रात्री बसको यात्रा ( कथा ) - Palpali Milan

Recent

14 June 2012

रात्री बसको यात्रा ( कथा )


Rup Haram Bishwakarma

आफ्ना सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठुल्ठुला पहाडबाट वहकिएको भेषमा सुईसुई सुस्काउदै बगेको कलकल झरनाको साथ दिई रहेकी, त्यी हरिया डम्म पहाडको टुप्पोबाट कुहुकुहु आवाज निकाली रहेकी कोईली चरी, सिरिसिरि वतासको वेग संगैको त्यो प्राकृतिको उपमा भित्र हरेक उकाली ओराली डाँडा काँडा भञ्ज्याङ चौतारी अनि हरेक घुम्तीमा पर्ने, समथर खेतका लहलह झुलेका धानको वाला झै हामी पनि रात्री बसको यात्रामा झुमिरहेका थियौं।


हरियाली पहाडमा राज गरेको चिसो वतास संगै बढारिदै, सुस्काउदै बगेको नदीसंग मितेरी लाउदै हामी यात्रा अगाडी बढाई रहेका थियौं। प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश यातयात सुविधाको लागी अग्ला अग्ला काला पहाड खोपेर त ठुल्ठुला खोँच पुरेर उकाली ओराली नदीको किनारै किनार अनि धानको वाला लहलह झुलीरहेको खेतको बिचबिचमा कालो पत्रे सडक हुँदै अगाडी बढिरहेको हाम्रो यात्रामा हरेक गाँउ बस्ती र शहरको पनि राम्रो अवलोकन गर्ने मौका मिलिरहेको थियो त सोही यात्रामा विभिन्न ठाँउका महिला,पुरुष,बालक,वृद्ध,सज्जन,दुर्जन,असाहय गरिब,धनी,आदी आदी व्यक्तिहरु संगको हातेमालोमा हाम्रो यात्रा अझ रोचक र रौनक बनेको थियो।


आ-आफ्ना गन्तव्यको ध्यानमा लिन यात्रीहरु मध्ये मेरो नजर आफु बसिरहेको सिट देखी दायाँ तर्फ अगाडी बढिरहेको थियो, उनी महिला थिइन उमेरको अन्दाज २५ देखी ३० हुनुपर्ने मेरो आफ्नै भित्री जिकिर थियो, एक महिलामा हुनुपर्ने गुणमा पोख्त थिईन उनी। लचक्दार शरिर लामो कपालमा रातो लाछाली बाटेकी कपालको गाँठो पारिएको भन्दा केहि माथी मखमली फूल सिउरिएकी, हात भरि राता चुरा छन्किरहेका अनि हत्केलामा मेहन्दी बाट बनेको विभिन्न सजावटी आकृति हरेक औंलाको नङमा गुलाबी रङले पोतेकी, मखमली चोलो अनि पटुकी खुट्टमा पाउजु एउटा औलामा त चाँदीका औंठी, म बिस्तारै अनुहारतिर घुम्न थाले।
                                                                                                                            गोलो गहुँगोरो अनुहारमा आँखी भौं मिलाएकी निधारमा रतो टिका कानमा माडुली नाकमा तिनपाते फुली झुन्डाएकी ओठमा लिपिस्टिक स्याउ जस्तो गाला, गलामा नौ गेडी माला ,,, म उनी लाई हेरि रहे, मेरो एक्नासको हेराईले उनलाई अप्ठ्यारो लागेछ क्यार उनी यता उति फर्कि रहन्थिइन, आजको एकाईसौं शताब्दीमा आफ्नो परिवार देखी लिएर गाँउ टोल बजार जताततै महिलाले लगाउने पोशाक भन्दा फरक पोशाकमा उनी थिईन।

