवीर भन्नेले आमालाई उसैको घरमा भाँडा माझ्न,कपडा धुन,बारीको काम गर्न लगेको रहेछ। "त्यस्तो दु:ख गरेर पो हुर्काएं नानी तँलाई" भन्नु हुन्थ्यो आमाले मलाई। "अब जसो तसो गरेर सानो छाप्रो भए पनि बनाएकी छु । तँ पनि हुर्किस । अहिले त भारी बोक्न,जुठो भांडा माझ्न जानु पर्दैन ।" यसो भनि लामो श्वास छोडीरहनुहुदाँ आमाको मुहारमा सन्तोषका धर्साहरु प्रसस्तै देखिन्थ्यो । जसलाई म त्यो चुक घोप्टिएझै रातमा पनि म जाजल्यवमान भएर बलिरहेको देख्थें, साँच्चै भन्नु पर्दा त्यतिखेर म आमाले भन्नुभएका त्यी कथाहरु राम्रोसंग बुझ्न सक्ने भाथिन ।

शहर भन्दा अलि भित्र हाम्रो टहरो भएकोले उति हल्लाखल्ला भने हुन्नथ्यो । कहिले काँहि त्यो जुङ्गे अंकल भने हाम्रो घरमा रक्सी पिउन आउँथ्यो । प्राय राती आउँथ्यो । खै कतिखेर जान्थ्यो मलाई थाहा हुन्नथ्यो । म बिहान उठ्दा आमा साबिकमा झै देखिनुहुन्थ्यो । कहिले स्टोभमा मट्टितेल हाल्दै त कहिले जर्गिनबाट रक्सी खनाउँदै । "उठै ए कमली छिटो जानु पर्छ नत्र राजुकी आमा हामी भन्दा पहिले पुग्ली ।" भन्दै आमा मलाई बोलाउनु हुन्थ्यो । म हाई काढ्दै उठेर एकैछिन् ट्वाल्ल परिरहन्थें । अनि हतार हतार खाटबाट ओर्लेर मुखै नधोई पानीको सानो जर्गिन बोकेर आमाको पछि पछि लाग्थें चिया बेच्न । आमा सबैलाई बाबाको देहवासन भैसकेको कुरा लुकाउँदै विदेशमा हुनुहुन्छ भनेर भन्नु हुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । पछि मैले आमालाई सोधे पछि आमाले "हेर यहाँ एकल महिलालाई मानिसहरुले हेप्छन् । हाम्रोमा चिया पिउन पनि आउँदैनन् । अनि हामी भोकै बस्नु पर्छ । त्यसैले मैले झुट बोलेको हुँ ।" भन्नु भएको थियो । सायद उमेरले त्यस्तै ३५ जति हुन्हुन्थ्यो आमा त्यतिखेर ।आमाले त्यसो भनिरहनुहुदाँ म भने खिन्न भैरहन्थें ।

मेरो साथी पम्फाको बाबा पनि विदेशमै थियो । उसलाई उसको बाबाले बेला बेलामा घर आउदाँ मिठा मिठा चकलेट् , गुडियाहरु ल्याईदिन्थे । मलाई पनि त्यसै गरि चकलेट ,गुडिया ल्याईने मेरो बाबा भैदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर मेरो बाबा आउनुहुन्न भन्ने सत्यले मलाई खाईरहन्थ्यो भित्र भित्रै धमिराले खाए जसरी । म मा बालापना प्रसस्तै थियो । अरुको खेलौना, खानेकुराहरु देख्दा डाहा, इर्ष्या लाग्थ्यो । कहिले काँहि कल्पना गर्थें मेरो बाबा आउनुहुन्छ अनि मलाई पनि त्यसै गरि खेलौना, चकलेट, टि.भी. ल्याईदिनुहुन्छ, अनि म नि सबै साथीहरुलाई देखाउँदै हिड्थें । त्यो पम्फालाइ '" ई मेरो बाबाले पनि तिम्रो जस्तै खेलौन र चकलेट ल्याईदिनुभाछ ।" भनेर देखाउँछु । तर कल्पना कल्पनै थियो कहिल्यै यथार्थ हुन सकेन । सपना र विपनाको डोरो चुडिएको थियो कसरी जोड्नु म बबुरीले । तर एउटा कुरामा भने म अहिले नि सुखानुभूति अनुभव गर्छु । मैले कहिल्यै आमालाई त्यस्तो गुडिया, चकलेट मागेर दु:ख दिन जानिन । कहिल्यै रोएर आफ्नो माग पूरा गराउन खोजिन । मात्र म घुटुघुटु थुक निलिरहन्थें । चुपचाप ।

