रमितेको भिडबीच छु म
भन्छौ हरपल खुसीमा झुम
अलग भएर एक्लै बाँचु कसरी
आधा म आधा तिमी हुँ म
कति रहर पनि अधुरा नै हुन्छन
पूर्ण भन्ने शहर पनि अधुरा नै हुन्छन
एक हुने सौभाग्य मिल्ला र जिन्दगीमा
सपना देख्ने नजर पनि अधुरा नै हुन्छन
नसम्झु भन्दै थिए बिर्सेर सम्झिएछु
बिर्सेको अतित कति खेर सम्झिएछु
पोल्छ मुटु था'छ विगतले घरीघरी
था' पाएरै पनि एक फेर सम्झिएछु
छोइछिटो उच निच कस्तो जात हुन्छ मान्छेमा
निर्धालाई भेटेपछि दिउँसै रात हुन्छ मान्छेमा
भुल्छ मान्छे मान्छे बिचको दुरी जागेपछि भोक
बुझ्दैनौ हामी कस्तो अनौठो मात हुन्छ मान्छेमा
इज्जतिलो सुन तिम्रो आमाको धोती भन्दा ठुलो होइन
नभन कहिल्यै फाटेको धोती मोती भन्दा ठुलो होइन
भव्य महलका बास सुने सुनका गास भए नि
तिम्रो आडम्बरी शान दुई टुक्रा रोटी भन्दा ठुलो होइन
कस्तो अलिनो जिन्दगी नुन बिनाको
देखेरै अन्धो पुर्णिमा जून बिनाको
धर्ती र आकाश एक भएको भ्रम जस्तै
मर्दै मर्दै बाँच्छ मान्छे गुन बिनाको
जाऊ भन्न करै लाग्यो पत्थर राखेर मुटुमा
लिइ गयौ सर्वस्व दर्दै दर्दै छाडेर मुटुमा
त्यसै त रित्तिसकेको सिद्दिसकेको खोक्रो मान्छे म
बाँचेर मरेको छु धुजा धुजा फाटेर मुटुमा
छुन्न तिमी बाहेक मन कसैले
छोएपनिभौतिक तन कसैले
कैयौ शताव्दी जिउन सक्छु विरहमा
जुठ्याएर जुठिदैन यौवन कसैले
पाल्पा नेपाल
हाल बुटवल ।
***नेपाली मुक्तक***Nepali Muktak***
8 Beautiful and sweet Nepali Muktak by Swpnil Nirav.
No comments:
Post a Comment