यसपालिको तीजमा ( कोमल भट्ट )
यसपालिको तीजमा भने, छमछ्मी नाँच नानु ,
बारुले त्यो कम्मर तिम्रो, मर्काएर भाँच नानु
जिन्दगीको के भरोषा ? भोलिको त टुंगै छैन ,
झर्याम झुरुम भएर यो,फुटिजाने काँच नानु
कहिलेनी ओइलींदैन,सम्झनाको मीठो माला ,
लत्याएर नफाल्नु है,मायाँ प्रीति साँच नानु
रात पछी दिन आउँछ,घाम पछी छायाँ जस्तै ,
दु:ख पछि सुख आउँछ,नपत्याए जाँच नानु
रङ्गी चङ्गी पोशाकमा, सजिएर मनाऊ तीज ,
हाँसी, खुसी,सधैँ भरि, रमाई रमाई बाँच नानु
नाँचेरनै देखाउछु ( रत्न शमशेर थापा " निर्दोषी" )
मौका यै हो यसपाली, नाँचेरनै देखाउछु ।
नाचे पछि कम्मर त, भाँचेरनै देखाउछु ।।
उफ्रनुको सिमा छैन मन भरी खुशी बोकि,
कोही भन्दा कम हुन्न, दाँचेरनै देखाउछु ।।
यति नाच्छु नाच्दा नाच्दा सबैलाइ छक्क पार्छु,
मरुन्जेल नाचे पनि, बाँचेरनै देखाउछु ।।
अर्को साल के हो के हो यहिँ साल खुशी बाड्दै,
दुःख पीडा एका तिर साँचेरनै देखाउछु ।।
तीज तिमी नआउन है (सुरेश राना "थकित यात्री" )
मेरो दिदी रुन्छ फेरी , तीज तिमी नआउन है !
यो तीजको गीत कोही , दिदी सामु नगाउन है !!अरुको त भाई आयो , भन्दै धेरै रुन्छिन होला !
त्यही बाटो गरी कोही , दिदी लिन नजाउन है !!
नाच्छु भन्थी रातो साडी , लगाएर यसपाली त !
रातो साडी देख्दा रुन्छ , कसैले नि नलाउन है !!
आमाजु र नन्द आइ , खाँदा खेरी तीजको दर !
कस्तो होला उन्को मन , देख्ने गरी नखाउन है !!
वर्त बसी सबै साथी , पूजा गर्न मन्दिर जाँदा !
दुखी हुन्छ मेरो दिदी , मन्दिरमा नधाउन है !!

![Ganesh Paudel at ne.wikipedia [CC-BY-SA-3.0 (http://creativecommons.org/licenses/by-sa/3.0)], via Wikimedia Commons Teej](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWaXvZ4iS1UEcTLKTIlMzWKG8X82n7Gd85YGtnTQ_1OgGBCxGWBPUCfs2PH6YEve5g3T-mBNTNCeyJFKckhUp6FUW8mJakwgx7iU6FFlSQX-9XB2aJbyHcQnLETaY60pNHrOjX2hViR31f/s1600/Teej+dance.jpg)
