कस्तो होला हाम्रो भविष्य ? ( कथा ) - Palpali Milan

Recent

21 August 2012

कस्तो होला हाम्रो भविष्य ? ( कथा )

Sajana Gurung
परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मजा नै वेग्लै ! राजधानीको बसाइ; वहाँ भाडाको ट्याक्सी चलाउनु हुन्छ र म तरकारीको सानो पसलमा व्यस्त ! यही पेशामा हाम्रो सानो परिवार धेरै खुशी र सन्तुष्ट थियो यही पेशाले हामीलाई गाँस,वास र कपास दिएको थियो । तर आज पहिलो पटक महसुस गर्न बाध्य भइरहेछु खुशीमय पारिवारिक जीवन जिउँन यति मात्र कुरा प्रयाप्त नहुँदोरहेछ; देशको आर्थिक, राजनैतिक परिवेशले पनि महत्वपूर्ण भूमिका खेल्ने रहेछ भनेर ।

सधै केहि न केहीको बहानामा भैरहने नेपाल बन्दले र अहिले संघीयता र जातीय राज्यको परिणाम स्वरुप लगातार भैरहेको नेपाल बन्दले गर्दा हामी लोग्ने स्वास्नी दुवै यसपाली घाटा बेहोर्न विवश भयौ ! निसन्देह ! यो हाम्रो मात्र यथार्थ थिएँन, सारा नेपाली जनताको यथार्थ यस्तै छ यहाँ अचेल ! बन्दले गर्दा त्यति धेरै तरकारी कुहिएर फाल्नु पर्यो ! यत्रो दिन मेरो लोग्ने नचाहेरै घरमा बस्नु पर्यो ! के गर्नु बन्दमा पनि पसलको भाडा, ट्याक्सी भाडा र डेराको भाडा साहुलाई बुझाउने पर्यो ! डेराको भाडा समयमा बुझाउन नसक्दा घर मालिक्नीले निकै गन्गनाइन् ! फेरि यो सारा गन्गन मेरो लोग्नेले नसुनेको भए हुन्थ्यो कसरी टुप्लुक्क आइपुग्नु भयो र सबै चुपचाप सुन्नुपर्यो वहाँले पनि !

त्यही पलदेखि वहाँको मुहार अँध्यारो देखिराथे झन् अहिले सुत्नु अघि कस्तरी न्यास्रो हुँदै भन्नु भो,“सानु ! अब नेपालमा भाडाको ट्याक्सी चलाएर काम छैन, जे भएपनि नेपाल बन्द गर्नै पर्छ भन्ने नेपालीको राजनैतिक प्रवृतिले मार्नु मार्यो हामी जस्ता स्वदेशमै केही गरी खान्छु भन्ने हरुलाई ! तिम्रो लोग्ने भएर तिमीलाई धेरै सुख सुविधामा राख्न नसके पनि सानो तिनो कुरामा अरुले तिमीलाई होच्च्याएर दुई चार कुरा सुनावोस् यो म चुपचाप हेरी बस्न सक्दिन ! अब म पनि विदेश नै लाग्छु जति सग्दो छिटो त्यसपछी तिमीले कसैको पनि किचकिच सुन्नु पर्ने छैन ! म हर हालमा तिम्रो शिर उठेको हेर्न चाहन्छु यसरी लाचारतामा झुकेको हेर्न सक्दिन !“ मैले कति सम्झाउन खोज्दा पनि वहाँले आफ्नो निर्णय बदल्नु भएन ।

हाम्रो मुटुको टुक्रा सानो छोरालाई पनि खै के भाको थियो ? विद्यालय त बन्द नै छ गएन तर साथीहरु सँग खेल्नलाइ पनि कुनै उत्सुकता देखाउदैन हिजोआज ! बाध्य भएर सोधें , “ बाबु ! के भो ? कसै सँग झगडा भो तिम्रो ? खेल्न नजाने साथीहरुसंग ? “

रुन्चे स्वरमा जवाफ दियो उसले, “ नाइँ , मलाई कसै सँग खेल्न जानु छैन ; ममी ! साथीहरुले भनेको, ‘ तिमी गुरुङ्गको छोरा हामी नेवार अब हामी नेवार नेवार मात्र खेल्नु पर्छ रे हाम्रो ड्याडीले भन्नु भाको त्यही भएर तिमीलाई नमिसाउने, तिमी गुरुङहरु सँगै खेल्न जानु भन्यो । ‘ म सँग कोही खेल्दैन ममी , मलाई गुरुङ साथी खोजी दिनुसना ! हैन भने म अब स्कुल पनि जान्न ! “

त्यो सानो बच्चाको बोलीमा, त्यो बाल मानसिकतामा यति धेरै सन्ताप आभास गरें कि अति घृणा लागेर आयो त्यो कुसंतानहरु माथी जसले जातीया राज्य जस्तो सोंचको जन्म गरायो ! बुद्दिजिवी मानिसहरुको रोजाई समानता र एकता हुने पर्ने ! देशलाई यो जाती पिच्छेको भागवण्डा गर्नु पर्ने नै किन ? त्यो सानो बच्चालाई म के जवाफ दिउँ ? जबकी कोठा बाहिर निस्कनासाथ हरेकको बोली र व्यवहारमा जातीय राज्य आगमन भैसकेको छ ! सही कुरा व्यवहारमा उतार्न पो मान्छेलाई वर्षौ वर्ष लाग्छ खराब कुराको अनुकरण र अनुशरण गर्नलाइ कति नै बेर ?

लोग्नेको विदेश जाने निर्णय र छोराको बाहिर खेल्न नजाने निर्णयले मलाई धेरै दुख्यो र गहिरो सोंचमा पारिदियो ! एक छेउमा लोग्ने निदाईरहेको हेर्छु अर्को छेउमा छोरा बिचमा म छट्पटी रहेछु सन्तापमा ! हाम्रो भविष्यको सन्तापमा ! हाम्रो छोराको भविष्यको सन्तापमा ! देशको र सम्पूर्ण नेपालीको भविष्यको सन्तापमा ! के होला ? कस्तो होला , हाम्रो भोलि र हाम्रो भविष्य ? 

कथाकार
सजना गुरुङ्ग
कुस्मा पर्वत

Search