::: तिम्रै कारणले ठोक्किएर जिम्मेवार नागरिक बनेँ । । संस्मरण । । - Palpali Milan

Recent

22 July 2017

::: तिम्रै कारणले ठोक्किएर जिम्मेवार नागरिक बनेँ । । संस्मरण । ।

pratap oli 
तिम्रै कारणले ठोक्किएर जिम्मेवार नागरिक बनेँ 

घर बझाङ भएपनि म धनगढीमा बसी पढ्दै थिएँ । उमेरले १६ को थिएँ ,साथी बनाउने उत्सुकता झन् झन् बढ्दै थियो । धेरै रेडियोमा साथी बनाउने कार्यक्रम चल्थे तर त्यो विधिबाट मलाई साथी बनाउने चाहाना थिएन र धेरै साथी बनाउने उत्सुकता बोकेको मान्छे पनि होईन ।

एक दिनको कुरा शनिबारको दिन सरसफाई गरी घरको छतमा बसी किताब पढ्न बसेको थिए । एकछिन् ,फेशबुक अन गरी चलाए । धरानको विजयपुर एफ.एम.को फेशबुक पेजमा साथी बनाउने कार्यक्रम आउँदै छ,यही पेजमा आफुले कस्तो साथी चाहानुहुन्छ ? तपाईको सम्पर्क गर्ने ठेगाना सहित पोष्ट गनुहोस् ,भनेर लेखिएको थियो । मैले त्यसमा आफ्नो नम्बर ठेगाना पोष्ट गरेँ ।

त्यसैदिन झण्डै ६ बजेको थियो,बसन्त ऋतु भित्रिएको बैशाख महिना भएर होला सायद सिर सिर हावा चल्दै थियो ,म धनगढीको क्याम्पस रोड चोकमा तरकारी किन्न निस्केको थिए । एक्कासी नचिनेको नम्बरबाट फोन आयो तर मैले उठाईँन ,मलाई शंका उब्जियो यो फोन त्यो रेडियो कै कमालले आएको हो । तरकारी किनेर म रुममा पुँगे ।


एउटा शान्त वातारण मिलाउँदै मैले त्यो अज्ञात नम्बरमा फोन लगाएँ । फोन उठ्यो ,फोनमा एउटा नरम फिमेल आवाज सुनियो हेलो भनेर ! अनि मैले पनि हेलो नमस्ते को बोल्नु भयो ? कहाँबाट ? भनेर सोधेँ । अन्जान व्यक्तिको जवाफ आयो तपाईले रेडियोमा नम्बर छोड्नु भएको रहेछ ,मैले सुनेर नम्बर टिपे अनि तपाईलाई फोन गरे भनीन् ,मैले ठिकै छ नि त भन्दै कुुरा टारे । कुराकानीकै क्रममा घर ठेगानाका कुरा पनि आए । आ–आफ्ना ठेगाना बाँड्यौँ । साथीकै सम्बन्ध गाँसीएकाले हामीले कहिलेकाँही फोन गर्ने वाचा गर्यौ ।

कहीलेकाँही कुराकानी भएपनि हाम्रो निकैबेर लामो र मिठा कुराकानी हुन्थे । मैले यस्तै ११ को परिक्षा दिएको थिएँ । हामीविच झन् सम्बन्ध थपियो ,हामी विच झन् झन् फोन र एसएमस् हुन थाल्यो । एक दिन यस्तै साँझ पख थियो ,उनले फोन गरिन् ,केहीबेर समसामयिक कुरा भए ,त्यसपछि उनले एउटा कुरा भनुँ भन् िमैले के कुरा भनन भनेर सोधे,उनी एकछिन् उड्किएकी थिईन, त्यसपछि कुरा कोट्याउँदै उनले मलाई मपाई धेरै मनपराउँछु भनिन् । तर मैले जवाफ फर्काए म पढ्दै गरेको विद्यार्थी , घर टाढा छ । फेरी म पश्चिमको तिमी कहाँ पुर्वको हाम्रो मन मिल्ला कुरा मिल्ला तर समाज र सँस्कृति मिल्दैन । हाम्रो यो सम्बन्ध समाजका लागी स्विकार्य नहुन सक्छ भनी उनलाई सम्झाए । उनले रुँदै भनेकी थिईन म हजुरलाईलाचर्य ने माया गर्छु ,यो समाज ,सँस्कृति,भाषा कलाको मलाई केही मतलव छैन । तपँईको हरेक कुरा व्यवहार मलाई मन पर्छ भनिन् । त्यसपछि मैले ठिकै छ यत्तिको माया गर्ने अहिलेसम्म कोही छैन ,जे पर्छ परेकै टर्छ भनी उनको प्रेम प्रस्ताव स्विकार  गरेँ ।

