जीवनको बोझ ! कविता । कोमल भट्ट । - Palpali Milan

Recent

23 February 2012

जीवनको बोझ ! कविता । कोमल भट्ट ।

हो!मलाई अत्यन्तै बोझ भएको छ
अस्तित्व र स्वाभिमानको बोझ
मूल्य र मान्यता अनि आदर्शताको बोझ
नैतिकता र इमान्दारिताको बोझ
सद्बिचार र सदाचारको बोझ

अस्तित्व दोबाटोमा रोकिएको छ
स्वाभिमान दोसाँधमा अडिएको छ
मूल्य र मान्यता डांडापारि पुगिसकेको छ
तैपनि घिच्याइरहेको छु,घिच्याइरहेको छु
आफैंसंग लैजान सक्छुकी भन्ने धोको लिएर


जीवन कर्कलाको पानीजस्तै ढिलपिलाएको छ
नैतिकताले नेटो काट्नै लागिसकेको छ
सदाचार त पाताल भासीइ सकेको छ
तैपनि सम्हालिरहेको छु,सम्हालिरहेको छु
अझै यसलाई जोगाउन सक्छु कि भन्ठानेर

इमान्दारितामा धमिरा लागिसकेको छ
सद्बिचार देखावटीमा मात्रै सीमित भएकोछ
आदर्शता खोक्रो भएर हराउन लागेकोछ
तैपनि बोकिरहेको छु,बोकिरहेको छु
अझै आफूसंग राख्न सक्छु कि भन्ने सम्झिएर

अनि कसरि र कहाँ बिसाउनु यो बोझ ?
निरन्तर निरन्तर सम्म पनि
यो बोझ, बोझ नै भएर रहनेछ
यो केवल मृगतृष्णा जस्तै हुनेछ
कहिल्यै पूरा नहुने जीजिविषा मात्र हुनेछ
कवी
कोमल भट्ट
काठमाडौँ नेपाल हाल न्युर्योक

No comments:

Post a Comment

Search