चौथो दिन अस्पतालमा मेरो।रात क्रमश छिप्पिदों छ। अधेरिंले ग्वाम्ल्याम्ङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाईसकिन। सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन्। कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्दपी बिरामीका आफन्तहरु यताउता गरिरहेकाछन् । त्यो भिडमा आफुलाई नितान्त एक्लो पाईरहेकोछु।थाहा छैन किन हो मनभित्र बेचैनीले बास गरिरहेको छ। कतिखेर यिनले छोड्लिन भनेर बडो ब्यग्रताका साथ म प्रतिक्षारत छु।
उफ्! नाक थुन्छु । कतैबाट ह्वास्स नमिठो दुर्गन्ध मेरो नाकैमा ठोक्किन आईपुग्यो । अस्पताल र मेरो हालत एउटै व्यवस्थापनको अभावमा लथालिङ हालमा बेवारिसे जस्तो हामी जस्तो अर्थिक रुपमा कमजोरहरुको लागि बनेको होला अस्पताल भन्ने लाग्दैथियो त्याहांको दयनिय स्थिति देख्दा।धनीबर्ग त प्राईभेट नर्सिङ होममा गैइहाल्छन्।
हाँस्न मन लाग्यो। अस्पताल र आफ्नो हालत उस्तै उस्तै देखेर।विचरा! अस्पताल।
"माया जी भित्र जान सक्नुहुन्छ।" नारी आवाजले झस्कन्छु । आजभोली म सानो सियो खसेको आवाजले पनि त्रसित हुनथालेकोछु।
"सकियो?"
"अँ सकियो बेड कभर चाँहि भोलि मात्रै झिक्ने।"
"धन्यवाद।"
निलो साडीमा मन्द मुस्कान सहित गैइन परिचारिका।
म भित्र पस्छु।
म सिधै बेड नं२१ नजिकै पुग्छु।
तिलचामले कपाल,आँखा वरिपरि कालो कालो धब्बा,मुखमा अक्सिजन मास्कमा यस्तै ५८ बर्षिय मेरो आमा निदाईसक्नुभएको रहेछ या भनुँ उहाँ कोमामा हुनुहुन्छ पछिल्लो ५ दिन देखि। कता कता नमिठो लाग्यो । आज ४ दिन भैसक्यो उहाँको स्वास्थ्यमा कुनै सुधार आएको छैन।के कारण बिमारी पर्नु भयो त्यो पनि थाहा छैन। मन आमिलो भएर कुडिँयो । एक गेडो अन्न पनि परेको छैन ५ दिन देखि। स्लाईनको भरमा त्यि ज्यान थेगेर राखिएको छ। आमाको यस्तो हालत देख्दा भक्कानिएर रुन मन लाग्छ।

आमाको खुट्टामुनि बसेर धेरै रुन्छु।
रातभर आमा संगै कुरुवा बस्नु दिनभरि पैसाको लागि दौडधुप गर्नु मेरो आजभोलीको दिनचर्या बनेको छ।
"सुन्नुस त"
म फेरी झस्याङ्ग हुन्छु। रुदाँरुदै कतिखेर निदाईछु पत्तै भएन।
"हजुर"
डक्टर राउण्डमा रहेछ।
"यो औषधीहरु ल्याउनुस।"
"प्लीज डक्टर आमालाई के भएको हो? उपचारमा कुनै कसर नराख्नुस।" मैले यसरी अनुनय गरें कि
मानौ मेरो अगाडी साक्षात देवता उभिएको छ र म भगवानसंग भिख माग्दै छु।
" म सक्दो गर्नेछु। भोली रिपोर्ट् आउँछ अनि मेजर केश सल्भ गर्न पटि हामी लाग्नेछौ। "
डक्टरको मुखबाट निस्किएका यि शब्दहरुले मेरो घायल मनलाई मल्हमपट्टि लगाएझै भयो।