सायद जति धेरै रुनु थियो पहिल्यै रोईसकेकोले होला म अब चुपचाप थिएं । जति बेला मलाई चिसो भुईंमा लडाईराखेर आमा काम गर्नुहुन्थ्यो । अर्काको जुठो भाँडा माझ्दा, बारीमा खनजोत गर्दा, कपाडा धोईपखाली गरुन्जेल सम्ममा म पुरै दिशामा लत्पत्तिएको हुन्थें । त्यतिखेर म मरुन्जेल रोईसकेर निलो भएको हुन्थें।

मैले आफ्नो होस सम्हाले देखि नै आफूलाई कलकींको बिच सडकमा चिया पसलमा पाएको थिएं । जहाँ हामी चिया बेच्थ्यौं । पूर्व मेची देखि पश्चिम महाकाली सम्मका यात्रुहरुको गन्तव्य पछ्याउने स्थाल नै कलकीं भएकोले होला हामीकोमा चिया पिउनेको भिड नै लाग्थ्यो । त्यसैले हामीले बिहानभरिमै हजार बाह्रसय कमाई सक्थ्यौं । त्यसो त आमालाई भाउजुको साईनो लगाउँदै उधारो चिया पिउनेहरुको जमात पनि बाक्लै थियो । कलकीं चोकमा भएकोले होला धेरै जसो ड्राइभर खलासीको हुल हुन्थ्यो हामीकोमा । आमा प्राय मलाई सुटुक्क सम्झाईरहनुहुन्थ्यो "हुन दे नानी एक कप चियाको पैसा माया मारिदे बरु तर यिनीहरुसंग मुख मुखै नलाग । यिनीहरु त गुण्ड आवारा हुन् । जे पनि गर्न सक्छन्। आफू बचेर बस ।" हुन पनि तिनीहरु कोहि कोहि त हेर्दै डर लाग्दो नै देखिन्थे । कपाल पनि लामा लामा अनि कानमा मुन्द्रा लगाएका सांच्चै भन्नु पर्दा मलाई तिनीहरु देखि असाध्यै डर लाग्थ्यो तर पनि आफ्नो काम नै चिया बेच्ने र गिलास पखाल्ने भएकोले सबै खप्न म बाध्य थिएं । मुखले भाउजुको नाता लगाए पनि तिनीहरुको कुदृष्टी आमाको शरीर माथि थियो । कति त नजानिदों तरिकाले आमाको नजिकै हुन खोज्थे । आमा त्यी सबै दुर्व्यावर सहन बाध्य हुनुहुन्थ्यो मात्रै दुई पेट भर्न र दुई आँङ ढाक्न । मलाई तिनिहरुले नानी भनेर सम्बोधन् गर्थे भने म पनि अकंल भनेर बोलाउथें । तर तिनिहरु आफ्नो कोड भाषामा खै के के भनेर मलाई गिज्याईरहन्थें । म वास्तै गर्दिनथें ।

यही क्रम जारि थियो । कुरा २०६२ साल तिरको हुनु पर्छ हामी आमा छोरी हाम्रो दिनचर्यासकेर गोधुली संगै अफ्नो घरको ओछ्यानमा सुस्ताउदै थियौ केहि दिन बिराएर हाम्रो घरमा रक्सि खान आउने जुंगे अकंल आउनु भो । उहाँ प्राय हाम्रोमा रक्सि पिउन आइरहनु हुन्थ्यो । आमा संग गफ गर्दै रक्सि पिएको देख्दा देख्दै म निदाउथें । तर मलाई त्यो साँझ निद लागेन ।

