म एक्लै बाँच्न सक्छु ( कथा ) - Palpali Milan

Recent

05 March 2012

म एक्लै बाँच्न सक्छु ( कथा )


तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो तीन दिन देखि म भोग्दैछु ,महशुस गर्दैछु । चाहेर नचाहेर मानिसले भोग्नै पर्ने जीन्दगीका तीता क्षणहरु आज म संगाल्दैछु । लाग्छ म आज यो झरीसंगै झर्दैछु अनि भेल बनि हिलाम्य भएर बग्दैछु।

किन यस्तो भैइरहेछ ?आफैलाई सम्हाल्न खोज्छु । केहि कठोर बन्ने प्रयास गर्छु । पीडा लुकाउने असफल प्रयास गर्छु । अनुहार रातो हुन्छ । फेरि आवेगमा आउँछु । दाँत किट्छु । अहं सबै प्रयस विफल हुन्छ । प्राकृतिक नियम म मा पनि लागू हुन्छ।जति कोशिस गरे पनि पत्तै नपाई आँखाको डिल डिलबाट आँशुका ढिक्काहरु बर्बर्ती झर्छ । आफ्नो दयनिय स्थिती देखेर आफैमाथि दया लाग्छ। बिस्तरामा पल्टिन्छु ।
निदाउने फेरि अर्को असफल प्रयास गर्छु। अहं पटक्कै निद्रा लाग्ने हैन। नैराश्यताले ब्युँझाईरहन्छ । जुरुक्क उठ्छु । स्वास फेर्नै गार्‍हो अनुभव हुन्छ । झ्यालबाट बाहिर चियाउँछु । सुनसान देख्छु । एकाध मानिस छाता ओढेर हिडेको देख्छु । एकहोरिन्छु । कोहि परिचित मानिस आए झैं लाग्छ परबाट । त्यो चेक छाताले टाउको मात्रै ढाकेर यतै लम्केर आउनेलाई चिने चिने झैं लाग्छ । परै भएकोले ठम्याउन हम्मे हम्मे पर्छ । अलिक नजिक आएपछि मेरो ओठमा भएको अलिकति खुसी पनि धेरै टाढा भाग्छ । उ त रोहित नै रहेछ जसलाई मैले तीनदिन अघि नै छोडेर आएको थिएं यो क्वाटरमा । रोहितलाई चिनेपछि मन् झन् झन् भुट्भुटिन्छ । पेट्रोल छर्कए झैं लाग्छ शरीरमा, कम्पन हुन्छ । क्रोधाग्नीले मेरो अनुहार बल्छ ।

म हत्तपत्त पर्दा लगाउँछु ।
"टिङ् टिङ्" डोरबेलको आवाज कानैमा आएर ठोकिन्छ ।

अहं म ढोका खोल्दै खोल्दिन । ज्यान गए पनि खोल्दिन।म आफैमा कठोर हुन्छु ।
"सुमी प्लीज एकपटक ढोका खोल । तिमीसंग केहि कुरा गर्नुछ । प्लीज । " रोहितको आवाजमा म षड्यन्त्रको गन्ध भरिएको म पाउँछु । झनै मनलाई दरो बनाउँछु । मुठ्ठी कसिन्छ अटोमेटिकली । बोल्नै मन् हुन्न । शरीरबाट पसीना निस्कन्छ । के गरुं कसो गरुँं हुन्छ । उठिसकेको मेरो शरीरलाई म पुन: पलङ्मा फ्यात्त फाल्छु ।किन किन अब मलाई भक्कानेर रुने मन हुन्छ।

तर तर म रोहितको सामु किन रुनु ? उसको अगाडी म किन दु:खी बनुँ ? म पनि सक्छु उ बिना बांच्न । हो म यहि देखाईरहेछु बितेका केहि दिन देखि उसको सामु । चाहे मनमा वेदनाका पहाडनै किन ठडियोस म समथर बनेर देखिन चाहन्छु अहिले । मनभरि पीडाका ज्वारभाटाहरु उर्लदै गर्दा म त्यस्लाई बाहिर निस्कन नदिएर आफैमा समहित गर्दैछु ।
मलाई थाहा छ केहि समय पश्चात त्यो ज्वारभाटाहरु बिस्फोट हुनेछ । तर रोहितको अगाडी म साम्य हुन्छु ।