सिस्टरले डक्टरले काटेको पुर्जी मेरो हातमा थमाइदिइन्।
मैले कुरो बुझें। चुपचाप बाहिर निस्किन्छु । चिसो सिरेटो चल्दैरहेछ बाहिर । पातलो सल अझ च्यापेर पुरै शरीर ढाक्ने असफल प्रयत्न गर्छु ।
औषधालयमा पुग्छु । सुनसान रात । फाट्टफुट्ट अस्पताल परिसरमा मानिसहरु ओहरदोहर गर्दैछन् । पुर्जी दिन्छु । केटो फटाफट औषधी झिक्छ । हेर्छु हिजोको भन्दा पनि बढ्ता छ औषधीहरु । सिरिन्ज,स्लाईन, लगायत अरु पनि।
" कति भयो?"
"दुई हजार चारसय"
पर्स हेर्छु। ठ्याक्कै चारवटा रहेछ हजारका नोटहरु। पैसा तिरें र औषधीको झोला बोकेर अघि आएकै बाटो फर्कन्छु ।
डक्टर गैसकेको रहेछ।

"ल्याउनुभयो?"
"अँ ल्याएं।"
झोला नै सुम्पिदिन्छु । स्लाइन फेरि चढाईयो । पाखुरामा सिरिन्ज खोपियो । आमाको हालत उस्तै छ ।
"केहि अप्ठ्यारो पर्‍यो भने रिसेपसनमा भन्नुस है ।"
चुपचाप टाउको हल्लाउँछु ।
सिस्टर गैइन्।
मन भारी भैइरहेकोछ ।
खाना खान मन पटक्कै छैन । नजिकै टुसुक्क बस्छु । टाउको आमाको काख नजिकै राखेर घोप्टन्छु ।
अतितले गांज्न थाल्छ । मन उडेर १३ वर्ष पछाडी पुग्छ क्षणभरमै । खरले छाएको घर । सेतो कमेरोले पोतिएको । भित्र म आफुलाई देख्छु ।


"किन यतिले पुग्दैन?"
"अहं"
"मसंग यति नै छ। "
"हुन्न "
"भनेको मान न लुरी म संग यो भन्दा बढि फुटेको कौडी छैन।"
म रिसले आगो भएको थिएं।