जब १२ को परिक्षा दिएँ मैले उनले मलाई धरान घुम्न आउन निम्ता गरिन । म ११ पढ्दै गर्दा आफ्नो पढाई खर्च मिलाउँन धनगढीको बेल्स क्याफेमा वेटरमा काम गरिरहेको थिए । अलि अलि घुम्नलाई मसँग पैसा स्टक भएकाले म घुम्न भनेर पुर्वतिर लागे धनगढीबाट विराटनगरका लागी करिब १७ सय गाडीभाडा लाग्थ्यो । उनले म हिड्नु अघि मलाई एउटा अनुरोध गरेकी थिईन ,तपाई आउँदा मलाई रातो चुरा र सिन्दुर र राता चुरा मलाई लिएर आउनु ,म तपाईले ल्याएको चुरा र सिन्दुर लुकाएर लगाउनेछु ,जस्ले हाम्रो सम्बन्ध कहिल्यै छुट्नदिने छैन । मैले हुन्छ भने ,म दिउँसो एक बजेको गाडीमा त्यहाँबाट हिँडे । भोलिपल्ट बिहान ११ बजे गाडी विराटनगर पुग्यो ।

 म त्यहाँबाट धरानका लागी अर्को गाडी फेरेर हिँडे । सौध्दै हिडेको थिए । म विराटनगरबाट तरहरा हुँदै धरानबजारको भानुचोकमा पुँगे । विल्कुलै नयाँ ठाउँ त्यो पनि साथमा कोही छैन । फोनको भरमा हिँडेको मान्छे नयाँ ठाउँ ,नयाँ परिवेश तरपनि मनमा एकदमै उनी कस्ती होलीन् भन्ने उत्साह थपिएको थियो । मैले भानुचोकको पिपल चौताराबाट उनलाई फोन गरेँ । उनीबाट आफ्नो काकाको छोरीसँग १५ मिनेटभित्र आउने जवाफ आयो मैले हुन्छ भनेँ । एकछिन पिपल चौतारमा बसी आराम गरेँ । पुर्वपश्चिमको यात्रा गर्दा साह्रै थकाई र रिँगटा महसुस भएको थियो मलाई । १५ मिनेटपछि फोन आयो ,तपाई कता हुनुहुन्छ ,हामी यहाँनिर छौ भनेर ! मलाई उनले थाहा नपाउनेगरी उनलाई हेर्ने रहर थियो । यताउता हेरे तर एकतिर मैले जस्तै मोवाईल कानमा राखेर बोल्दै गरेकी एक युवती थिई । म उस्को नजिकै गएर मैले बोलेको जवाफ दिन्छकी भनेर विचार गरे तर फोनमा फरक कुराकानी भईरहेको थियो । त्यसपछि मैले यो मान्छे पक्कै मैले भेट्न चाहेको मान्छे हाईन भनेर अड्कल गरेँ । फेरी मैले यताउती हेरे एक छेउबाट दुईजना युवती म जस्तै खोज्दै आएको देखे । होकी होईन फेरी ठम्याउानै गाह्रो थियो मलाई । मुटुको चालपनि धेरै गतिले बढ्दै थियो , कस्तो बिडम्बना मैले उनलाई सुरुमै देख्ने भनेको उनले मलाई नै अगाडी देखेकी रहिछिन् । लजाई लजाई हामी नजिकियौँ ।

त्यसपछि हामी एक साईडतिर गई कुरा गर्न सहमत भयौँ । साथमा उनको दिदी भएकाले हामी फोन जस्तो नजीकीएर बोल्न सकेनौँ । उनले घरबाट सार्थीको बर्थ डे छ भनेर आएको र आधा घण्टामै घरमा आईपुग्ने वाचा गरेको कुरा सुनाईन् ,त्यसैले पहिलो दिनको भेट आधा घण्टामा खासै कुराकानी भएन । मैले उनलाई उनले लिएर आउनु भनेको भनेको चिज सिन्दुर र चुरा लुकाएर दिए ताकी दिदिले थाहा नपाउन । हामी नरमाईलो महसुस गर्दै छुटियौं । मैले धरान बजारस्थित भानुचोकैमा एउटा होटेलमा कोठा भाडामा लिई बसेको थिए । मलाई थाहा थिएन कि नेपालकै महँगो बजार धरान हो भनेर । त्यहाँका मानिसहरु धेरै ब्रिटीस गोर्खा सेनामा जाने हुनाले स्ट्यान्डार्ड किसिमको खाने लगाउने सभ्यता उनीहरुमा परापुर्व कालदेखि नै रहेछ । मैले त्यहाँ बस्दा धेरै महँगो होटेलको कोठा भाडा तिरेर बसेको थिए । रातीको नौं बजेको थियो ,उनले फोन गरिन्,दिनभरीका सारा वृतान्त सुनाईन । यस्तो भयो ।