म उसलाई देखाउन चाहन्छु "यि हेर तिमी बिना बाँच्न सक्छु हाँसी खुसी । तिमीले गरेको कुठाराघातलाई मैले आत्मसाथ गरिसकें । त्यसले मलाई केहि असर पारेको छैन ।" जाउ तिम्रो जीवन तिमी बाँच मलाई घच्घचाउन न आउ । मलाई एक्लै छाडिदेउ ।“

"प्लीज सुमी एकपटक मात्रै ढोका खोल । तिमी कति कठोर हुनसकेकी । मेरो फोन पनि रिसिव गर्दिनौ ।"उहि आवाज दोहरिन्छ ।
रोहित यति लाचार भएको मैले यस अघि कहिल्यै देखेको थिइन । मैले सोचेको पनि थिईन कि मेरो लोग्ने भनाउँदोको रुप परिवर्तन यस प्रकार हुन्छ । अहं अझै विश्वास लागिरहेको छैन मलाई । अहँ हुदै हुन्न । म मान्दै मान्दिन । उसको बोलीमा अव के नै त्यस्तो जादु बाँकी छ र अब विश्वास गर्न सकुँ म? उसका यस्तै चकलेटी कुराले नै त मैले उ संग ८ वर्ष बिताइसकेकी थिएं उसको अर्धाङ्गिनी बनेर । अहं यो सब भ्रम हो । उसको देखावटीपन हो । मानौ उ अझै नाटक गरिरहेछ जिन्दगीको रङ्गमञ्चमा र म दर्शक बनेर फेरि पनि थपडी बजाउँदै खुसी हुनेछु उसको यो सशक्त अभिनय देखेर । साँच्चै कुनै कलाकार भन्दा कम देख्दिन वास्तवमा उ साँच्चै पछुतो मान्दैछ वा फेरि पनि मलाई छल्न खोज्दैछ यो त भगवान नै जानुन् तर मेरो मनले यि सब झुटा हुन् भनेर खबरदारी गर्दैछ ।
"सुमी होशियार माकुरा जाल बुन्दैछ।जानी जानी नफस अब ।"

यदि यसो नहुदोँ हो त कसरी यति बिघ्न माया गर्ने मान्छेले म माथि सौता नामको किलो गाड्थ्यो ? बाँचे संगै बाँचौ, मरे संगै मरौं भनेर सातफेरा लगाएको मेरो लोग्ने कुन् मनले अर्की रोज्यो ? सुख दु:खमा साथ रहने वाचा गर्दै ३ वर्ष अघि वैदेशिक रोजगारीको निमित्त अरब गएको रोहितले कसरी ममाथि षड्यन्त्र रच्यो ? यि सबै घटना साक्षी छन् कि रोहित अब मेरो विश्वासिलो पात्र रहेन ।


शंका त मैले पहिले नै गर्नुपर्थ्यो जब उ १ वर्ष अघि घर बिदामा यहाँ आएको थियो । कहिले कार्यक्रममा जानुपर्ने त कहिले व्यापारको शिलशिला मिलाउन भन्दै हप्तौ उनि हराउँथे । अफिस ,घर गृहस्थी धानेर बसेकी मलाई दश मनमा एक मनमा पनि लागेन कि उ अरु कसैसंग अर्को जीवन बिताउने ध्ययमा हिड्दैछ भनेर । उनको त्यो कृतिम मुस्कानले छोपिएको अनुहार भित्रको कुरुपता मैले पहिल्याउनै सकिन । यसैमा त मलाई अहिले पनि पीडाबोध हुन्छ । जसलाई आफ्नो तन मनले आफ्नो जीवन माने उसैले पिठ्युँमा वार गर्‍यो । रोहितले त त्यसै बेलामा उसलाई अपनाएर कोठा लिएर अरब फर्केको रहेछ । यस्ता कुरा म के जानुँ । यी सब कुरको पर्दाफास हुदाँ म अर्धमुर्च्छित भएकी थिएं । मलाई आफ्नै कान र आँखामथि विश्वास लागेको थिएन जतिखेर रोहित मसंग झगडा गरेर अर्कै कोठामा एक्लै सुतेको थियो । मध्यराती उसको हाँसो ढोकाको चेपचेपबाट फुत्किएर मेरो कानमा पस्दा म झस्किएको थिएं ।

