*** नैनाजीका मुक्तकहरु - ३ *** - Palpali Milan

Recent

19 January 2017

*** नैनाजीका मुक्तकहरु - ३ ***

Naina Nirjhara

हिमालझै हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ ।



लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो
स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो




आमा एकभारी घाँस लिएर आउनुहुन्थ्यो
हातभरी लाली गुराँस लिएर आउनुहुन्थ्यो
म बिरही भएर कोक्रोमा हल्लिरहेको बेला,
अंगालो भरी मधुमास लिएर आउनुहुन्थ्यो !


झुल्किएर डुबी जाने घाम जिन्दगी
संघर्षको अर्को एउटा नाम जिन्दगी
सुख दुःख समयको खेल सम्झिएर,
मै पनि त बाँचुला नी आम जिन्दगी ।
नैना निर्झरा
धादिङ्ग नेपाल ।

Search