दिदीले तपाईसँग नजिक बस्दा नचिनेको मान्छेसँग किन त्यसरी टासिएर बसेको भनेर रिसाईन् । ममीले यस्तो भनिन् ,वावाले यस्तो भने भनेर सुनाईन् । अनि मैले सोधे अरुले जे भनेपनि म कसे लाग्यो तिमीलाई भनेर ? उनीबाट जवाफ आयो ,तपाई मैले सोचेभन्दा राम्रो हुनुहुन्छ , मैले तपाईजस्तो मान्छे भेट्टाउनु आफुलाई भाग्यमानी ठान्छु । आजदेखि मेरो मनमा थप मायाका फुलहरु फुलेका छन् । यस्तै यस्तै कुराले हाम्रो त्यो रातको कुराकानी २ घण्टा लामो भयो , फोन राख्ने वेलामा मैले सोधे भोली के गर्ने प्लान बनाएकी छौ त ? उनले भनिन्,हेर्नु न केही दिन अगाडी मेरी साईली दिदी एकजनाले भगाएर लगेको छ । घरकाहरुका दिदीको रिस मलाई पोख्छन,घरमा तनावको स्थिति सृजाना भएको छ , फेरी हाम्रोबारे केही चाल पाए भने हामीलाई बाबाले राख्नुहुन्नँ । अनि मैलै भने त्यसो भए , भाग्ने तिम्रो दिदी भगाउने अर्को केटा !त्यसको फल पाउने हामी ? जसरी भएनी मलाई भेट्न आउ। हैन भने म नौ डाँडा काटेर यो विरानो सहरमा तिम्लाई भेट्न आउनुको के अर्थ ?

त्यसपछि अलिक नरम स्वरमा उनले भनीन् , म जसरी भएन िकुरा मिलाएर आउँछु ,हजुर नआत्तीनु ल पिलिज ! त्यसपछि मैले हुन्छ भने हामीले फोनको कुराकानी शुभ सपनीको कामना गर्दै रोक्यौँ । रातभरी एककिसीमको मलाई छटपटी चलि रह्यो ,म निदाउन निकै बेर लाग्यो । भोलिपल्ट बिहानै उठे ,बाथरुप गएर फ्रेस भएँ ,चिया नास्ता गरी खाना समेत भ्याँए । बिहान ९ बजे फोन गरेँ । हामी दिउँसो १२ बजे भानुचोकमा भेटियौँ । त्यो दिन जिवनकै अविस्मरणिय बन्दै थियो । हामी त्यो दिन धरानबजारबाट माथी माथी बुढासुब्बा गयौँ टेम्पो चढेर । त्यहाँ बुढासुब्बा मन्दिर दर्शन गरीसकेपछि ,हामी अझै माथी एकान्तमा जान ईच्छा गर्दै थियौ । उकालो चढ्दै जाँदा रमाईलो हरीयाली ठाउँ आयो ,त्यहाँ नजिक केही रिर्सोट थिए । हामी त्यी रिर्सोट भन्दा अझै पर खोला छेउमा पुग्यौँ । खोला किनारमा हामीले धोको पुरा हुने गरी कुराकानी गर्यौ । दुवैजना पहिलो मायाको महसुस गर्दै थियौ । लाग्थ्यो हामी संसारकै भाग्यमानी प्रेमी जोडी हौ । वेलुका हामी त्यहाँबाट फर्कियौं ।