भुईंमा कचियाले छ्याक्छ्याक् हानेर खाल्डो नै बनाईसकेकी थिएं।
"सुनिनस् ,मसंग चारसय मात्रै छ।"
"त्यतिले त पुग्दैन ।सबैले कस्ता कस्ता कपडा किनिसके। म चाँहि नलाउनु।"
मेरो मन त्यतिखेर फेशनमा चलेको मखमलको बुट्टेदार नरम भुवादार ज्याकेटमा गएर अट्किएको थियो।
जुनसुकै हालतमा पनि लगाएरै छाड्ने निधो गरिसकेको थिएं।
मलाई थाहा थियो त्यो ज्याकेटको पन्ध्रसय पर्छ भनेर।त्यसैले ढिपि गरिरहेकी थिएं।
"मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा? यो पनि ११ दिन ज्याला र बनिबुतो गरेको पैसा हो। त्यसो नभन् ।अरु के लाउँछन् संग मतलब नराख।घरको अवस्था हेर।अब तँ पनि ठूली भैइसकिस्।म एक्लै छु।कसरी तैले भने जस्तो पुर्‍याउन सक्छु?"
विचरी मेरी आमा।बाबा बित्नु भएको पनि ठ्याक्कै ४ पुगेर ५ वर्ष लागिसकेको थियो। मकवानपुरको तिनतलेमा सानो त्यो घर र २ पाखे बारी सिवाय सम्पतिको नाममा अरु केहि थिएन।ज्याला बनिबुतो नगरी साँझ बिहान खान धौ धौ। कहाँबाट ल्याउन सक्नु त्यत्रो पैसा आमाले तर त्यतिबेला यो भुस भरिएको मष्तिस्कले त्यस्तो कुरा कहाँ सोच्न भ्याउनु ।
जुरुक्क उठें। सानु लिस्नु चढेर माथि नाममात्रैको बुईंगलमा पुगें। अलिकति पराल र भुईँमा मकैको खोस्टा छरपष्ट थियो । म डङ्ग्रङ त्यहिमाथि सुतिदिएं।
"लुरी ए लुरी"
सानामा सबैले मलाई दुब्ली भएकी भनेर नाम काढेर लुरी भनेर बोलाउने गर्दथे।
आमालाई थाहा भैइसकेको थियो म रिसाई भनेर।अब जति गरे पनि म तल ओर्लिन्न भन्ने थाहा पाईसक्नुभएकोले दोर्‍हाएर बोलाउनुभएन।
दु:ख मै हुर्केको भए पनि जिद्दि गरिसकेपछि नछोड्ने मेरो बानीले आमालाई बेला बेलामा दु:ख दिईरहने।सायद बालापन पनि मिसिएको थियो।अहिले भए कसरी म त्यस्तो व्य्वहार गर्न सक्थें। आमाको पिर मर्का एक छेउ पनि बुझिन।एकहोरो त्यो मखमलको बुट्टेदार ज्याकेट लगाउने धुन सवार थियो म मा।
कतिखेर निदाईछु पत्तै पाईन।
खस्र्याक खुस्रुक् गरेको आवाजले म बिउँझिएं।अध्याँरो भैईसकेको रहेछ।डर लाग्यो।
"को हो?"
पाखुरामा कसैले समातेको थाहा पाएं।मन ढक्क फुल्यो।
"किन आत्तिएकी? म के "
आमा पो हुनुहुदोंरहेछ।
"जान्न"
फेरि उहि घुर्की दोहर्‍याएं ।
"हिड न तल।
म अटेर गरेर बसिरहें।
"मैले पैसा ल्याएकी छु।भोली बिहानै हामी बजार जाने।
"साँच्चै?"
"साँच्चै ।
फुरुङ परें।कतिखेर लिस्नु ओर्ले थाहै भएन।
भोलीपल्टै बजार गएर त्यो मखमलको बुट्टेदार ज्याकेट किनिछाडें। उतै बजारबाटै भिरेर साथीको घरतिर लागे।
देखाउनको लागि।
यताउता गरिरहे दिनभरि जसो नै।यति पनि सोचिन कि आमाले त्यत्रो पैसाको जोहो कसरी गरिन् होली भनेर।
पछि कलेज पढ्दा पो थाहा पाएं त आमाले मेरो वाहियात माग पूरा गर्न बाबाको अन्तिम निशानी स्वरुपको तिलहरी बेच्नु भएको रहेछ।मेरो नादानीपनले बाबाले दिनुभएको मायाको चिनो मास्न बाध्य मेरी आमाको त्यतो बेला असाध्यै माया लागेर आयो। त्यतिखेर सम्ममा म बुझ्ने भैसकेकी थिएं।
मकवानपुर क्याम्पसमा पत्रकारितामा प्रमाणपत्र तहमा अध्ययनरत थिएं।मेरो नाजायज ईच्छा आमाले दिनुभएको त्यो कुर्बानीले मुटु छेडिएला झै लाग्यो। प्रण गरें आमालाई खुसी राख्छु।कहिल्यै दु:ख दिन्न।आमाको सेवा गर्छु।
जसोतसो आमाले प्रमाणपत्र तह अध्ययनको लागि खर्च जुटाउनुभएको थियो।त्यसपछि अध्ययनलाई निरन्तरता दिन मैले स्थानिय पत्रीकाको लागि समाचार संकलनको काम गर्न थालें।
पढाई खर्च आफै जुटाउँदै स्नाताक तह सकाएं।त्यतिखेर सम्ममा मिडियामा काम गर्ने अनुभव प्रस्सतै बटुलिसकेको थिएं।मास्टर्स गर्ने ठूलो धोको।
काठमाण्डौं छिरें।
शुरुका दिनहरु कठिन थिए।नयाँ नौलो परिवेश।पछि पछि हुदैँ गएपछि साथीभाई चिनियो।सहयोगी हातहरु बढे। साथीहरुकै सहयोगमा ‘प्रतिस्पर्धा ‘नामक पत्रिकामा न्युज कलेक्सनको काम गर्न थालें।