कार्तिक महिना कठ्याङ्ग्रिदो मौसम बाहिर शितका ठूला ठूला थोपाहरु झरेको प्रष्टै सुनिन्थ्यो ठ्याक्रक ठ्याक्रक जस्तामा। उसै त लोडसेडिङको मार त्यसमाथि गरिबीले छोपेको हाम्रो घरमा बति बल्ने कुरै थिएन । मैन बत्तीको मधुरो प्रकाशमा त्यो जुङ्गे अकंल आमासंग खै के के हो फुस्फुसाउँदै थियो । म नि ननिदाएं पनि निदाए झै गरि पुरै शरीर सिरकले ढाकेर लम्पसार परिरहें । अरु त प्रष्ट सुनिन तर आमाले " बिचरी सानै छे अहिले त्यसो नभन्नुस् ।" भन्नुभएको सुनें । छाती ढक्क फुल्यो । यसको साथै झस्याङ हुने गरि टेबलमा गिलास पछारिएको आवाज आयो । सायद जुङ्गे अकंलले रक्सी पिउँदा पिउंदै रिसले पछारेको थियो । गिलास भुँईमा निकै बेर सम्म घडीको सुई घुमेझै दायाँ बया कित्रिंग कित्रिंग घुमिरहेको थियो। जुंगे अंकल निस्केर लाग्नु भो । आमाले निकै बेर अनुनय बिनय गर्नु भो तर फर्केर हेर्दै नहेरी लाग्नु भो । आमा ढोकामा उभेर निक्कै बेर हेर्दै हुनुहुन्थ्यो ति चुक घोप्टेको झैं देखिने अंधेरी क्षितिज तिर । आमाको त्यो अवस्था देखेर मैले ‘आमा’ भनेर बोलाएँ उहाँ झस्किनु भो र ढोका लाउनु भो अनि म संगै छेउमा आइ सुत्नु भो । मैले आमालाई सोध्ने प्रयास गरें ।

“त्यो अंकल किन रिसाएर जानुभाको ? भनेर पहिले त आमाले " केहि हैन सुत सुत" भनेर टार्न खोज्नु भयो तर मेरो ढिपीसंग हार खाएर बिस्तारै आफ्नो कथा व्यथा खोल्दै जानुभयो मेरो सामु मानौ म उहाँको कुनै हितैषी मित्र हुँ । उहाँले भन्नुभए अनुसार आमा पहिले उहि जुङ्गे अंकलकोमा घरधन्दा लगायत बारीको काम गर्न जानु हुन्थ्यो रे ।

त्यो अंकलको घर् कालीमाटीमा रहेछ । घर पनि ५ तलाको ।खुबै धनी हुनुहुदों रहेछ । उहि अंकलले नै आमालाई दया गरेर भनुँ वा माया गरेर केहि रकम दिनुभएको रहेछ। त्यहि रकमले नै आमाले त्यो हाम्रो सानो टहरा बनाउनु भएको रहेछ । अनि अलि अलि आम्दानी होस भनेर देखावटी चिया पसल र भित्रै भित्रै रक्सी पसल गर्नु भएको रहेछ आमाले । त्यो अंकल पनि आफ्नो श्रीमती बिते पछि पीडा भुलाउन हामीकोमा रक्सी पिउन हरेक रात आउन थाल्नुभएको रहेछ । पछि त्यो अंकलको छोराले बिहे गरे पछि भने "अब छोरा बुहारी छदै छ तिमी आउनु पर्दैन घरधन्दा गर्न" भने पछि आमा दिउँसो त्यहाँ काम गर्न जान छोड्नु भएको रहेछ ।

