*** अभागी *** - Palpali Milan

Recent

05 August 2011

*** अभागी ***


सधै हँसिली देखिने माया त्यस दिन मलिन देखिन्थिन् ।
उसको मुहारमा कुनै कान्ती थिएन।सदैव तेज बिजुलीको चम्कहाट देखिने त्यो अनुहार वर्षाको बादल झै देखिएको थियो ,थियो त केवल बिषादका रेखाहरु जुन उनि मेरो अगाडी लुकाउने असफल प्रयत्न गर्दैथि ।
करिब १ हप्ता पछि मात्रै उनि स्कुल आएकी थिईन्। अन्य दिनमा भन्दा बिल्कुलै फरकपना मैले उनमा पाएकी थिएं। कक्षा ५ मा अध्ययनरत माया उमेरले १६ लागिसकेकी थिइन्।उनको उमेर सुहाँउदो कक्षा थिएन ।चार दिदीबहिनी मध्य सबै भन्दा जेठी उनि बाबा,आमा कोठा सर्दै हिड्नाले बिचैमा पढाई छोड्दै पुन: दोहर्‍यौँउदै गर्नुपरेकोले भर्खर ५ कक्षामा पढ्दै थिईन्।

जे भए पनि उनि जेहेन्दार थिइन् । प्राय जसो उत्कृष्ट नम्बर ल्याउने माया उमेरले होला स्वाभावत चञ्चले थिइन् तर उस्तो उत्ताउलो भने थिइन। मेरो मन पर्ने बिद्दार्थीहरुमा उनि पनि पर्दथिइन् ।उनि पनि म संग अरु शिक्षकहरुसंग भन्द बढी झ्याम्मिन्थिन्।


खै के बिशेषता देखिन् उनले म मा केहि कौतुहलताका कुराहरु भयो भने धक नमानीकन मलाई सोध्थिन् ।आफ्ना मनका भावना अनि घरायसी कुरा समेत किञ्चित अप्ठ्यारो नमानी भन्थिन् । उनको भनाई अनुसार उनिहरुको पहाड घर नुवाकोट थियो ।

बुबा डकर्मी काम गर्नुहुन्थ्यो तर कमाएको जति उहि दिन भट्टीमा सकाएर जाँडले भिल्लु भएर आउने गर्दथे।घर व्यबहार टार्न धौ धौ परेर आमाले रक्सी पार्नु हुन्थ्यो।रक्सी पार्न धुवाँमा बस्नुपरेकोले होला प्रायजसो आमा बिमारी परिरहने ।त्यसरी पारेको रक्सी भने मायाले नै बोकेर भट्टीमा पुर्‍याउन जानु पर्ने। उनलाई त्यसरी भट्टी चाहार्दै हिड्नुपर्दा साह्रै नरमाईलो महशुस हुन्थ्यो ।

तर पनि बाध्यताबस उनले त्यो काम गर्नै पर्थ्यो ।भट्टीमा रक्सी पुर्‍याउन जाँदा खराब नजर भएकाहरुको लोभि नजर उनको त्यो भर्खर सल्सलाउँदो ,भर्भराउँदो जोवनमाथि हुन्थ्यो।पापीहरु मुखमा आए जति छाडा कुरा गर्न पनि शरम मान्दैन्थे । भर्खर १६ लगेकी मायामा साँच्चैमा राम्री थिइन्। गरिबकी छोरी अनि त्यसमाथि रक्सी व्यापार गर्ने भने पछि समाजका कलंकहरुको गिद्दे दृष्टी सोझै मायामाथि पर्दथ्यो । त्यसता नरपिचाशहरुबाट बचेर हिड्न निकै गाह्रो हुन्थ्यो ।
तै पनि आफ्नो पढाई लगायत घरव्यवहार धान्न माया बाध्य थिईन्। एकदिन मायाले मलाई " मिस मलाई त घरबाट बाहिर निस्कन पनि मन लाग्दैन आजकल" भनिन्।
मलाई आश्चर्य लाग्यो र मैले" किन ,के भयो र?" भनेर सोधिहालें।
उनि निकै निरश देखिन्थिन् । उनि भुँईतिर खुट्टाले माटो कोट्याउदै गम्न थालिन्।निकै बेर पछि मिस अहिले हाम्रो घरको पल्लोपटी नयाँ मानिसहरु आएर बस्न थालेका छन्।" भनिन्।

