शंका ( कथा ) - Palpali Milan

Recent

04 October 2011

शंका ( कथा )

चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदको रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थ्यो भने नाक लामो भएकोले होला आँखाहरू खोपिल्टाभित्र पसेको भान हुन्थ्यो । उनीहरूको विवाह परिवारकै सहमतिमा मागेर भएको थियो ।

विवाहको प्रारम्भिक दिनहरूमा निशा रमेशसँग बोल्न लजाउँथिन् । तर पछिल्ला दिनहरूमा रमेशको सामीप्यमा रहँदा बस्दा निकै खुलेर हाँस्ने बोल्ने गरेकी थिइन् ।
विवाह भएका दिनहरूमा रमेशलाई सबै जनाले जिस्काउँने गर्दथे । हुँदा-हुँदा अफिसमा पनि "रमेश सर भाउजू त साह्रै राम्री पो पाउनु भएछ । क्या लक्की हुनुहुदोँ रहेछ । " भन्नेहरूको लाम हुन्थ्यो । रमेश केही नबोली मुस्कुराएर स्वीकारोक्ति जनाउँदथ्यो भने मनमनै डाहा भएको महसुस गर्दथ्यो । यसरी जो कोहीले निशाको रुपको प्रशंसा गरिरहँदा कसैले निशामाथि आँखा लगाईहाल्ने पो हो कि भन्ने डरले खाइरहेको हुन्थ्यो ।


खुल्ला हृदयकी निशा फरासिली स्वाभावकी भएकीले जोसँग पनि हाँसेर बोल्ने गर्दथिन् । मिलनसार र अर्काको दु:ख पीडामा सदैवसहयोगगर्न तत्पर निशाको हरेक व्यवहार मन पराउने भए पनि रमेशलाई निशा अरुसँग चाडै नजिकिएको र हाँसेर बोल्ने बानी मन पर्दैनथ्यो । तर पनि खुलेर बिरोध भने गर्न सकेको थिएन । निशाले स्नोकोत्तर सकाएकीले रमेशकै सहमतिमा एउटा निजि कलेजमा अध्यापन गर्न थालेकी थिइन् ।

दिनहरू बित्दै गए । रमेश र निशा आ-आफ्ना काममा व्यस्त रहन्थे । गाउँघरमा शिक्षित महिलाको अभाव भएकोले कुनै पनि संघ-संस्थाले आफ्नो कार्यक्रममा सहभागी हुन निशालाई अनुरोध गर्दथे । निशा पनि अफ्नो व्यस्त समयको बाबजुद पनि सामाजिक कार्यमा आफूलाई सहभागी गराँउथिन् । उनी समाजमा रहेर केही परोपकारी काम, सेवा गर्न पाउँदा आनन्दको महशुस गर्थिन् । पछि गएर यो एउटा नशाको रुपमा विकसित हुनपुग्यो । रमेशले निशाको धेरै जसो समय बाहिर व्यतित हुन थालेको बोध गर्न थाल्यो । रमेशले निशाको सामाजिक कार्यप्रतिको लगावमा रोक लगाउन नचाहेको हैन तर बिद्रोह गर्न सकेको थिएन । उनलाई डर यो थियो कि निशाको यस्ता कार्यहरूले बाहिरी व्यक्तिहरूसँगको सम्पर्क बढ्दै जाने र आफूलाई बिर्सन सक्ने सम्भावना प्रवल रहला । शारीरिक रुपमा पनि निशा निकै सुन्दर थिइन् । यसले गर्दा रमेशमा शंकालु बानीको बिजारोपण भएको थियो भन्दा असान्दर्भिक थिएन ।
"रमेश दाइ भाउजू त आज सामुदायिक प्रहरी बिटम हुनुहुन्थ्यो नि! निकै हाँस्दै हुनुहुन्थ्यो । के हो ? होस गर्नुस है । आईमाई मान्छे यसरी खुलस्त भएको राम्रो संकेत हैन । " छिमेकमा बस्ने शिवको यस्तो चाप्लुसी एवं स्वार्थले भरिएको कुरा सुनेर रमेशमा आगोमा घिउ थपिने काम भएको थियो ।