त्यो अंकलको कृपा दृष्टी हामी माथि परेको हुदाँ उहाँले जे भन्नुहुन्थ्यो त्यो आमाले मान्नु हुन्थ्यो । त्यसैको फाईदा उठाएर त्यो अंकलले मलाई उहाँको घरमा काम गर्न पठाईदे भन्नु भएको रहेछ । तर आमाले म सानै भएकोले पठाउन मान्नुभएनछ । त्यसैले त्यो दिन अंकल रिसाएर जानु भएको रहेछ । आमाले त्यति भन्नु भएपछि मेरो मनमा अनेक कुराहरु खेल्न थाल्यो । मन् कस्तो कस्तो भएर आयो। सधैको त्यो बिहानको हतारो चटारो जुठो गिलाससंगको कुस्ताकुस्ती भन्दा त त्यो अंकलको सुविधायुक्त घरमा गएर काम गर्न पाए राम्रै हुनेथ्यो । मन भरि लड्डु फुट्यो । अंकलको घरको तातो पानी, एसी रुम चिल्लो भर्याङ, सफा सुन्दर बगैंचा सारा मेरो आँखामा नाच्न थाल्यो । हुन त अंकलको घरमा कहिल्यै गएकी थिइन् तर आमा बेला बेलामा यस्तो त्यस्तो भनेर बताईरहनौ हुन्थ्यो । त्यसैको भरमा मैले काल्पनिक अनुमान गरेकी थिएं । म उमेरले पनि १६ वर्षकी भैइसकेकी थिएं । आमाले भन्नु भए सानी पनि त थिइन । सनोतिनो काम गर्न सक्ने भैईसकेकी थिएं । यस्तै लाग्यो मलाई अनि मेरो सानो मष्तिस्कलाई

त्यसपछि मैले आमासंग ढिपी गर्न थाले म त्यो अंकलकोमा गएर काम गर्छु भनेर। आमाले पहिले त मान्दै मान्नु भएन पछि असाध्यै कर गरेपछि मान्नु भयो । त्यति खेर त्यो अंकलको छोरा बुहारी अष्ट्रेलिया पढ्न गएका थिए । आमाले अगाडीको पसलबाट फोन गरेर त्यो अंकललाई बोलाउनु भयो ।अंकल पनि तीन बित्ता उफ्रेर आईपुग्नुभयो।

भन्दै हुन्हुन्थ्यो " मैले त भनेकै हो नि बिमली तेरो छोरी अब ठूली भैसकी भनेर । अब तेरो दु:खको दिन गयो । बुझिस् ल अब रक्सी हाल।" आमा अमिलो अनुहार बनाउँदै रक्सी हाल्न खोज्दै हुनुहुन्थ्यो । त्यो भन्दा अगाडी नै मैले रक्सी गिलासमा भरेर टेबलमा राखिसकेकी थिएं । खै के सोंच्दै हुनुहुन्थ्यो आमा चुप् चाप टोलाएर हेर्दै हुनुहुन्थ्यो र अंकलको कुरालाई सुने झैं मात्र गर्नु हुँदै थ्यो । आमा जबरजस्ती हांसोको लेप ओंठमा दल्दै हुनुहुन्थ्यो । म भने निकै खुसी हुदैं थिएं। ” भोलि ७ बजे यसलाई लिएर आइज है “भन्दै अंकल निस्किनु भो ।

ढलेको टूल उठाउदै आमा फत्फत्यउनु भो ।”हेर कमली धेरै रहर गरिस बाबै...कलंकी चोकका अवारहरुलाई समेत आँखा लाउन दिएको थिईन मैले । तर आज जानी जानी बिर सिंह कहाँ पुर्याउदै छु । मलाई पाप नलागोस । आमाको यस्तो किच किच मलाई मन परेको थिएन त्यसैले नसुने झैं गरि कुना पटी फर्केर सिरक भित्र पसें । किनकी मलाई कहिले त्यो अंकलको घरमा जाउं जस्तो भैइराथ्यो । त्यो रात पनि हजारौं ताराहरुको हत्या गरेर बिहानीले चिसो शीतहरु जताततै दलिराखेकोथ्यो जमिनभरि । सधैं ४ बजे उठिसक्ने आमा त्यो दिन उठ्नुभएको थिएन तर बिउँझि सक्नुभाकोथ्यो ।