उनी नेपाल संस्कृतिकै छोरी थिइन, उनमा हाम्रो धर्म संस्कृति चालचलन रितिरिवाज झल्किरहेको थियो। यो जमानाको नारिहरुको लागी त उनी पक्कै पनि दुस्मनी थिइन, मलाई सबै कुरा मन पर्यो र उनी संग केहि कुरा खोल्न मन लाग्यो। मैले परिचय दिन आग्रह गरे वास्तवमा कोईलीको स्वरमा आफ्नो परिचय दिइन । परिचय संगै उनको बारेमा अनि उनको परिवारको बारेमा सहित मेरो बारेमा र गफ संगै उनले लगाएको पोशाकको बारेमा केहि बेर गफियौं । तर मैले यो प्रश्न गरिन , तिमी किन यो पोशाक लगाउदै छौ, आजका नारिहरुका पोशाकको तुलनामा ? मनमा नै राखे।
                                                         गफ्कै क्रममा उनले तुरुन्त प्रश्न गरिन:- तपाईले किन यो टम्म मिलेको शरिरमा छात्रे टोपि, कानमा रिङ घाँटीमा सिक्री विभिन्न आकृतिमा कुँदिएका शरिर च्यातिएका पाईन्ट लामालामा जुत्ता अनि टि शर्ट माथि पनि टाई,,, उनको प्रश्न सकिन नपाउदै जवाफ दिन हतार भए । यो नै मेरो एकाईसौं शताब्दीको माग अनुसारको ड्रेस हो, यस्को सट्टा मैले भदगाँउले टोपी, दौरा सुरुवाल, ईष्टकोट, कम्मरमा पटुकि भित्र खुकुरी एक सच्चा नेपाली गोर्खे ठिटो भनि चिनाउन मैले नचाहेको भने होईन। तर आजका नारि या पुरुष समाजमा संस्कृति झल्किने पोषाक होईन आधी शरिर देखिने पार्दर्शी कपडा मन पराउछन् । संस्कृति झल्किने पोशाकमा भएका व्यक्तिलाई त यहाँ पाखे गाँउले पुरानो मान्छे आदी आदी सुन्नुपर्छ। अनि मेरो यो उमेर साच्चिकै उमेरकै हिसाबले पनि म हरेक यौवन उमेरकी नारीहरु प्रति अकर्षित हुन र युवतीहरु म प्रति आकर्षित हुन आदी आदी।

जवानीका मस्त रङ्गहरु साटा साटा गर्न जुन बेला हाम्रा पुर्खाहरु रोधीं गाँउथे मेलापातमा माया पिरतिका भाका बोल्थे, तर हामी अहिले डान्स डिस्को चोक चोकमा खुलेआम माया सट्छौ। पुराना कुरा र नयाँ कुराका राम्रा नराम्रा पक्षहरुमा गफिदै हामीले यात्रा अघि बढाईरहेका थियौं। गफगाफमा लिन हामी समय बितेको पत्तो पाएनछौ, रातको करिब ११ बजिसकेको थियो। यात्रुहरु सबै निन्द्रा देवी को अंगालोमा जिन्दगीका सुनौला भविष्य हरुको कल्पनिक संसारमा मस्त थिए तर उनी र म गफमा व्यस्त थियौं ।

अचानक गाडी रोकियो निन्द्राबाट उछट्टिदै सबै जना हल्ला खल्ला गर्न थाल्यौं। हामी त घना जङ्गलको बिचमा रोकिएछौं सबै यात्रुहरु किन र कसरि जस्ता प्रश्न उठाउदै त्यो घना जङ्गल मध्य रातको समयमा आवाज उठाउन खोज्यौं। त्यो पट्यार लाग्दो सुनसान घना जङ्गल को बिचमा आवाज सुनिदिने कोही थिएन । यदि दिउँसोको समय हुँदो हो त त्यो ठुलो घना जङ्गलमा चरीहरुको चिर्बिर आवाज,कोईलीको सुमधुर स्वर, ढकमक्क लालीगुराँस फूल कलकल झरनाको सुस्केरा, चिसो चिसो हावा अनि अटल अग्ला हिमालको दृश्यावलोकन हुन्थ्यो होला। प्राकृतिक छटाले भरिपुर्ण त्यो जङ्गल त्यस् बखत एक्दमै अन्धकार भित्र पनि मौन थियो निस्च्याम्म थियो । हामी जस्तै हजारौं यात्रुहरु सडकमा अलपत्र भै होहल्लित थिए र पनि त्यो जङ्गल सुनसान थियो । 
                           त्यीनै प्राकृतिक छटाका सहयात्री हामी नेपाली दाजुभाई त्यीनैलाई लत्याउदै थिए। ढकमक्क लालीगुराँस फूलको बगैंचामा रगतको झरना बगाईरहेका थिए। कुहुकुहु कोईलीको नाम निशाना मेटाई गोला,बन्दुक र बारुदको आवाज घनकाउदै थिए। हरियो वन नेपालको धन तर गोला,बारुदबाट निस्किएको आगो सल्किदै थियो । रोधिं बस्दै माया साट्दै दाउरा घाँस गोठाला गर्न गएका जोडीलाई परिवर्तनको अभियानमा जङ्गलबाट नै बेपत्ता बनाईदै थिए। हरेक आमाको काख रित्ताउदै थिए। सुन्दर भविष्यको रङ्गिन सपना बुनेर घर देखि टाढिएका हाम्रा दाजु भाईका जिवन सङ्गिनीहरुको सिउँदो उजाडिदै थियो। हत्या,अपहरण,बम,गोली,बन्द,मार-पिट,बलात्कार,शोषण जस्ता जघन्य अपराध सामान्य र दैनिक कार्य जस्तो भैइरहेको थियो । तर आखिरी शिकार हामी जस्ता सोझा सिधा जनता थियौं।