कोठाभित्र पुरुष स्वर प्रष्टसंग सुनिएकोथ्यो । "म भोली बिहानै आउँछु।शितल अब केहि दिन हो त्यसपछि म तिमीलाई यहि घरमै ल्याउनेछु ।"

मेरो मुटु छेडिएझै लाग्यो । म घायल बघिनी झै भएथें । अचानक जोडजोडले ढोकामा हान्न थालें । रोहितले अत्तालिएर ढोका खोल्यो ।मोबाईल हातमै थियो ।मैले खोसेर हत्तपत्त रिडायल गरें । तुरुन्तै कल रिसिव भयो । उताबाट नारीस्वर सुनियो ।
केहिबेरको कन्भर्सेसन पछि रोहितले शितल नामकी केटीसंग विवाह गरेको कुरा पक्कापक्की भयो । मुटु कसैले भुत्ते खुकुरी धसे झै भयो । एकैछिनमा मुटु टुक्रियो अनि तितरबितर भयो संगाल्नै नसकिने गरि । अब बाँकी नै के थियो र ।रोहितको अनुहार हेरें ।हेर्न लायकको थियो । डरले कम्पित मुहारा अनि झुकेको शिर । उसको हालत गल्ती गरेको बालकको झै देखिन्थ्यो । यो सब यति छिटो भयो कि रोहितले कुनै सफाय दिनै पाएको थिएन । अब के हुन्छ ? उसले अनुमान लगाउनै सकेन।वस् अपराधी झै सजाय भोग्न तयार ।सायद उसले सोचेथ्यो म उ माथि खनिन्छु,उसलाई लुस्छु,कोपर्छु,कपडा च्यात्छु अनि भाँडाकुडा फाल्नेछु । कठालोमा समातेर सोध्नेछु " किन किन यस्तो गर्नुभो ? " । तर अहँ त्यस्तो केहि गरिन । उसले सोचे भन्दा बिल्कुलै फरक रुपमा प्रस्तुत भएं । कुनै प्रतिवाद गर्नै मन् लागेन ।
किन किन उसको शरीर छुनै मन् लागेन । मन मरेर आयो । संसार नै धमिलो देखें । भाउन्न भयो ।उसको अनुहर नियालें । यति घृणा उम्लेर आयो कि अब उपरान्त उसको अनुहार पुन हेर्नै मन् लागेन ।दुबै आँखा छोपें । केहि सोच्नै सकिन । यति मात्रै थाहा भयो कि अब म त्यस घरमा एक पल पनि बिताउन सक्दिन । वरपरका सबै बस्तुहरुले मलाई नै जिस्काए झै लाग्यो ।भित्तामा सजिएका रोहित र मेरो तस्वीरले पनि खिस्याए झै भान भयो । घरका कुना कुना बाट मेरो खिल्ली उडाउँदै फुत्किएका खित्काहरु सुनें ।