राम्रै कमाई नभए पनि एउटा जीवन बाँच्न सक्ने भएकी थिएं।आमालाई यतै ल्याएर राख्ने विचारले बोलाएं।तर आमा मान्नु भएन
"के गर्नु मैले काठमाण्डौं गएर।न कोहि चिनेको छु न केहि जानेको छु।फेरि म काठमाण्डौं गएपछि यी बस्तुभाउ कसले हेर्छ।भो जान्न।"
आमा यस्तै भन्दै जित्दै आउनुभएको थियो।

प्रशंसा पनि सुनिन्थ्यो यदाकदा।
"राम्रो लेख्छे।"
"स्मार्ट छे।"
"ट्यालेन्ट पनि छे। "
यस्तै यस्तै
अनुभव गरें दाम नकमाएपनि नाम चाँहि खुबै कमाईने रहेछ यो क्षेत्रमा।
दिनहरु बित्दै थिए।
५ दिन अघि म कोठामै बसेर न्युज तयार पार्दै थिएं।खबर पक्का थियो।ललितपुरको बांडेगाउँको एकजना बिरामीको एउटा नर्सिङ होमम उपचारको क्रममा अप्रेशन गर्दा एउटा मृगौला चोरिएको रहेछ।खबर गोप्य थियो।म यसको लागि पछिल्लो एक महिना देखि खबर तयार पार्दैथिएं। अब समाचार प्रमाणसहित तयार भएको थियो।बाँकि थियो त न्युजफ्ल्यासको।
"टिरिरिङ् टिरिरिङ्" टेबलमा राखिएको नोकिया एक्स टु मोबाइलको घण्टीले ध्यान भङ्ग गर्‍यो।
"हेलो"
"माया जी हो?"
"हो।"
"तपाईंसंग केहि जरुरी कुरा गर्नु थियो।"उताबाट भद्रपौरुष आवाज आयो।
"भन्नुस।"
"त्यो तपाँईले तयार पार्नु भएको न्युज फ्ल्यास नगर्नुस्।त्यसको लागि म जति माग्नुहुन्छ त्यति रकम दिन तयार छु।"
पारा छुटेर आयो।आज सम्म स्वाभिमानीलाई आत्मसाथ गर्दै आएकी मलाई त्यस्तो कुराले कन्पारो तात्यो।
"के भन्नुभएको? तपाँई होसमा हुन्हुन्छ?'
"नरिसाउनुस न।म तपाँईकै भलोको कुरा गर्दैछु।"
" माईण्ड योर ल्याङ्वेज ।यु नो व्हाट काईण्ड अफ म्यान आई एम । थ्याङ्स ।"

