नयाँ साहित्यिक विधाको रुपमा सुरुवात गरिएको घोचोलाई साहित्यअनुरागी सम्पूर्ण सहित्यिक मनहरु समक्ष पुर्याउने एउटा सानो प्रयास स्वरुप फेरी पनि केहि नयाँ घोचोहरुको साथमा घोचो : नयाँ विधा नयाँ प्रयास भाग २ यहाँहरु सम्पूर्णमा समर्पित गर्दछौ ।
नजरै गुलाबी ( आनन्द श्रेष्ठ )
नभन भो तिम्रो नजरै गुलाबी
नसुनाऊ मेरो अधरै गुलाबी
तिमी देख्दा यसै लठ्ठिन्छु सधैँ नै
तिम्लाई भेट्ने मेरो रहरै गुलाबी
नसुनाऊ मेरो अधरै गुलाबी
तिम्लाई भेट्ने मेरो रहरै गुलाबी ।
लजाएकी जस्ती गर्ने !! अतित लिङ्देन ( सुब्बा )
भक्षक् होईन रक्षक् भन्दै गाउँ गाउँ गस्ती गर्ने!
कलेज जाने छोरी भने डिस्को धाई मस्ती गर्ने !!
छेउमा आई बस्छे मोरी गिलासको नशा तान्दै !
बदन सारा छाम्दा उस्ले लजाएकी जस्ती गर्ने !!
कलेज जाने छोरी भने डिस्को धाई मस्ती गर्ने !
बदन सारा छाम्दा उस्ले लजाएकी जस्ती गर्ने !!
जाबो भो जिन्दगी !(कृष्ण चापागाई)
भुत्ते बेकामे राँबो भो जिन्दगी !
भुईँ छोडेको खाँबो भो जिन्दगी !
लाखौँ हजारौँ हण्डर खाएर
माया मरेको जाबो भो जिन्दगी !
भुईँ छोडेको खाँबो भो जिन्दगी !
माया मरेको जाबो भो जिन्दगी !
शायद संसारमा छैन ( दलबिरसिहं बराइली'घायल' )
भूमिगत छौं भन्छ जब प्रचारमा छैन
ठूलो कुरा गर्छ त्यै जो सरकारमा छैन
जब पुग्छ कुर्सीमाथि भुल्छ सबै कुरा
हाम्रो जस्तो नेता शायद संसारमा छैन
ठूलो कुरा गर्छ त्यै जो सरकारमा छैन
हाम्रो जस्तो नेता शायद संसारमा छैन
अगाएर जुका जस्तै ( नीरस मैनाली )
भाले युद्द मात्र सधैं गर्छौ खाली नेता
सधैं आफ्नै भुँडी मात्र भर्छौ खाली नेता
माखो मार्नु छैन केही गरी गफै मात्र
अगाएर जुका जस्तै सर्छौ खाली नेता
सधैं आफ्नै भुँडी मात्र भर्छौ खाली नेता
अगाएर जुका जस्तै सर्छौ खाली नेता
एक लात मलाई ( पुष्कर शर्मा चापागाई )
जहाँ विश्वास थियो, दिये त्यही घात मलाई
माथ चरण राँखे, दिए एक लात मलाई
आफ्नै कुडिँये किन ? आँफै भित्र हेरी रहेथे
अनी झर्किये त्यही सम्झाउदै जात मलाई
माथ चरण राँखे, दिए एक लात मलाई
अनी झर्किये त्यही सम्झाउदै जात मलाई
खुन सस्तो भो ( भक्ति प्रसाद पौड्याल )
चलेकै थ्यो हिजोसम्म, तर आज, कस्तो कस्तो भो
आफ्नो घर आफैँसँग, अंशबन्डा, होला जस्तो भो
कसो हुँदा एकै रातमा, आफैँ आफ्नो, बैरी बनियो
सम्बन्ध त बिग्रियो नै , पानीभन्दा, खुन सस्तो भो
आफ्नो घर आफैँसँग, अंशबन्डा, होला जस्तो भो
सम्बन्ध त बिग्रियो नै , पानीभन्दा, खुन सस्तो भो
मार्न नखोज ! ( रबिन प्रधान "प्रतिक")
साहित्यको बीउ हो यो, मार्न नखोज !
निमोठेर कलिलैमा, झार्न नखोज !!
हजारौ ति सर्जकको, खुसि लुटेर !
पाठकको सामु बाट, तार्न नखोज !!
निमोठेर कलिलैमा, झार्न नखोज !
पाठकको सामु बाट, तार्न नखोज !!
सोच्नु पर्यो । ( रामकृष्ण पौडेल अनयास )
भन्छन चाड सुरु भयो गाउँमा ऋण खोज्नु पर्यो
एक दुई बर्ष नकराउने सोझो साहुलाई रोज्नु पर्यौ ।
पेट भोको राखेर के काम खाना त टन्ऩ खानुपर्छ
खाएपछि भाका छल्न,जुक्ति एकछीन सोच्नु पर्यौ ।
एक दुई बर्ष नकराउने सोझो साहुलाई रोज्नु पर्यो
खाएपछि भाका छल्न जुक्ति एकछीन सोच्नु पर्यो ।
ओडार फेरिदैंथ्यो ( रुप हराम विश्वकर्मा )
उचाई सँगै तिम्रो, आकार फेरिदैथ्यो
आफ्नै बैंश रेट्ने, औजार फेरिदैथ्यो
सस्तो ठानी बैंश, नाशो हुर्के पछि
एक पछि अर्को, ओडार फेरिदैंथ्यो
आफ्नै बैंश रेट्ने, औजार फेरिदैथ्यो
एक पछि अर्को, ओडार फेरिदैंथ्यो
भिड रैछ ( योगन ढोली )
अरु लाई पत्रु समान् , मान्ने हरुको भीड रैछ
आफू मात्रै सर्बे सर्बा, ठान्ने हरुको भीड रैछ
नाता बाद् कृपा बाद्को, क्षणिक पगरी गुथेर
डाडु पन्यु आफु तिरै, तान्ने हरुको भिड रैछ
आफू मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड रैछ
डाडु पन्यु आफू तिरै,तान्ने हरुको भीड रैछ
यो नयाँ विधालाई हजुरको मायाको धेरै खाँचो छ ।