"अनि के भो त?" मैले पुन: प्रश्न गरें।

"हैन त्यसमा एकजना ४५ बर्ष जतिको एकदम डरलाग्दो मान्छे छ।त्यसले हेर्दा पनि डर लाग्छ मलाई।"

म अवाक रहें। किन मायालाई त्यो मानिस मन नपरेको होला? फेरी उनलाई जिस्काएर धुरुक्कै पार्ने उत्तौलो केटो पनि त हैन रहेछ।आफ्नै बाबुसरहको उमेरको मानिस देखेर किन डर लाग्यो होला भन्ने खुल्दुली मलाई लाग्यो । अनि फेरी त्यो कौतुहलता मेटनलाई अर्को प्रश्न गरें।

""त्यसो त बुबा जतिकै उमेरको मान्छे रहेछ नि किन र डर मान्नु परेको ? कुनै कारण भए भन ।" मैले भने।उमेरको मान्छेसंग डर मान्नुपर्ने त म देख्दिन त माया,कि कुनै कारण छ? छ भने मलाई भन। " मैले भनें।

निकैबेर पछिको भलाकुसारीमा मैले उनको अप्ठ्यारो बुजें।त्यो घरनजिकै कोठामा आएर बस्ने त्यो मानिसको चरित्र राम्रो थिएन।मायालाई धारा ,बाटो जता जादाँ पनि पछ्याउने त्यसको त्यो गिद्दे दृष्टी देखि माया तनावमा थिइन् । एककिसिमको वहसी आखाँहरु देख्थिन् माया त्यो मान्छेको आखाँमा अनि कता कता भित्र भित्रै डरको साम्राज्य खडा भैदिदोँरहेछ।

हुदाँहुदाँ एकदिन त त्यो मान्छे आफ्नै घरभित्र पो पाईन् । आमा बिरामी हुदाँ झारफुक गर्ने झाक्रीको रुपमा घर भित्र त्यो मान्छेलाई पाउँदा त मायाको होसहवासनै उडेको थियो । आमालाई फुक्दै अनि माया पट्टी पठाउने त्यो राता राता आखाँको डरलाग्दो दृष्टीले मायामा सन्त्रास फैलिएको थियो । कतिखेर जाला भन्ने सोच्दै गरीकी मायाले बल्लबल्ल २ घण्टा पछि राहतको श्वास फेरेकी थिइन्।

उहि माया लगभग १ हप्ता पछि मात्रै स्कुल आउदाँ केहि असामान्य अवस्थामा भेटे पछि ममा एक्किसिमको नरमाईलो अनुभुती हुदैँथियो।

उनको कपाल २ दिन देखि नकोरिएझै देखिन्थ्यो।

अनुहार न्याउरो अनि कपडा अस्तव्यस्त तरिकाले लगाएकी थिईन्।। कतै कुनै अशुभ घटना घटेको नहोस भन्ने कामना सहित मैले उनलाई उनको पाखुरामा च्याप्प समातेर क्यन्टिनको कुनामा लगे जहाँ हम्मेसी कोहि पनि जाँदैनथिए । उनले कुनै विरोध स्वरुप प्रतिकृया देखाईन।चुपचाप मसंग लुरुलुरु हिडिन् । कुनामा पुगे पछि मैले उनले आफ्नो गाला छोप्न प्रयोग गरेको सल तानें। मायामा एकप्रकारको हैरानी देखिरहेको थिएं ।

किन किन माया त्यो सल हटाउन मानिरहेकी थिइन तर पनि मेरो त्यो कार्यलाई ठाडै प्रतिरोध भने गर्न सकिन । उफ्! म हतप्रभत भएं । अचानक कसैले मलाई कुनै गहिरो खाईमा धकेले झै अनुभव भयो ।