त्यस दिनपनि अज्ञात समुहले एक यात्रु वाहक गाडीमा बम बिस्फोट गराएछन् । सयौको हाराहारीमा सोझा सिघा जनताले ज्यान गुमाएछन् । त्यसैको विरोधमा अगाडी बन्द थियो। बिस्तारै हजारौं यात्रुहरुको लाईन लाग्यो, यात्रामा शितल हावा पस्किरहेको त्यो जङ्गल अचानक उकुस मुकुसको तातो र दुर्गन्धित हावा लिएर आयो । गर्मीले गर्दा सबै यात्रुहरु सडकमा उत्रीदै लाखापाखा भए। लामो समय सम्म गफमा व्यस्त त्यी महिला तातो हावाको कारण उकुस मुकुस त भैइन तर गाडीबाट निक्लने आँट गरिनन्। सबै जसो बाहिरिएका थिए। मैले उनलाई बहिर जाउँ भने तर उनी मानिनन उनले भनिन:- उ त्यहाँ एक दाजु पनि हुन्हुन्छ। भैगो यही बसौं ।
जति मैले उनको प्रसंसा गरेको थिए र उनको हरेक कुराबाट प्रभावित थिए, तर उनले एक दाजु पनि हुन्हुन्छ, म यही बस्छु, तपाई जाने भए जानोस् भने पछि म अचानक परिवर्तन भए र उनी प्रति थोरै नकारात्मक सोचें । म त जान्छु यो गर्मीमा गाडीमा बस्न सक्दिन । म बाहिरिए । सडकमा नै रात बित्यो। बिहानीको मिर्मिरे आगमन हुन थाल्यो,सुनौला सुर्यका किरणले धर्तीमा आफ्नो राज बसाई सक्यो, बिस्तारै यात्रुहरुको भिड अनि हल्लाखल्ला छायो। यात्रुहरुनै जबर्जस्ती गाडी गुडाउन थाले, यात्रुहरुको त्यो किसिमको साहसले करिब ५ घण्टा पछि यात्रा अगाडी बढाउन सफल् भयौ।
                                                          यात्रा अगाडी बढिरह्र्कैथ्यो फेरी पनि करिब ३ घन्टा पश्चात गाडी रोकियो गाडी अगादी बढ्न सकेन आ -आफ्नो गन्तव्यमा समयमा नै पुग्न नपाएको करण चिन्तित यात्रुहरु फेरि पनि आक्रोश पोख्न थाले, तर यात्रुहरु विफल भए, किनकि बेलुका अज्ञात व्यक्तिहरुबाट सडक बन्द गरिएको थियो भने त्यस् बेला सरकार पक्षबाट बन्द थियो। अज्ञात व्यक्तिहरुको खोजीका लागी यातयात बन्द गरेको कुरा समाचारमा सुन्नमा आएको थियो । हरेक् यात्रुहरु आ-आफ्नो काम लिएर हिंडेका हुन्छन, सिमित समयको लागी तर हाम्रो देशमा गुडीरहेको गाडी अचानक रोकिन्छ, अनि भनिन्छ २ दिन् ३ दिन् ४ दिन् बन्द। जनताको सेवामा खटिएका ति आर्मी प्रहरी पनि उल्टै बन्दबाट बिचल्लित सडकमा उत्रीएका यात्रुहरु माथि अन्धा धुन्ध मारपिट गरिरहेका थिए। तर पनि यात्रुहरु प्रहरीलाई दबाब दिई आफ्नो गन्तव्य तिर लाग्नको लागी हर प्रयास गरिरहेका थिए।