"के बस्छेस् सुमी तँ यहाँ जहाँ तेरो आफ्नो केहि छैन।जहाँ तेरो खुसीहरुको घाँटी निमोठिएको छ,जहाँ तेरो उमङ्गको हत्या गरिएको छ,जहाँ तेरो जीन्दगीको रङ्ग उडाईएको छ,जहाँ तेरो भावनालाई सिमेण्ट र कंकडसंगै प्लाष्टर गरिएर भित्तामा दबाईएको छ।त्यस्तोमा तँ कसरी बस्छेस्?कसरी निर्वाह गर्छेस बाँकी जीवन? तैले जसलाई आफ्नो ठानिस उ त अरु कसैको भैइसकेछ।अरु कसैलाई छोएका ती हातहरुले तँलाई स्पर्श गर्दा कसरी सहन्छेस्?ती जुठा स्पर्शभित्र तं के पाँउछेस्?केवल छलकपट र झुट,गद्दारी मात्र पाउँछेस् ।"

वास्तवमै यो सत्य थियो । जुन घर मैले वर्षौ लागाएर सजाएथें ,सवांरेथे
मायाका रङ्गीबिरङ्गी फूलहरु फुलाएथें , आज त्यहि मेरो सपनाको सुन्दर बगैँचा कसैले माड्दैथ्यो,कुल्दैथ्यो ,फूलहरु निमोठ्दैथ्यो ।
एकाएक मैले निर्णय लिएं ।अविचलित अनि अविछिन्न निर्णय । अनि भनें "रोहित मैले जीन्दगी यति नमिठो होला भनेर कहिल्यै अनुमान पनि गरेकी थिइन । तिम्रो साथ यसरी बिझाउँछ,चुभ्छ अनि यति बिघ्न पोल्छ भनेर कल्पना पनि गरिन ।म सधैं तिमीलाई एक आदर्श पुरुषको रुपमा स्वीकार्थें ।संसारको सबै भन्दा सुखी र धनी मानिस म तिमीलाई सम्झिन्थें । तर हैन रहेछ, म त भ्रममा पो बाँचिरा रहेछु ।
तिमी त सडकका भिखारी भन्दा पनि तल्लो दर्जाको माग्ने रहेछौ जो संग दिनलाई केहि छैन । तिमी त रित्तो रहेछौ । तिमीसंग मलाई दिने अलिकति मायाको पनि अभाव रहेछ । आफै रित्तो हुनेले के मलाई प्रेम दिन सक्छौ र म तिमीबाट यो आशा गरुँ । ठिकै छ।तिमीसंग छैन तर मसंग छ।म तिमीलाई अगाध माया गर्दछु त्यसैले म तिम्रो खुसी चाहन्छु ।तिम्रो खुसी शितल रहेछ । म तिमीलाई त्यो दिन चाहन्छु खुला हृदयले । मलाई हाँसो दिन सकेनौ खुसी राख्न सकेनौ तर म तिमीलाई तिमीले चाहेको त्यो खुसी दिन चाहन्छु । तिम्रो मुहारमा मुस्कान देख्न चाहन्छु । तिम्रो पराजय हैन् विजय चाहन्छु ।

अर्को कुरा कुनै पनि पुरुष्ले आफ्नो स्त्री सधैं पवित्र चाहन्छ ,उसलाई अरु कसैको उपस्थिति असह्य हुन्छ भने कुनै नारीले पनि उसको पुरुषबाट यहि कुराको अपेक्षा राखेकी हुन्छे भलै हाम्रो समाजमा पुरुषको गल्तीलाई सहजै पचाउने र स्त्रीको गल्तीलाई दोष ठहर्याउने गर्दछ। तर म यी सब सहन्न।म पनि मेरो पुरुष पवित्र र चोखो होस भन्ने चाहने मानिसमा पर्दछु।त्यस मानेमा तिमी मेरो निम्ती अपवित्र छौ ।यस्तोमा म तिमीसंग कुनै हालतमा जीवन बिताउन सक्दिन र तिमीलाई मेरो अन्तर आत्माले स्वीकार गर्न पनि सक्दैन ।यदि यसमा जबरजस्तीका कुरा हुन्छ भने म तिमीसंगै भए पनि मेरो मन तिमीसंग नहुन सक्छ।
त्यसैले आजैबाट म तिम्रो जीन्दगीबाट टाढा जादैछु ।