"दाइ भाउजू आज पनि घरमा हुनुहुन्न ? "
"रमेशजी होस गर्नुस है, भाउजू राम्री हुनुहुन्छ । फेरि उडाउँला नि कसैले हा!हा!हा! "
केही महिना यता सुनिदैँ आएको यस्ता अभिव्यक्तिहरूलाई पचाउँदै आएको रमेशलाई अब साँच्चैनै असह्य हुन थालेको थियो । जागिर अनि त्यसमाथि सामाजिक कार्यमा व्यस्त निशाको व्यवहार अनि अरूले सुनाएका भाँडभैलो कुराहरूले रमेशलाई घोत्लिएर सोच्न बाध्य बनाउँदै लगेको थियो ।
"निशा आज सिनेमा हेर्न जाऔ है, हिजो अफिसमा साथीहरूले च्यारिटी-सोको टिकट ल्याएका रहेछन् । मैलेपनि दुईवटा ल्याएँ ।"
रमेशको यो प्रस्ताव शनिवार छुट्टीको दिन हुदाँहुदै पनि निशाले सहर्ष स्वीकार्न सकिन, "ओहो! हिजो अस्ति भन्नुभएन । आज त रोटरी क्लबको कार्यक्रममा प्रमुख अथिति भएर जानुपर्ने छ । के गर्ने ? अरु कुनै दिन जाउँला नि हुन्न ? "
निशाको कुरा सुनेर रमेशले चुपचाप हुन्छ भनेर टाउको मात्रै हल्लायो ।
निशा केही बेरपछि बाहिर निस्किन् । रमेश भने खाटमा पल्टियो । नानाभाँतीका तर्कनामा रमेश हराउन थालेको थियो । "निशा किन मलाई समय दिन्न ? मैले चाहेको समयमा म किन उसलाई पाउँदिन ? के साच्चै नै बाहिर चलेको हल्ला जस्तै निशा घर बाहिरकै दुनियाँमा हराउन थालेकी हुन् वा मसँग समय व्यतित गर्न चाहन्न । पक्कै पनि निशाको कुनै नाजायज सम्बन्ध स्थापित भएकै हुनुपर्छ । हैन भने मेरो हरेक प्रस्ताव किन सहर्ष स्वीकार्दिन ? " रमेश यस्तै बेतुकका तर्कनामा विलिन हुन थालेको थियो ।

मानसिक रुपमा विक्षिप्त हुन थालेको रमेशले अन्तर्मनमा चल्ने यस्ता द्वन्द्व शान्त पार्न चुरोटको सहायता लिन थालेको थियो । ऊ चुरोटको धुवाँसँगै आफूलाई पनि उडाउँदै वायुमण्डलमा पुर्‍याउँदै बडो विचारणीय हुने गर्दथ्यो ।
रमेशमा निशा प्रति शंका गर्ने प्रवित्ति ह्वातै बढेर गएको थियो । तैपनि बिरोध भने गरिहाल्न सकिरहेको थिएन । ऊ भित्र-भित्रै पाक्दै थियो । धमिराले गुँड लगाएको पर्वत झैं रमेश पनि भित्र-भित्रै खोक्रो हुदैं गएको थियो । "मेरो उपस्थिति कतै निशालाई बाधक त भएको छैन ? म निशाभन्दा शारीरिक सु-संगठनको रुपले अयोग्य भएकैले हो त निशाको तिरस्कारको पात्र भएको ? साँच्चै नै उनी मसँग खुसी छैनन् । "

बनको बाघले खाओस नखाओस मनको बाघले रमेशलाई बिस्तारै खादैँ थियो । झुस्स दाह्री पालेको हेर्दा बिमारी झैं देखिने रमेशलाई रिसाहपन, चिडचिडाहपनले बिस्तारै गाँज्दै लगेको थियो ।
निशा यी कुराहरू किन हुदैँछ भन्ने खबरबाट बेखबर थिइन् । सधैँ हाँसी खुसी बोल्ने रमेशमा देखिएको यस्तो परिवर्तन देखेर निशा अचम्भित हुन थालेकी थिइन् । कहिलेकाहीं किन यस्तो हुदैँछ भनेर जान्न नखोजेकी पनि हैन । तर रमेशको अन्तर्मुखी स्वभावको कारण जड पत्ता लगाउन निशालाई हम्मे हम्मे परेको थियो ।
चैतको महिना थियो । बाहिर हुरी बतास चलिरहेको थियो । तर त्योभन्दा बढी हुरी निशाको मनभित्र चलिरहेको थियो । त्यस दिन रमेश कतै बाहिर गएर हतार हतार घर प्रवेश गरेको थियो । सँगै खाना खाने प्रतिक्षामा बसेकी निशा आज घरमै थिइन् । कोठामा एक प्रकारको सन्नाटा छाएको थियो ।
"हजुर भर्खर आईपुग्नुभयो, जाउँ भान्छामा सँगै खाना खानलाई । "
रमेशले निशाको आग्रह सुने नसुने झैं गरी टेबलमा एउटा फाईल राख्दै "यसमा हस्ताक्षर गर" भन्यो । निशा कुनै रहस्यमय घटनाको पर्दाफास गर्ने व्यक्ति झैं शंकास्पद हेराईले त्यो फाईल चुपचाप पल्टाउँदै गइन् । एक्कासी उनी छाँगाबाट खसे झैं आभास गर्न पुगिन् ।
"किन यी कागजहरू ? "
रमेशसँग निशाको प्रश्नको रेडिमेट उत्तर थियो, "तिमी मसँग खुसी छैनौ, मलाई थाहा छ । त्यसैले म तिमीलाई स्वतन्त्रता दिन चाहन्छु । यो डिभोर्सको कागजातहरू हो । हस्ताक्षर गर ।"
यति भनेर रमेश बाहिर निस्कियो ।