उनले आज मेरो घरमा रिसाउनुहुन्छ भन्दै थिइन । मैले ठिकै छ ,अव सधैं यस्तै हुन्छ भन्ने केही छैन ,कुरा मिलाएर टारिदेउन भनिदिएँ । उनले हुन्छ भनिन् । आखीर माया गर्नेहरु जे पनि स्विकार्छन् ,जुन सर्वव्यापी नै छ । त्यो दिन हामी सधैभन्दा धेरै नजिएका थियौं । किनभने भेटले हामीलाई छुट्न झन् गाह्रो बनाउँदै थियो । म पछिल्लो दिन फर्कने सुरमा थिए तर मायाले छुट्न दिएको थिएन । उनले घर पुग्नासाथ मलाई फोन गरिन ,र भनिन् मलाई तपाईविना बाँच्ने मनै छैन । मैले पनि उनलाई यस्तै मायाका आभासहरु यसरी नै सुनाए । बाँच्नै गाह्रो हुने त्यो रात मलाई पिजडाको मैना जस्तो बनाउँदै थियो । राती म बसेकै होटेलबाटै उनलाई फोन गरेँ र भनेँ कान्छी म त फर्किएर जान्छ तर तिम्रा यादहरु र यी व्यतित पलहरुले मलाई झन् झन् परास्त गर्दै लानेछन् । यस्तै यस्तै थुप्रै कुरा सुनाए । पछिल्लो बिहान मेरो फर्किने दिनको संकेत थियो । विहान एकछिन् भानुचोक स्थित घण्टाघरमा चढ्ने रहर थियो र २० रुपियाँ टिकट काटेर घण्टाघरमा चढी चढी धरान शहर चियाए । त्यसपछि उनको फोन आयो एकैछिन कुरा गरे । होटेलमा पुगी खाना खाने निधो गरे । खाना खाईसकेपछि मैलै खानाको पैसा तिर्नुपर्ने भयो तर पैसा सिदने क्रममा मेरो पर्सबाट ७ हजामर एकैचोटी कति खसेको रहेछ । म छाँगाबाट खसेझैँ भएँ । अव मलाई त्यो उनी बाहेकको विरानो ठाउँबाट कसरी फर्कने भन्ने तनाव भयो ।

त्यसपछि उनलाई यो सवै सुनाए ,उनले आफुसँग मलाई घर पठाउँने पैसा नभएको वताईन् , अव के गर्ने हामी दुवै अफ्यारो परिरहेको थियो । त्यसपछि उनले मलाई गाडी भाडा मिलाउन आफ्नो कानको सुनको रिङ् बेचेर जान भन् ितर उनको रिङ् नै बेचेर मायामा धक्का पुर्याउने पक्षमा म थिईनँ तर पनि बाध्यता कस्तो एकदिन समेत खान बस्न नमिल्ने गरी समस्या पर्नु ? अन्तमा उपाय केही नलागेर उनको रिङ् बेच्न बाध्य भए तर विल नभएकाले सुनको पैसा कमै आयो जस्ले मेरो पुर्वपश्चिमको गाडीभाडा पुग्दैन थियो । अझै उनले आफ्नो हातको चाँदीको दुईवटा वाला थपिन,त्यस्ले पनि भ्याएन । अव म फसाद भएँ घरमा वुवाआमालाई नसोधेर धनगढीबाटै सिधै धरान पुगेको छु । म यो कामले यसरी भन्नलाई के प्रमाण थियो मलाई पढ्न भनी शहर पठाएका निर्दोष आमावुवालाई कसरी भन्नु बुहारी भेट्न धरान पुगे भनेर तर जस्तो फसाद भएपनि मैले आखिर भन्नैपर्ने हो र जति लुकाएपनि भोलि देखीने कुरा नै हो । मैले वुवालाई धरानबाट सवै कुरा सुनाए । वुवाले मलाई सम्झाउँदै भन्नुभयो । हेर छोरा तिमीलाई जति पैसा चाहिन्छ ,पठाउन तयार छु तर पुर्वकी नानी ल्याएर हाम्री बुहारी नबनाउ । भोलि हरेक कुरामा हामीलाई असर पर्छ तर मैले वुवाको कुरालाई टारीदिएँ । उनी नलिएर घर फर्किने पक्षमा मेरो तनमन स्विकार्य थिएन ।

 त्यसपछि वुवाले गाडीभाडा पठाउनुभयो दुवैजनालाई पुग्नेगरी । मैले उनलाई खबर गरेँ आज वुवाले पैसा पठाउनुभयो , अव हामी दुवै हिड्नुपर्छ म त तिमी नलिएर जानै सक्दिँन र तिमीलाई पनि गाह्रो हुन्छ । हिजो मन दिएकी थियौ आज तनमन मलाई नै सुम्पेकी छौ ,अव दुवैलाई दिन कटाउन गाह्रो हुन्छ । हिँड जाउँ के भनेथेँ उनी भक्कानीयर रुन थालिन । अव वुवाले पैसा पठाउनु भएकाले मलाई त्यो दिन थपेर बस्न मन लाग्यो । हामीले एउटा प्लान बनायौं ।हामी दुवैको बाँकी दिन सँगै विताउने सहमति भएपछि धरानबाट विराटनगर हुँदै भोलीपल्ट धनगढी पुग्यौँ । धनगढीको एकदिने बसाईपछि हाम्रो यात्रा बझाङतिर लम्कियो । ८ घण्टाको यात्रापछि बझाङ् पुगियो । असोजको महिनाको अन्तिम समय थियो । बुबाआमा खेततिर थिए । हामी घर जाँदा बुवाको अनुहारमा केही खुसी देखीन्थ्यो । सवैजना वेलुका घरमा जम्मा भयौँ । वुवा मसँग बोल्नु भएन ।