अनि हामी गाडीमा थियौ ३ जना मात्र म उनी र हिजो बेलुका जुन मान्छेलाई म शंका गरिरहेको थिए। वास्तव मा ऊ दृश्टिविहिन रहेछ। उसलाई जाडो,गर्मी,हल्ला-खल्ला थाहा छ तर के भैरहेको छ देख्न सक्दैन त्यसैले ऊ गाडीबाट जहाँ पयो त्यहीँ जाना पनि सक्दैन अनि त्यी महिला । सुरक्षाको नाउँमा कलङ्क छाएको हाम्रो देश्मा नारीहरु एक आफैंबाट शोषित र पिडित छन। आधा शरिर पस्किएर हिड्ने जो कोही नारी देखेपछि र््याल अवश्य काड्छ। अनि उस्को अश्मितामा कतिखेर दाग लगाउने भनेर बाटो कुरेर बस्छ। अनि त्यी नारी जसलाई थाहा छैन आफ्नो कारणले आफै शोषित र घृणित हुनुपर्छ भनेर। आफ्नो नारी अस्मिता जोगाउन कै निम्ति भए पनि उनी बाहिर ननिक्लिएको मैले बुझें।
                                                                        लगभग बिहानको खाना खाने समय पनि भयो। तर हामी शहर देखि केही दुरी टाढा थियौं। सबै यात्रुहरु हिंडेर भए पनि खाना खानको लागी होटल तिर अगाडी बढिरहेका थिए। त्यसो त मलाई पनि भोग लागीरहेको थियो । होटल जाने तरखरमा थिए, मैले ति महिलालाई संगै खाना खान जान आग्रह गरे उनी केही छिन पछि जाउँला भनिन, म भने भोक लागेकोछ गए है भन्दै होटल तिर लागे। म पनि टाढा पुगिसकेको थिए पछाडी फर्के। जसरी म फुरुक्क फुर्केर एक्लै आएको थिए तर ति महिला एक्लै आईनन गाडीमा हामी संगै यात्रा गर्ने ति दृश्टि बिहिन दाजुलाई पनि लिएर आईन। गाडीबाट ओर्लदा होस य होटलसम्म आईपुग्न होस उनले धेरै सहयोग गर्दै ल्याईन। एक हातले त्यो दाजुलाई दोर्याउदै त एक हातले आफ्नो अनि उही दाजुको सामान झुन्डाउदै होटल सम्म आई खाना खाँदा किन नहोस उनले धेरै सहयोग गरिन। सायद यस्तो माया,मोह र ममता आफ्नो परिवारमा मात्र सिमित हुन्छ।

अचानक यात्रा न हो उसलाई दिशा पिसाब लागेछ त्यी महिलालाई ठुलो संकट परेछ, यात्राकै क्रममा चिन्जान अनि गफ गाफ भएरै होला मलाई चर्पिसम्म लगिदिन अनुरोध गरिन। वास्तवमा उन्को अनुरोध भन्दा पहिले मैले सोच्न पर्ने कुरा हो तर पनि म उन्को आग्रह स्वीकारदै उसलाई चर्पि लगेर ल्याईदिएँ। होटल देखि गाडी सम्म आउन भने उन्ले नै सहयोग गरिन। उनी उसलाई एक आमाले आफ्नो बच्चालाई गर्ने माया भन्दा कमिको माया दिईनन, लामो पर्खाई पछि बेलुका ५ बजे गाडीहरु फटाफट छुट्न थाले, हामी पनि यात्रा आगाडी बढायौं ।
             करिब रातको नौ बजे तिर हामी ठुलो बिसौनिमा पुगेछौ सबै यात्रुहरु झरे। म पनि त्यस ठाँउबाट अर्को गाडीमा यात्रा गर्नु पर्ने थियो। अनि त्यी महिला पनि त्यही बिसौनिमा ओर्लिन थालिन केही बाँकी यात्रु र ति दृष्टिबिहिन दाजुको यात्रा भने सोही गाडीमा बाँकि थियो। उनी उसंग छुट्न गारो मानिन तै पनि छुटिन। उसको गाडी गुड्यो, हामी भने अर्को गाडी न आउन्जेल एक होटलमा चियापान गर्न पस्यौं। उनी आफुमा ठुलो चिन्ता भएको मलाई सुनाईन। अझ त्यो मान्छे को यात्रा ६ घण्टा भन्दा बढी र त्यो समय भित्र उसलाई हरेक आपत विपत अनि फेरी हाम्रो देशको कानुन हरेक एक एक मिनटम बढ्लिरहन्छ,कतै उ बन्द हट्तालको शिकार ,यात्रामा खाना पानि दिशा पिसाब धेरै सोच्न थालिन। मैले उन्लाई सम्झाउदै चियापान सक्यौ, एक गाडी आउने बित्तिकै उनी छुट्न खोजिन तर मलाई उनी अझ बसिदिए अनि गफ गाफ गरिदिए हुन्थ्यो जस्तो लाग्यो तर समय,आफ्नो गतिमा छ म समयलाई न रोक्न न छेक्न नै सक्छु, उनले बिदा लिईन ।

उसंग जति छुट्न गाह्रो भएको थियो त्यति नै मसंग सजिलै छुटिन। उनी गएपछि म उनको बारेमा धेरै सोचे र नारी महानता गाउन थाले। साँच्चै नारी धर्तिमाता हुन, नारी शहनशिल हुन्छिन, अरुको लागी आफु सुम्पिन पनि तयार हुन्छिन। त्यसैले मैले गाएँ नारी नारी हुन, नारी आमा हुन, नारी श्रीष्टिकर्ता हुन,, केही छिन पछि अर्को गाडीमा छुटे, बिहानीपख गन्तव्य स्थल पुगे, फटाफट आफ्नो काम तिर लागे।।

।।समाप्त।।

कथाकार
रुप हराम विश्वकर्मा
पोखरा नेपाल हाल साउदी अरेविया

Search