आँखाहरु केहि सोचमग्नभएर भूईंतिर घोर्याईरहनुभाथ्यो । " आमा आज चिया पसल खोल्न नजाने?" भनेर सोधें । "अब तैं नभएसी के जानु ।" भनेर आमाले खिन्नता प्रकट गर्नुभयो । नमिठो लाग्यो मलाई तर पनि मनका इच्छालाई मार्न सकिन । अरु बेलामा मुखै नधोई पसल जाने म त्यो कार्तिकको जाडोमा पनि टाउको देखि पुरै नुहाईरहेकी थिएं । आमा पुरनो स्टोभ घ्यार् घ्यार् गरेर दम दिदैं बालेर चिया पकाउँदै हुनुहुन्थ्यो । नेवार बाको पसलबाट दुनोट पनि ल्याएं तर आमाले खानुभएन मैले नै दुवै दुनोट खाएं । त्यसपछि हामी लाग्यौं कालीमाटीतिर । सधै भन्दा राम्री बनेर जान लागेको देखेर "हैन आमा छोरी कता हो?" भनेर व्यङ्य हान्नेहरुको लाम नै देखें । हामी चुपचाप हिड्यौं । हामीलाई कलकीं चोकमा नचिन्ने कोहि थिएन । ड्राईवर खलासी सबै सबैले चिन्थे । तर हामी त्यस दिन नबोली हिड्यौं मात्रै हिड्यौं ।

कलंकी नाग मन्दिर हुँदै रभिभाबन र सोल्टीमोडलाइ पार गर्दै हामी कालिमाटी पुग्यौं । मेनरोड बाट ४,५ मिनेटको बायाँ पट्टि भित्र हामी पैताला हिंडेसी पुग्यौं । अंकलको साथमा काम गर्ने एउटा बुढो नै रहेछ जो हेर्दा सडक तिर नाम्लो बोक्दै भारि खोजि हिंड्ने झैँ देखिन्थ्यो । त्यो काम गर्ने बुढा मान्छे तल गेट नजिकैको टहरामा बस्दो रहेछ । त्यत्रो घरमा अंकल एक्लै बस्दो रहेछ । हामी पुग्न साथ अंकल बढो खुशीका साथ स्याउ अनार खान दिनु भो अनि हामी आमा छोरीले खान भ्याउन साथ” लौ बिमली तिमी जाउ अब यी कमली यतै बस्छे बेला बेलामा तिमीलाई भेट्न आउँछे” भन्दै आमालाई जति छिटो निस्केर जाओस झैं भन्नु भो । मन नलागी नलागी आमा नि अमिलो मुख पर्दै निस्किनु भो “नानी कमली राम्री बस्नु आफ्नु ख्याल गर्नु अनि काम सक्ने साथ बेलुकी बेलैमा घरमा आउ है “भन्दै । मैले पनि स्वीकारको टाउको हलाएं ।

आमा निस्किनु भएको दुई मिनेट त्यो अंकल जस्को नाम बिरसिंह थियो धेरै दिनको भोको बाघले झै मलाई झम्ट्यो । के भयो भनेर जान्न नपाउँदै मलाई थिचेर मेरो शरीरसंग मनमानी गर्न पो थाल्यो । म अचम्मित थिएं । अघिसम्म देवता झै देखिने त्यो अंकल अहिले एक्कासी दानव झै देखिन थालेको थियो । जिन्दगीमा सोंच्दै नसोचेको मैले भोग्दै थिएँ । मैले "अकंल के गर्न खोज्नुभाको ? मलाई छोड्नुस् ।" भनें । तर त्यो दानव यौनको तिर्खाले यति छट्पटिएको थियो कि मेरो छटपटाहटलाई केहि ठानेन ।

मेरो क्रन्दन सुन्ने कोहि थिएन। घर उसैको,कोठा उसैको,भित्ता भित्ता र भितामा झुन्डाएको तस्बिर पनि उस्कै थियो । म बर्बाद भएँ । लगभग आधा घण्टा जतिको घम्साघम्सी पछि मेरो शिथिल शरीरलाई भूईंमा लडाएर त्यो राक्षस लाग्यो बाथरुमतिर । मेरो नौ नाडी गलेको थियो । त्यो अजङ्गको राक्षसले म सानी भुरीलाई मर्य्याकमुरुक् पारेकोले होला ममा उठ्ने शक्ती समेत थिएन तर भित्र भित्रै प्रतिसोधको ज्वाला सल्क्दैंथ्यो । म मा त्यो राक्षसप्रति घृणा उम्लिरहेको थियो। बदलाको ज्वाला मुखी फुट्दै थियो । त्यसैले घिस्रदै घिस्रदैं त्यो राक्षस गएतिर गएं । त्यो राक्षस पल्लो पट्टि बाथरुममा नुहाउँदै गरेको चाल पाएं । अघि स्याउ काट्न प्रयोग गरिएको चक्कु भेटें । त्यहि लिएर बिस्तारै बिस्तरै अघि बढें बिरालो चालमा ।