"विचार गर्नुस।म तपाँईकै भलो को कुरा गर्दैछु फेरि पनि।" उहि धोद्रो स्वर सुनें।
फोन काटिदिएं।
फेरि मोबाईल बज्यो।उफ्! यसलाई त भनेर रिसले " यु स्टुपिड" जोडसंग कराएं।
"नानी के भो?किन चिच्याएकी? चिनिनौ म कान्छा काका।"
लौ बित्यास परेछ।लज्जित भएं।
"हैन काका यहां बदमासहरुले दु:ख दिईरहन्छन्।त्यसैले हो।"
अनि काका कस्तो छ घरतिर?"
मैले आफूलाई सम्हाल्दै भनें।
"नानी आमा बिमारी हुनुभएकोछ।तिमी आउनुपर्‍यो।"
यति सुन्ने बित्तिकै मुटु चिसो भएको अनुभव गरें।
अनायसै "के भएछ?आमालाई" मेरो मुखबाट निस्किएछ।
"खै नानी वनबाट घाँस ल्याएर बिसाउदैंहुन्हुन्थ्यो रे एक्कासी ढल्नुभएछ।हामीले भाउजुलाई हेटौडा अस्पतालमा भर्ना गरेका छौं। "काकाको मुखबाट यति सुन्द नसुन्दै मेरो होसहवास उडिसकेकोथियो।निधारबाट पसिना चिट् चिट निस्कन थाल्यो। आँखा धमिलो हुदैँगयो।एकदमै आत्तिएं।
"हुन्छ काका म भरे सम्म आईपुग्छु। "यति भनिसक्दा मेरो हातहरु काँप्न थाल्यो।
खल्ती छामें।जम्मा तीनहजार रहेछ। कपडा फेरें।होसै थिएन।सिधै हान्निएं बल्खुतिर।घाम ढल्न लागिसकेको थियो। घडि हेरें ।पाँच बज्न आँटेको रहेछ।काउण्टरमा पुगें।
"टिकट छ?"
"छ।"
"कति बजेको?"
"अन्तिम गाडी हो।५:३० को छ।"
"हुन्छ दिनुहोस।"
टिकट लिएर एकछिन गाडी कुरें। सुमो आईपुग्यो।कति खेर चढें कति खेर गाडी हुईक्यो पत्तै भएन।एकदम अत्यासिएको मनलाई म छिटो भन्दा छिटो पुग्न गाडी भन्दा पनि छिटो हुईकाइरहेको थिएं।

१० बजिसकेको थियो।म सिधै हेटौडा अस्पताल पुगें।आमालाई आई .सि .यु .मा राखिएको रहेछ।सिसाबाहिरबाटै हेरें।गलत्तै गलें।
"के भएछ?" मेरो प्रश्न सोधाई डक्टरलाई थियो।
"अहिले नै केहि भन्न सकिने अवस्थामा छैन।"
"अनि?"
"प्रब्लम अलिक कम्प्लिकेटेट छ।"
"त्यसो भए?" मेरो प्रश्न एकदमै छोटो तर उत्तर छिटो खोजिरहेको थियो।
"उहाँलाई रेफर गर्नुपर्छ। काठमण्डौं लैजानुस।"
डक्टरकै सल्लाहमा आमालाई भोलिपल्टै काठमाण्डौंको विर अस्पतालमा ल्याईयो।
आज ४ दिन बितिसक्दा पनि डक्टरहरुले यहि रोग हो भनेर कुनै किटानी दिन सकिरहेका छैनन्।

स्वास्थ्य अवस्थामा कुनै सुधार देखिएको छैन। यद्दपी मेरो हालत भने हेर्न लायकको भैसक्यो।
दैनिकी भताभुङ्ग भएको छ।अफिसमा मुख देखाउन पुग्छु।खल्ती रित्तिसक्यो।चिनेजानेको आफन्त सबैसंग सरसापट चलाईसकें।
न्युज तयार हुदाँहुदै पनि फ्ल्यास गर्न मेरै कारण ढिला हुदाँ सम्पादको केहि तिता केहि मीठा बचन पनि सुनिसकें।

बिहान ८:३० भएको होला सायद।आजभोली त घडी हेर्न पनि बिर्सिसकेछु। डक्टरको हातमा रिपोर्ट रहेछ।केहिबेर घोत्लिए।म भने के रहेछ रिपोर्टमा भनेर जान्न आतुर अनि अलिकति शसंकित पनि भएं।
डक्टरको मुखाकृति हेर्छु।निधार खुम्क्चिएको देख्छु।भयको बादल मडारिन थाल्छ।
"सुन्नुस पेसेन्टलाई ब्रेन ट्युमर भएको छ।दिमागमा रगत जम्मा भएको छ।समयमै अप्रेशन गर्नु पर्छ।नत्र केहि भन्न सकिदैँन।" डक्टरको बोली मलाई मुटु छेडिने अस्त्र जस्तै लाग्छ।
म क्षतबिक्षत हुन्छु।कुनै बिषेश रोगले गाँजेको अनुमान लगाए पनि यति ठूलो रोगको मैले कल्पनै गरेको थिईन।
आँखाबाट आँशुको धारा अबिरल बग्यो।