 यस्तै दिन बित्दै थिए । उनको घरबाट खोजी भएछ । टेलिकमबाट पनि कल डिटेल्स लगेछन् ,उनका माईतीले ! हामीले दुवैजनाको फोन स्विच अफ गरेका थियौं । लगभग एक महिना बितेको थियो ,तिहारको वेला भएछ क्यारे माईती याद आएर उनले मोवाईलको स्विच अन गरीछन् । माईती तर्फबाट फोन आएछ ,फोन उठाउँदा लोकेसन डिटेल्स पनि लगीएछ ,माईतीबाट । अनि उनका बुवा अलि माओवादी पार्टीका नेता पनि रहेछन् । बझाङका नेतासँग पनि चिनजान रहेछ ,सोधखोज गर्दै उनीहरु बझाङ आईपुगे मंसिर महिना थियो ,हाम्रो खेतमा गहुँ छर्ने समय थियो । हामी अवको जिन्दगी सँगै विताउने लामो सपना देख्दै थियौँ । तर एकाएक सफा आकासमा कालो बादल मडारियो । उनका माईती तर्फबाट जेठा भिनाजु र घरमा काम गर्ने एक दाई प्रहरी सहित घरको आगनमा तेर्सिए । मैले मन थाम्नै सकिन ,वुवालाई त अघिल्लो दिन थाहा भएछ ,तर हामीलाई भन्नुभएको थिएन । सवै कुरा बुझ्दाखेरी वुवाले पनि उनलाई माईती तिर पठाउने निर्णय गर्नुभएको रहेछ । एकाबिहानै प्रहरी आगनमा आएको देख्दा लाग्यो मैले धेरै ठुलो अपराध गरेको रहेछु । विचरी उनी बिहानै उठी आगन बढार्दै थिईन भित्र बोलाएँ । बोलाएर रिस उठ्यो सवै देखेर तर पागल जस्तो भएर उनकै गालामा हिर्काए । फेरी फकाउँदै भने ,ठिकै छ हामी प्रहरी चौकी त जाउँला तिमीले मलाई साथ दिनुपर्छ ।

उता गएर म मन पराएर आफै आएकी हुँ , फर्केर जाँन्न भन्नु भनेको थिए । हातमुख नै नधोएर हामी प्रहरी चौकी चैनुरमा हाजिर भयौं । त्यहाँ मेरो ठुलोवुवा ,वुवा अरु केही छिमेकी र उनका माईती उपस्थित भएका थिए । हामीलाई प्रहरीले सोधखोज गर्यो,हामीले जे सल्लाह गरेका थियौँ । त्यही कुरा प्रहरीसँग स्पष्टीकरण गर्यौ ,तर केही चलेन । कारण धेरै थिए ,मलाई कसैले साथ दिएका थिएनन् ,उनका वुवाले एक नक्कली उमेर प्रमाणित गरेर प्रहरीकहाँ दिएका थिए । प्रहरी पनि उमेरहदबन्दीको कुराले हामीलाई स्विकारीरहेको थिएन । वुवालाई उनका वुवाले ठुलो धम्की दिएका थिए । म पुर्वको ठुलो धनी मान्छे हो चाह्यो भने म तिमीलाई खरिद गर्न सक्छु ,तेरो छोराले मेरी छोरी किन लग्यो ? मैले हेलिकप्टर प्रयोग गरी त्यही आउनुपर्ने होकी ,याचवत कुराले थर्काएका थिए । वुवालाई पनि रिस उठेछ , फेरी वुवालाई पुरानो धक्का थियो मेरो अंकलले पनि पुर्वबाटै विहे गरेकाले धेरै चोट खानु परेको थियो । त्यसैले होला सायद वुवाले मलाई साथ दिएनन् । वुवाले मलाई सम्झाए ,हेर छोरा त्यो भन्दा राम्री पढे लेखेकी राम्री बुहारी म खोजी दिउँला तर यो सम्बन्ध छुटाईदे । हामी गरीब छौँ भोली उनीहरु जे पनि गर्न सक्छन् । प्रहरीले पनि कि त सम्बन्ध छुटा नत्र ६ महिना जेल जान्छस् ,भनी डराए ।

