** समाचार । लघु कथा । गीता थापा । ** - Palpali Milan

Recent

02 April 2013

** समाचार । लघु कथा । गीता थापा । **

** समाचार । लघु कथा **



उसले अघाउञ्जेल पढी।तर नोकरी पाइन। व्यापार व्यवसाय गर्न आर्थिक अवस्था कमजोर थियो। बैंकबाट ऋण काढ्न बैंकलाई देखाउने जेथो केही थिएन। रैपनि योग्ताको प्रमाणपत्र झोलामा बोकेर नोकरी खोज्ने कामलाई निरन्तरता दिइरही। योग्यता अनुसारको काम नपाइए पनि होटेलमा नाँच्ने,व्यूटिपालरमा मासज गर्ने काम त पाइन्थे। तर आफ्नो योग्यताको अस्तित्व लिलाम हुने काम उसले गर्न रुचाइन। 


घरकी जेठीबाठी छोरी भएकी हुनाले बाउले दुई चारवटा निवेदन लेखेको भरमा घरको गर्जो टर्न मुश्किल परेको कुरो उसलाई ज्ञात थियो। तर ऊ टुलु टुलु हेर्न विवश थी। अभावले आमाको मुटु हलिने र दिमाग तात्ने रोग थपिएको थियो। डाक्टरकोमा पुर्याउने खर्च थिएन। कर्जा पत्याउने घरका झ्याल-ढोका पहिल्यै बन्द भैसकेका थिए।बाउले भाई र उसलाई क्याम्पस पढाउदा लिएको कर्जा तिर्न नसकेको कारणले। कर्जा दिने साहुँको घरबाट तारम्तार पैसा चाह्यो भनेर खबर आउथ्यो।बाउ ना-जवाफ लाचारीका घुट्का घुटुघुटु निलथ्यो भित्तातिर फर्किएर।

एकदिन उसले विदेश जाने सोच बनाइ।त्यो कुरा बाउ आमालाई थाहै दिइन। ऊ गोप्यतापूर्वक प्रयासमा लागिरही। भिसा आइसकेपछि व्याँजको लोभले ऋण जो कोहीले दिने कुरो थाह थियो उसलाई।एक दिन उसको भिसा आयो।

भिसा बोकेर ऊ बाउलाई कर्जा दिने साहुँकोमा पुगी। र सबै कुरा विस्तारपूर्वक सुनाइ। साहुँ उसलाई कर्जा दिन राजी भयो। ऊ घर आइ। बाउ आमालाई यथार्थको गोप्य पोको खोली। र आफ्ना लत्ताकपडा झोलामा कोचेर वैदेशिक रोजगारमा हिँड्ने तयारीमा जुटी।

आमाले भनी-छोरी त्यो विरानो मूलुकमा चिनेजानेको कोही नाई। तँ उमेर पुगेकी छोरी मान्छे। इज्जयतमा हातपात गर्लान्। न जा बा! मैले भनेको मान।यतै जे जस्तो काम पाइन्छ त्यही गर।आमालाई जवाफ दिन आवश्यक ठानिन उसले।

बाउको निन्याउरो अनुहारतिर हेर्दै भनी-चिन्ता लिनुपर्दैन बा! तपाईले,म कमाएर नयाँ पुरानो ऋण चुक्ता पार्छु। घर व्यवहारमा पनि सहयोग गर्छु।

बाउले दुई ढिक्का आँसु खसाल्यो। मुखले केही बोलेन।

ऊ श-कुशल विदेश आइपुगी। दुई चार महिनाको तलब पनि बाउको नाममा पठाइ। अचेल घर गाउँको हाल-खबर बुझ्न ऊ कान्तिपुर दैनिक र नागरिक न्युजको साईटतिर धाउछे। तर धेरै भयो उसले पढेकी
हजुरबाउले नातिनीलाई,बाउले छोरीलाई,शिक्षकले विद्यार्थीलाई,भतिजाले काकीलाई लोग्नेले,स्वास्नीलाई वलात्कार गरे। उसले सोच्नै सकेकी छैन। उसको देशमा मान्छे आधुनिक भा'का हुन्,कि!
वलात्कार शब्द मूल्यवान भएको हो?

कथाकार
गीता थापा “दोषी”

Search