तिमीलाई मेरो बन्धको साङ्लाबाट म मुक्त गर्दैछु । तिमी खुला छौ ।जाउ तिम्रो जीन्दगी बाँच । म कुनै दखलान्दाजी गर्दिन । तिम्रो नयाँ जीवन सुखमय रहोस मेरो शुभकामना छ । तर एक शर्तमा कि फेरि फर्केर मेरो जीन्दगीमा चियाउने दुश्प्रयास नगर ।"यति भनि सक्दा रोहितलाई मैले मेरो खुटानेर पाएं । उ मेरो पाउमा पश्चतापको भेल बगाउँदैथ्यो ।
"सुमी त्यसो नभन । मैले गल्ती गरें । म तिमीलाई अझ पनि माया गर्छु । मलाई छाडेर जाने कुरा नगर । बरु म शितललाई छाडिदिन्छु । तिमी जस्ती देविमाथि अन्याय गरें । म पापी हुँ । मलाई माफ गर।बिन्ती यो घर छाड्ने कुरा मनबाट निकालिदेउ ।" रोहित मेरो अडिग रहने बानीबाट जानकार थियो ।
उसलाई थाहा थियो कि म कति स्वाभिमानी थिएं र मैले गरेको हरेक निर्णयमा म कति अडिग रहन्थें ।त्यसैले उ त्यसो भनेर मलाई रोक्न । चाहन्थ्यो

"उफ् कस्तो स्वर्थीपना ? शितललाई पनि त्यसै भन्यौ होला हैन ? कमसेकम एकजनासंग त इमान्दार होउ । ममाथि त विश्वासघात गरिसक्यौ उसमाथि त नगर ।भैगो अब मेरो सपना पुरा गर्न नसके पनि उसको सपना नटुक्र्याउ ।म त यसै तितरबितर भैसकें उसलाई त्यसो हुनबाट रोक । उ पनि एक् नारी हृदय हो।मेरो जस्तै मन् छ।क्षत् बिक्षत नपार । कम्तीमा पनि एकजनासंग त साँचो जीवन बाँच ।"

यति भनेर मेरो कठो हृदयले त्यो घरको संघार नाघेर यस अफिसले उपलब्ध गराएको क्वाटरमा आएकी तीन दिन भएछ ।
रोहित अझै पनि मसंग कुरा गर्न चाहन्छ । फेरि मसंग जीवन बिताउन चाहन्छ।त्यसैले आज ढोकामा उभिएर मेरो मायाको भिख माग्दैछ। तर म यति कठोर भैसकें कि सायद ढुङ्गा पनि यति सार्‍हो छैन । समाजमा धेरै त्यस्ता बहुबिबाह गरेर संगै जीवन बिताउनेहरु नभएका पक्कै हैन तथापी एकपटक भाँच्चिसकेको यो मन खै कसै गरि पनि जोडिएन अथवा भनुँ जोड्ने मनै भएन । मलाई राम्रै संग थाहा छ यो समाजमा पुरुषको उपस्थितिबिना जीन्दगी बिताउनु फलामको चिउरा चपाए सरह हुनेछ ।

यहि समाजमा प्रस्सतै मात्रामा भेटिने कुपात्रहरुको कुदृष्टीबाट बचेर एक्लो जीवन निर्वाह गर्नु महाभारत नै हुनेछ तै पनि मैले एक्लो जीवन बिताउने निर्णय गरिसकें जुन अविचलित छ । किनकी म झुटको जीन्दगी बिताउन चाहन्न र म कसैको जुठो स्पर्शभित्र रम्न सक्दिन । त्यसैले म झन् झन् कठोर बन्दैछु । रोहितको अनुनयबिनयले मेरो हृदयलाई छुदैन मानौं म भावशुन्य भएकी छु ।उसको आवाजहरु यतै कतै वरिपरि विलिन हुदैँछ । विस्तारै विस्तारै ।
कथाकार
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Search