 म एकोहोरो रोईरहेको थिएँ,उनी पनि रोर्ईरहेकी थिईन । दुई वर्षको मेहीनेतले मायामा परेका थियौँ हामी तर छुट्न बेर लाग्ने अवस्था रहेन ,अन्तः उनी पनि अलि कोमल मुटु भएकी म पनि त्यही १९ वर्षको हामीमा त्यति आँट नभएर होला सायद केही उपाय गर्न सकेनौँ । मलाई वुवा र ठुला वुवाले च्यापेर लग्नुभयो ।उनलाई भिनाजु र दार्यले च्यापेर लगे । बर्खामासमा बग्ने खोलाझैँ हामी दुवैका आँखामा आँसुका खोला बगीरहेका थिए । कस्तो समय होला हामीलाई छुट्न बाध्य बनायो । म बेहोसी भएँ ,त्यत्रो चैनपुर बजारमा डाको छोडी रोएँ । एकचोटी वुवाबोहातबाट फुत्केर म उनीकहाँ पुग्न खोजेँ वुवा पनि पछाडी पछाडी गएर फेरी मलाई फर्काउनुभयो । त्यो दिन मलाई दिउसै रात लागी रहेको थियो । आँखाले कसैलाई देख्न सकेको थिईन मात्र यति देख्न सक्थे उनी चिच्याउँदै रुदै गईरहेकी , मेरो मन मस्तिष्क केवल त्यही देख्थ्यो ।

विहान ११ बजे चैनपुरबाट हिडेका वुवा र म राती १२ बजे घर पुग्यौँ । घरमा पुगेपछि आफ्नो कोठा पुँगे त्यहाँ उनका चुरा ,लुगा देखे विचरी एकजोड लुगा लगाएर मात्र गएकी रहिछिन । म रोँए ,रोएँ यति धेरै रोएँ ,आँखाबाट आउने आँसु सुक्न थालेका थिए । आमा भान्साबाट आउनुभयो । ए छोरा नरोउ ,खाना खाउँ हिँड भन्दै । मैले उहाँलाई रुदै मेरो खाना ,जिन्दगी त तपाईहरुले लगी सक्नुभयो अव दिन आउनु भएको भन्दै हकारेँ । त्यो रात भरी निन्द्रा परेन ,आफ्नै मुटु अरुले लग्दा कस्तो पिडा हुँदो हो । मैले तिन दिन हुँदासम्म उनको केही खबर पाईँन । एउटा फोन थियो त्यो पनि उनलाई फोन गर्न भनी लुकाएर प्रहरी चौकीमा दिएको थिए । मसँग एउटा अंकलको फोन थियो ,एउटा नम्बर मैले राखेका थिएँ ,तेस्रो दिन म घर पुँगे भनेर उनले फोन गरीन ,फोनमा उनले भन्दै थिईन ,हामीले रात विताएका कैलालीको अत्तरियाको होटेल ,अनि बसपार्क परपट्टि बस छुट्नुभन्दा अगाडी बसेको ठाउँ हेरेँ म धेरै रोएँ । भिनाजुले मलाई समात्दै यहाँ ल्याए । म रुँदा रुँदा आँसु रित्ती सक्यो मेरो राजा ,म अव यही थुनेको कोठमामै पासो लगाएर मर्छु ,कि त हजुर आउनु भनिन् । म जान त जान्थे ,मसँग एक रुपैयाँ थिएन ,वुवा पनि दिनु हुन्न ? फेरी उनका माईतीको के भर ,छुटाएर लग्नेले मार्न पनि वेर लगाउँदैनन् ,फेरी पुर्वेली समाज मिल्यो भने जिन्दगीभर दोस्ती मिलेन भने ख्यालख्यालमा ज्यान भन्छन् । मलाई पुर्वतिर गयो भने बाँच्छु जस्तो लागेन तर मायाको लागी मर्न पनि तयार थिए , पैसाको जोहो गर्नै सकिन ।