निशाले पुरै ब्रम्हाण्ड नै आफूमाथि खनिएझैं महशुस गरिन् । रमेशसँग जीवनका हरेक खुड्किलाहरूसँगै उक्लने सपना बोकेकी निशा अब कसैले त्यो शिशा फुटाएझैं चक्नाचुर पार्न खोजे जस्तै आभास गर्न पुगिन् । निशा चिच्याउन चाहन्थिन् तर आवज भित्र-भित्रै दबिएको भान हुदैँ थियो । गला अबरुद्द भएको थियो । कोठामा मुर्दा शान्तिले साम्राज्य जमाएको थियो । निशा प्रश्न गर्न चाहन्थिन्, कहाँ नेर उनको गल्ती भयो जीवन जिउने क्रममा । उनी भित्रै-भित्रै गल्दै थिइन् । उनी "मेरो गल्तीहरू स्पष्ट पार" भन्न खोज्दै थिइन् तर उसको उत्तर दिने कोही थिएन । कसरी रमेशमा यस्ता गलत सोचाईहरू आयो ? किन शंकाको डोरीले कस्सिएर बाँधियो रमेश ? के साँच्चै नै मैले दिने मायामा कमी भएकै हो त ? म कहाँ चुकेछु ? सबैभन्दा भाग्यमानी अनुभव गरिरहेकी म भ्रममा पो रहेछु त ? कसरी रमेश मेरो लागि बाधक भयो ? म रमेशसँग खुसी छैन रे ? के मैले नै गल्तीहरू गरेको हुँ त ? अहो! मैले रमेशको ईच्छा, मनोकांक्षाहरू पुरा गर्न नसकेकै हुँ त ? म त आफूलाई सबैभन्दा परिपक्क र समझदार छु भन्ने सोच्थें तर हैन रहेछ कि क्या हो ? " यस्ता अनगिन्ती प्रश्नले निशालाई रिङ्ग्याउँदै थियो । उनी मानसिक रुपले क्षतबिक्षत हुन थालेकी थिइन् ।

रमेशको आगमनमा प्रतिक्षारत निशा रमेशले त्यसरी रक्सी पिएर आउला भन्ने सोचेकी पनि थिइनन् । रमेश आफ्नो शरीर थेग्न नसक्ने भएर आएको थियो । तै पनि निशा आफ्नो भावनाहरू व्यक्त गर्न आतुर थिइन् । आफू कसरी दोषी भैयो र निर्दोष साबित गर्न के गर्नुपर्छ, सबै गर्छु भन्ने वचनबद्ध हुँदा समेत रमेश ढुङ्गाको मुर्ती झैं जडवत बनिरह्यो । आफूले त्यस्तो नराम्रो काम केही नगरेको र सदवब रमेशलाई प्रेम गरेको जिद्दी गर्दै डिभोर्स नगर्न रमेशलाई हरतरहले निशाले अनुनय विनय गरिरहिन् । हार गुहार मागिन् तर रमेश टसमस भएको भएन । मानौं, ऊ बहिरो र लाटो भएको थियो ।
निशाले रमेशसंग डिभोर्स भएपछि जीवनका पछिल्ला चार घुम्तीहरू पार गरिसकेको थियो । मार्च ८ अर्थात नारी दिवसको दिन थियो । निशा महिला आयोगले आयोजना गरेको अन्तरकृयात्मक गोष्ठीमा सहभागी हुन पुरानो बसपार्क हुदैँ सिहंदरबारतिर जाँदै थिइन् । बिहानको ९ बजिसकेको थियो । सडकमा सवारीसाधनको भीड थियो, अनि त्यसमाथि जाम भएको थियो । निकै बेरसम्म पनि बाटो नखुलेपछि निशा गाडीबाट ओर्लिएर अगाडि पुगिन् । निकै भीड देखेर के रहेछ भन्दै भीडको बीचमा हेर्न थालिन् ।

