*** नीरसजीका गजलहरु *** - Palpali Milan

22 August 2012

demo-image

*** नीरसजीका गजलहरु ***

*** नीरसजीका गजलहरु ***
Niras+Mainali


माया गर्छौ अनि फेरी, औकातका   कुरा  गर्छौ
गरीब भन्ने जानी जानी, सौगातका कुरा गर्छौ ।।

तिमी    बिना  बिताएका,     कष्टकर प्रहरलाई
भुल्न खोज्दा कोट्याउँदै, ति रातका कुरा गर्छौ ।।

माया कति गर्छु भन्ने, तिमीलाई थाहै छ नि
सरापेर  फेरी  किन, यी  हातका कुरा गर्छौ ।।

बिझाउँछ भने जाउ, मेरो साथले तिमीलाई
पल पल मर्छु भनि, के साथका कुरा गर्छौ ।।


मुटु छेड्ने गरी हान्छौ, तिखा वचन वाणले नै
माया गर भन्दै फेरी, क्या बातका कुरा गर्छौ ।।

*** मौका पाए  ****

childern
मौका पाए म पनि त, जान्थें होला पढ्नलाई
समाजमा  अरु  सँगै, मिली  अगि बढ्नलाई ।।

ईच्छा  थियो  धेरै मेरो, पढिगुनी  ठूलो  बन्ने
अरु जस्तै सफल्ताको,शिखर त्यो चढ्नलाई ।

मेरो बिन्ती सुनिदिने, सज्जन ति भेटिन्थ्यो कि
मन छैन यसै गरी, बसि बसि सड्नलाई ।।

ठूलो ईच्छा छैन मेरो, स्कूल जान पाए हुँन्थ्यो
मन छैन हिरामोती,माणिक ति जड्नलाई ।।

न चाहिन्थ्यो आरक्षण, न त अरु सुविधा नै
पढ्न मात्र पाएदेखि, सक्थें होला लड्नलाई ।।

*** रोएँ म त ***

SadMan
तिम्रो डोली अन्मियो रे, सुनेपछि रोएँ म त
जीवन साथी अर्कैलाई, चुनेपछि रोएँ म त ।।

खाएका ती कसम् सब, त्यागी कन जीवनको
आधार त्यो अर्कैसँग, बुनेपछि रोएँ म त ।।

विपनी त्यो नभए नि, सपनि त मेरै थियो
मेरा लागि सपना ति, थुनेपछि रोएँ म त ।।

बिर्सिएर प्रित हाम्रो, तिम्रा लागी काँडा भएँ
अर्कैसँग तानावाना, तुनेपछि रोएँ म त ।।

नचिनेको आफ्नो भयो, 'नीरस' यो टाढा गयो
भन्दै खुशी मन मनै, गुनेपछि रोएँ म त ।।


गजलकार
नीरस मैनाली
सपही-२,बारा
हाल डार्फर-सुडान

Search

Contact Form

Name

Email *

Message *