पहिले जस्तो हाम्रो फोन हुदैँन थियो ,उनको फोन नआउँदा झर्को लाग्थ्यो । फोन आएपनि सिमित कुराकानी हुन्थ्यो । एकदिन मलाई उनको फोन नआउँदा साह्रै दिक्क लाग्यो र मैले अलि झर्किएर बोले उनलाई चित्त दुखेछ तर सधै माया गर्ने मान्छे मलाई उनको मुड च्याँन्ज भएजस्तो लाग्यो । केहीदिन पछि मैले उनले विहे गरेको खबर सुनेँ ,म छाँगाबाट खसेझै भएँ मैले के बिगारेको थिए र उनले बिहे गरिन । मैले त्यो खबर उनकै मुखबाट सुन्दाखेरी रिसको झुरमा त्यो मोवाईल ढुङ्गामा हानेर फुाएँ । म फेरी रुन थाले रात दिन । उनकै छटपटिमा मैले ६ महिना बिताएँ । एकदिन घरबाट बिहे गर भनेर आमाले जोर गर्नुभयो तर मैले बिहे कुनैपनि हालतमा नगर्ने बताएँ , बिहे नगर्ने भनेपछि मेरा बाजेले भने म स्वर्गवास हुनुअघि नातीले बिहे गरेन भने म झुन्डिएर मर्ने हो भनेर आमासँग भने आमाले त्यो कुरा मलार्य सुनाईन् ,तर म मेरो आलो घाउ पुरनि नपाउँदै कसरी बिहे गर्न सक्थेँ र ?जिन्दगीमा ठुल ठुला ज्वालामुखी आउनथाले । मैले कति सहने ? कति गर्ने ?कस्को कुरा मान्ने ? म साह्रै झुर भए मलाई सानो सानो कुराले पनि धेरै हट गराउँन थाल्यो । बाजेको कुरा नमानौँ ,बुढाबुढीको चित्त दुखाउनु मुर्खता हो जे होस् ,मान्नै पर्यो तर मैले एउटा उपाय निकालेँ सुरुमा मलाई बाजेको ससुरालीतिर केटी हेर्न बोलाईएको थियो । त्यहाँ मैले केटीको घरमा एक रात काटे रातभरी केही बोलिन बिहान विचरीलाई छोटी मोटी मन परेन भनी टारेँ ।

त्यसपछि अर्को ठाउँमा त्यसकै दोस्रो हप्ता मलाई केटी हेर्न बोलाईयो । त्यहाँ पनि अर्कै बाहाना पार्दै मन नपराएको कुरा भनेँ । घरकाले मलाई रिसाउन थाले तँ जहाँपनि यस्तीउस्ती भन्र्दै टार्छस् ,हैन तँैले के सोचेकोछस् ? मलाई कसैसँग बिहे गर्न मन नै थिएन ,त्यसपछि अर्को ठाउँमा मलाई केटी हेर्न बोलाईयो । त्यहाँ पनि त्यही विधि अपनाएँ । केटी हेर्दै कुरा नमिल्दै गरेको एक बर्ष बित्यो ,मैले बिहे गरिनँ तर पछि एकदिन एकजना मेरो मिल्ने अंकलले मलाई सम्झाए ,हेर तँलाई उस्ले माया गर्ने भए किन अर्कैसँग बिहे गर्थी र? उ तेरो जिवनमा पाहुना भएर गएकी छ ,फलामले फलामलाई काट्छ भनेझैँ तैँले उस्को माया भुल्न अर्को केटीलाई बिहे गरेर ल्या यार हैन भने तँलाई धेरै धक्का पुग्छ जिन्दगीमा ! अंकलको कुरा सुन्दाखेरी मलाई केही सत्यता जस्तो लाग्यो । एकदिन त्यही अंकल र एकजना केटी हेर्न केटीको घर गयौँ । साँझपख थियो हामी केटीको घर पुग्यौँ ,हामीलाई केटीको घर आँगनमा स्वागत सत्कारका साथ तिनै हेर्न गएकी केटीले बस्न लगाईँन ,मलाई थाहा थिएन ,मैले हेर्न चाहेको केटी तिनै हुन् भनेर ।

एकछिन पछि ति केटीको आमा आउनुभयो र हामलिाई घरभित्र बोलाईयो । भित्र गयौँ । अव केटी चिन्नुपर्छ भन्ने उत्सुकता थियो । मैले विस्तारै हेरे उनी आफ्नो आमाको पछाडी बसेर बसेकी थिईन । मैले पनि यसो विस्तारै आँखा घुमाएँ ,हेरे उनी साधारण र सुन्दर थिईन । त्यसपछि उनकी आमाले उनका बुवा काम विशेषले घर बाहिर गएका तर अरु कुरा गर्न मिल्ने बताउनुभयो । हामीले आफ्नो घरको बारेमा सवै बतायौँ तर मैले आफुले केटी ल्याएको कुरा लुकाएको थिएँ । मलाई थाहा छ ,विवाह गरेको कुनै केटालाई कसैका आमावुवा आफ्नी छोरी दिदैनन् ,कथाले जे जस्तो भएनी सवै आफ्नै छोरीको भविष्य राम्रै चाहन्छन् । पछिल्लो दिन केटीको ईच्छा बुझ्यौ उनले अलिकती टाउको हल्लाईन् तर आँखाभरी आँसु झार्दै आफ्नी आमाको शरिरमा झुण्डिईन् । कठै छोरीको जिन्दगी दाम्लाको गाई जस्तै जस्ले जहाँ लग्यो त्यतै जानुपर्ने मैले पनि उनको साधारणपना देखेर मन पराएको थिएँ । मलाई पनि रुन मन लाग्यो किनकी उनी मेरो घर जानु त कहिले हो कहिले आजै आमाको शरिरमा झम्टेर रुन्छीन् । आखीर आफ्नो जन्म घर छाडेर जान मन त कस्लाई लाग्ला र ? हामी पुरुषले पनि नलिएर पनि त हुँदैन ,प्राचीनकाल देखि चलि आएको रित हामीले तोड्न कहाँ सकिन्छ र ?

