तिमीले पूर्णिमाको चहकिलो जून दिएकी थियौ
मैले नै घनिभूत अँध्यारो औंशीमा परिणत गरिदिएँ
बसन्ती बागको फूल झैं ढकमक्क फुलेकी थियौ तिमी
मैले नै त्यो सुन्दर बागलाई उजाड र उराठ पारिदियें 



यौटा विसाल र स्वच्छ आकाश दिएकी थियौ तिमीले
तर मैले नै जर्जर र क्रुर कालो बादल भएर ढाकिदिएँ
सुन्दर र हराभरा धर्ति नै मेरोलागि अर्पण गरेकी थियौ
मैले नै कहालीलाग्दो मरुभूमिमा परिणत गरिदिएँ

चौतर्फी सुबासना फैलाउने मीठो चाहना थियो तिम्रो
तर मैले नै त्यसलाई नमीठो र दुर्गन्धित पारिदियें
मनभित्र सुन्दर सपनाहरु संगालेकी थियौ तिमीले
ती सबै सपनाहरुलाई मैले नै चकनाचूर पारिदियें

अबत तिम्रो र मेरो दूरी निकै नै झाँगिइसकेको छ
कहिल्यै मिल्न नसक्ने नदीका दुइ किनारा भएका छौं
न त तिमीले नै सम्झने कोशिश गर्यौ त्यो अतीतलाई
न मैले कहिल्यै भने "तिमी गलतफहमिको शिकार भएकी हौ

शायद यो समर्पण थियो अथवा केवल प्राप्तिको चाहना ?
अथवा यो मेरो शैशव कालको निरीहता या अबोधता थियो ?
जे भए पनि यो सागर झैं गहिरो,पवित्र र निर्मल थियो
जीवनमा कहिल्यै निको नहुनेगरि लागेको यौटा घाउ थियो

रचनाकार
कोमल भट्ट
काठमाडौँ नेपाल हाल न्युर्योक
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.