"विचरा कोही रहेनछ क्यारे । नत्र किन अलपत्र हुन्थ्यो यो बीच सडकमा ।"
"कस्तो पागल रहेछ कहीं नपाएर यो बीच सडकमा आएर लम्पसार परेर हामीलाई यो सास्ती "
"विचरा चुक् चुक् ।"
"कस्तो निष्ठुरी है यसको परिवार । सडकमा ल्याएर पो छाडिदिएका ।"
भीडको आक्रोसहरू यस्तै यस्तै गरी व्य्क्त हुदैँथियो । निशा पनि भीडमा पसिन् अनि घटनलाई नियालेर हेर्न थालिन् । त्यो परिचित अनुहार नै थियो । सबैले पागल उपनाम दिएर सम्बोधन गरिरहेको व्यक्ति अरु कोही नभएर उहि रमेश थियो । रमेशलाई त्यो हालमा देखेर निशाले आफूलाई सम्हाल्न सकिनन् । भावविह्वल हुदै रमेशको शरीरमाथि घोप्टो परेर आफ्ना वेदनाहरू आशुँको रुपमा छताछुल्ल पारेर पोखन थालिन् । केही बेरपछि आफूलाई सम्हाल्दै रमेशलाई बीर अस्पताल पुर्‍याउने बन्दोबस्त मिलाइन् ।

"तपाँईको बिरामी अहिले सामान्य अवस्थामा छ तर ऊ शारीरिक रुपलेभन्दा पनि बढी मानसिक रुपमा अशक्त भएको हुदाँ तत्कालको लागि औषधीभन्दा पनि माया, स्नेह, प्रेमले नै सन्चो हुन्छ । "
डक्टरको यस्तो कुरा सुनेर निशा स्तब्ध भएकी थिइन् । निकैबेर सोचेपछि निशाले रमेशलाई आफ्नै कोठामा लगिन् । रमेशमा चेतना शुन्य बराबर नै थियो । कहिलेकाहीं बर्बराउथ्यो । निशाको नाम पनि लिने गर्दथ्यो । अनि डर मान्दै निशाको हाताहरू समात्न पुग्थ्यो । निशामा एक प्रकारको अनौठो एकहोरोपनाले समातेको थियो । बाहिर कतै नगई सिर्फ रमेशको हेरचाहमा आफ्ना दिनहरू समर्पित गर्न थालेकी थिइन् । खै किन हो, किन रमेशको त्यो माया लाग्दो अनुहार देखेर निशामा परिवर्तनहरू देखा पर्न थालेको थियो । रमेशको हरेक आवश्यकताहरू परिपुर्ति गर्न हरदम तयारी अवस्थाम हुन्थिन् । खाना-पिनादेखि लिएर नुहाई-धुवाई सम्मको जिम्मेवारी पुरा गर्दै थिइन् । अहोरात्र रमेशको सेवामा लिन निशा कुनै पनि कार्यक्रममा पनि सहभागी हुन जाँदिन थिइन् । निशाको यहि निस्वार्थ सेवा र मायाको कारण रमेशमा चेतनाहरू पुर्नप्राप्ति भयो । आफ्ना स्मृतिहरूको प्राप्ति पश्चात रमेश आफूले निशालाई बुझ्न नसकी उनीप्रति गरेको दुर्व्यवहार सम्झदैँ आफूलाई धिक्कार्न थाल्यो । निशाको त्यो निस्वार्थ प्रेमले रमेशमा आत्मग्लानि गराइदियो । यस्तो निश्चल, अबोध नारीमाथि अरुको चुक्ली सुनेर दिएको प्रताडनाहरू सम्झदैं रमेशले अपराधबोध गर्न थाल्यो । आफूलाई कुनै अपराधी झैं बोध गर्दै निशासँग माफी माग्ने अठोट गर्यो ।

शनिबारकै दिन थियो । रमेश चट्ट दाह्री, कपाल काटेर निकै रमाईलो मनस्थितिमा देखिन्थ्यो । निशा पनि भर्खर नुहाएर चिसै कपाल फिजाँउदै आइपुगेकी थिइन् । रमेशले कुरा निकाल्यो, "निशा थाहा छैन तिमीले मलाई माफ गर्‍यौ कि गरेनौ ? तर पनि मेरो तिमीसँग एउटा विन्ती छ । म ती वितेका दुखद पलहरूको सट्टामा खुसी दिन सक्छु सक्दिन । त्यो त मलाई ज्ञान छैन । तै पनि मलाई माफीको लायक देख्छौ भने मेरो एउटा अनुरोध छ । त्यो स्वीकार्ने नस्वीकार्ने तिम्रै हातमा छ । के तिमी मसँग पुर्नजीवन व्यतित गर्न तयार छौ ? "
निशा एकतमासले रमेशलाई हेरिरहन्छिन्, हेरिरहन्छिन् । निशा अनुत्तरित हुन्छिन् । उनी कतै भावनामा विलिन हुनपुग्छिन् । अनन्त गहिराईमा ।
समाप्त

 बिना तामाङ'सुनगाभा'
काठमाण्डौं

Search