 त्यो दिन उनकी आमाले हामीलाई यत्ती सुनाईन,मैले त ज्वाँई मन पराएँ अव यीनका वुवा आएपछि कुरा छिनौँला भन्नुभयो । त्यसपछि फोनमा कुरा गर्ने वाचा सहित हामी त्यो दिन उनको घरबाट मेरो हिँड्यौ । केही दिनपछि मलाई फोन आयो जुन फोन उनैले गरेकी रहीछीन् ,मैले हेलो भन्छु ,आवाज आउँदैन ,को रहेछ काम नपाएको भनेर ,फोन राखे ,फोन फेरी आयो रिसाउनै लागेको थिएँ ,एउटा लेडिजका आवाज सुनियो । को हो मैले भनेँ । म सरस्वती अस्ती केटी हेर्न आउनुभएको थियो नी ? हो उनकै बहीनी हुँ म ! मलाई झुक्याउने प्रयास गरिन तर मलाई थाहा भैईसकेको थियो ,किनकी उनको बहीनीको आवाज केही मोटो थियो ,उनको पातलो , अनी मैँले जवाफ दिएँ । होला होला मलाई नि त्यस्तै लाग्छ , खिसिक्क हाँसे उनले भनिन्, अस्ती एउटा डाँका मलाई हेर्न आएको थियो नि उस्लाई आज बुबाले बोलाउनु भएको छ भन्दिनु भन्दे फोन काटिन ! म अलमल्ल परेँ अस्ती रुँने केटीको यत्रो हिम्मत ! त्यसपछि मैले घरमा सवै कुरा राखे । त्यो दिन म एक्लै उनको घर गएँ । उनका वुवाले पनि हुन्छ भन्दै सहमती जनाउनुभयो । मेरो गाउँतिर एकजना बाजे नाता पर्ने स्वर्गबास हुनुभएकोले घरमै बिहे गर्नु त्यति उपयुक्त थिएन ।

त्यसपछि हामीले दुवैको परिवारको सहमतीमा २०७२ माघ १ गते बझाङ जिल्लाको पवित्र धार्मीक स्थल तपोवनमा बिहे गर्यौँ । बिहे भएको एक महिना बित्यो त्यसपछि मैले उनलाई पुरानो सवै कुरा सु्नाएँ । मेरो कुरा सुनेपछि उनले भनिन् । मेरो आमाबुवालाई नसुनाउनु उहाँहरुलाई नराम्रो लाग्ला, यस्तो त भईहाल्छ ,त्यसमा तपाईको के गल्ती ? ल्याएको मान्छे फर्काउनु उनकै माईतीको गल्ती हो । ठिकै छ ,यसमा म तपाई केही रिसाउँदिन ,बरु सके जति माया गर्छु । उनको त्यो वाणीले मलाई थप जिउने उत्साह थपियो । म यो ठोकुवा साथ भन्न सक्छु ,उनले मलाई पर्खिनन् ,मैले पर्खे के काम ।

आखिर बिवाह बन्धन भन्ने कुरा जिवनमा एक चोटी जोड्नै पर्छ । एक्लै बाँच्ने त यो संसारमा कमै होलान्, साँचो माया गर्नेहरुकै भिडमा पनि म यस्तो देखा परेँ । आज म एउटा छोराको बाबु भएको छु । उनी पनि एक आमा भएकी होलीन् । उनका यादका चस्काहरु मेरो मन यतिवेला चस्किन्छन् जब म एक्लो महसुस गर्छु । आजका दिनमा उनी कुनै भोजपुरको मित्रसँग बिहे गरेर बसेको सुन्छु । म बझाङकै जिवनसाथी पाएर सन्तोष छु । अव मैले धेरै ज्ञान बोध गरेको छु भन्न सक्छु ,विगतका अनेकन घटनाले म शिक्षक भएँ,घर रङ्गाउने पेन्टर भएँ, होटेलको सर्भिस गर्ने वेटर भएँ र अहिले मिडियाकर्मी छु । कुनैवेला म राम्रो तर असफल प्रेमी थिएँ ,मात्र तिम्रो ! आजको जिम्मेवार नागरिक तनकी नभएर मनकी प्यारी सुप्रिया भन्न भने सक्छ ।

प्रताप ओली
जन्मस्थान बझाङ

Search