म त्यो भए ठाउँमा पुग्नु अगावै नुहाएर निस्किसकेको थियो र न्यानो घाममा गम्साले आँङ पुछ्दै थियो । अचानक मैले सोच्दै नसोचेको घटना घट्यो । त्यो राक्षस गम्सा सुकाउन बरण्डामा टाँगिएको डोरी नजिक पुगेको थियो । कसो कसो गम्सा संगसंगै त्यो आफै पनि निहुरिएछ । लडघडाएर होला सायद आफ्नो शरीर नियन्त्रण गर्न नसकेर त्यो ५ तलाको कौसीबाट एक्कासी तल खुर्मुरियो । म अवाक् रहें । हतार हतार तल हेरें । त्यो छटपटाईरहेको थियो । अझै मरेको रहेनछ । आफै मार्छु यसलाई भन्ने सोचेर चक्कु हातमै बोकेर भर्यांग खोज्दै एक हात भित्ता समौदै एक हातमा छुरी लिंदै तल ओर्लिएं ।

त्यतिखेर सम्म धेरै मान्छे जम्मा भैसकेको रहेछ । हल्ला खल्ला हुन थालिसकेको थियो । पुलिसको गाडी र भाडाका टेक्सीहरु पनि देखिन्थ्यो । म पनि पुगें । मेरो हातमा चक्कु अनि मेरो अवस्था देखेर उनिहरुले “यहि हो हत्यारा । यसैले हो बिरसिंहलाई खसालेको ।" भन्दै आरोपका औंलाहरु त्यर्साउन थाले । म अलमलमा परें । म संग बोल्न सक्ने सामर्थ्य नै थिएन । तत्काल पुलिसले मलाई पक्राउ गर्यो र हत्कडी सहित गाडीमा हाल्यो । सारा सबुत प्रमाण मेरो विरुदमा बोलिरहेको थियो । मैले आफ्नो पक्षबाट कुनै सफाई दिन सकिन । न त म संग मुद्दा लड्ने प्रस्सत रकम नै थियो । उनिहरुकै बोलवाला चल्यो । मेरो विरुद्द मुद्द दर्ता भयो जिल्ला अदालतमा । पुर्पक्षको लागि मलाई जेल चलान गरियो । मुद्दा फैसला भयो। मलाई आजिवन कारावासको सजाँय सुनाईयो । म यो सब हेर्नु बाहेक अरु के गर्न सक्थें र ।

हुन त म नाबालिग थिएं र "तिमी नाबालिग छौ नआत्तिनु भन्दै आश्वाशनको पगरी गुथ्दै मेरो यौन अङ्गमा र्याल चुहाउँदै छाम्ने पुलिसहरुको कमी थिएन । उसो त बालबालिकाको संरक्षणको लागि भनेर खोलिएका विभिन्न्न संघसंस्था न आएका पनि हैनन् , तर सबैले बोले मात्रै गरेनन केहि पनि मेरो लागि । सायद त्यहि संघसंस्थाकै प्रेसरको कारण होला मेरो उमेर जाँच्न केहि परिक्षणको लागि मलाई अस्पताल पुर्याईयो तर हरेक पटक मेरो यौनाङ छामछाम छुमछुम गरेर चश्मा ओर्काई फर्काइ मलाई हेर्दै 'घरको स्थिति र मेरो आर्थिक अवस्था बुझे पछी एउटै रिपोर्ट लेखिदिए डक्टरले " यो नाबालिग हैन ।" भनेर ।

त्यस पछी म साँच्चै एक अपराधी ,ज्यानमारा कैदी बनेर बस्न विवश भएँ । तर जेलमा बस्नु पर्दा मेरो कुनै गुनासो छैन न त पश्चताप नै । मलाई मेरो आमाको चिन्ता लगिरहेको छ । हो,मलाई यही जेल ठिक छ र प्यारो लाग्छ,जहाँ मैले जीवन बुझ्न सकें,जगत चिन्न सकें र चिन्न सकें यो देशको नियम कानुन ।

कथाकार
राजेश  रुम्बा लामा " अतृप्त "

Search