"कहिले गर्ने अप्रेशन?अनि खर्च कति लाग्छ?"मेरो सोधाईमा डक्टरले लभग ४ लाख लाग्ने र पैसको वय्वस्था हुने बित्तिकै अप्रेशन गरिने कुरा बतायो।तर यसको लागि धेरै ढिला गर्न नहुने पनि बतायो।जम्मा १ दिन अरु पर्खन सकिने।त्यो भन्दा पर जानु बिरामीको लागि खतरा भएको पनि बताए।
म अलमल्ल परें।
कहाँबाट ल्याउनु त्यत्रो रकम? म सोचमा डुबें ।
दिमागले कामै गरेन।चिनेजानेको सबैकहाँ पुगिसकें।कतिले सहयोग गरे कतिले टारे।अब बाँकी नै कहाँ छ र?
यस्तै प्रश्नले गाँज्दैगर्दा मोबाईलको घण्टी बज्यो।
"हेलो माया स्पिकिङ्ग"
"मायाजी तपाँई एक्कासी कुरै नबुझी रिसाउनु हुदोँरहेछ। हामीलाई थाहा छ यति खेर तपाँईको आमा अस्पतालको बेडमा हुन्हुन्छ र यो पनि थाहा छ कि यसको लागि तपाँईलाई लाखौं रुपैयाँको आवश्यकता छ।यदि तपाँई चाहनुहुन्छ भने त्यो न्युज फ्ल्यास नगरी सबै प्रमाण हामीलाई फिर्ता दिनुहोस ।हामी तपाँले माग्नुभए जति रकम तपाँईलाई दिन तयार छौ।"
म केहि बोल्न खोज्दैथिएं कि
"अहं अहिले कुनै निर्णय दिईहाल्नु पर्दैन। तपाँई ठण्डा दिमागले सोच्नुस।आमाको जीवन वा स्वाभिमानी? अनि हामीलाई यहि नम्बरमा रिडायल गर्नुस १ घण्टा पछि । हामी प्रतिक्षामा हुनेछौं।" त्यो बोलीमा मेरो सहमती सहितको उत्त्तर आउँछ भन्ने यति विश्वास थियो कि मैले केहि बोल्नु अगावै उनिहरुले फोन काटिदिए।

म थच्चक्क बसें। मेरो मष्तिस्क रोटेपिङ्ग झै जोडजोडले घुम्नथाल्छ। अतितका दिनहरुले भित्र भित्रै खान थाल्छ।आमाको त्याग र समर्पणको मुल्य आज मैले आफ्नो स्वाभिमानीलाई बन्दगी राखेर तिर्न सक्छु भने त्यसको लागि मैले आज यो गलत नै सहि तर निर्णय लिनै पर्छ। यस्तै आवाजहरु गुञ्जयमान हुन्छ मेरो वरिपरि। म रिङ्गिदै रिङ्गिदै कुनै बिन्दुमा पुगेर टक्क अडिन्छु। सायद यहि बिन्दुले मेरो जीवनलाई दुर्भाग्यतिर मोड्दैछ तथापी म त्यहि बिन्दुलाई आत्मसाथ गर्न त्यो अघि आएको फोन नम्बरमा रिडायल हान्दैछु। हातहरु काँपिरहेछ अनि स्वरहरु भासिईरहेछन्। सायद म आज सम्झौता गर्दैछु । जीवनदर्शनसंग अनि आदर्शका सिद्दान्तहरुसंग म परास्त हुदैँछु।



बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.