मेरो हातखुट्टाहरु फतक्कै गल्यो । म निस्तब्ध भएं उनको गाला र घाँटी वरीपरि कुनै नरपिचासले जथाभावी आक्रमण गरेर घाउ नै घाउ बनाएको थियो। अझ प्रष्ट रुपमा नियालेर हेरें अहो! कति निर्दयी दाँतका निशानीहरु थिए।

माया एक्कासी मेरो काखमा घोप्टो परि रुन थालिन्। मानौ कति समयदेखि थामेर राखेको पिडा अहिले आँशुको रुपमा बगाउँदै थिइन्।म चुपचाप रहें।उनको कपाल बिस्तारै हातहरुले खेलाएं।ढाडमा धाप मारें तर मौन बसिरहें ।

मलाई लाग्यो मायामा वेदना र दु:खको भेल उर्लिदै छ यसलाई छेक्न हुन्न।अबिरल बग्न दिनु पर्छ।एकछिनमा यो आफै साम्य हुनेछ।भनेजस्तै उनि धित मर्नुजेल रोइसकेपछि अब शान्त थिइन्।मानौ कुनै समुन्द्रमा आएको तुफान शान्त भएको थियो।

अब उनि सम्हालीएको आभास गरें। बिस्तारै विश्वस्त तुल्याउन थालें। अब उनि पुरै म प्रति विश्वस्त भैइन् र आफ्नावेदना भन्न थालिन्।

गएको हप्ता शनिवार राती उनि ट्वाईलेट गएकी थिइन् । त्यस्तै रातको १२ बजेको हुदोँ हो।घरबाहिर जानुपर्ने बाध्यता थियो । सधैको नियमित प्रकृया नै थियो ।सधै जसो त्यसदिन भएन । फर्किदाँ अनौठो आवाज सहित कुनै कालो छांया देखिन् मायाले ।डरले कराउन मुख के खोलिथी कुनै भयंकर जनावरको पञ्जाले झै मुख बन्द गरिदियो । अध्याँरोको साम्राज्य चलिरहेकोले मायाले को हो भन्ने नै भेउ पाउन सकिन । त्यो दानवको हातबाट फुस्किन मायाले भएभरको बल लगाइन् तरत्यो सानि मायाको त्यो अजङ्गको राक्षससंग के जोड चल्थ्यो ? केहि बेरको घमासान युद्द् पश्चात माया भुईमा लड्न पुगिन्।

त्यो भिमकाय राक्षससंग मायाको के लाग्थ्यो र ? अब त्यो यौन पिपासुले मायाको स्तन,गाला, घाँटी लगायत शरीरभरी यन्त्रवत रुपमा लगातार राक्षसी दाँतहरु गाडिरह्यो ।असह्य पिडाले माया गल्न थालिन् । क्षणभरमै मायाको कौमार्य लुटिएको थियो । उनि लुटिएकी थिइन्।कुनै नरपिचासबाट बलात्कार भएकी थिइन् । आफ्नो अभिष्ट पुरा गरिसकेपछित्यो छाँया त्यतै कतै विलिन भयो कुनैजादुई चमत्कार झै ।कताबाट आयो कता गयो माया अनभिज्ञ थिइन।


माया अचेत हुन पुगिन् ।लगभग आधा घण्टापछि होस आउँदा उनले खुला आकाशमुनि बारीमा लडिरहेकी पाईन आफुलाई अनि बिस्तारै आफ्नो त्यो निर्जिव तुल्य शरीरलाई थाम्दै कोठामा पुर्‍याईन् । सबै मस्त निन्द्रामा थिए।कसैले चाल पाएका थिएनन्।उनले त्यो घटना कसैलाई पनि सुनाउन सकिन यद्द्पी आमालाई पनि सकिनन् ।शरीरमा भएको घाउहरु त कपडाले ढकिन्थ्यो तर मनमा लागेको चोटले उनि गल्न पुगिन् फलत: बिरामी परिन्।गाला एवं घाँटीको घाउ छोप्न भने उनले सलको प्रयोग गरेकी थिइन् । आमा बाबा आफ्नै व्यबहारमा व्यस्त हुनाले मायालाई के भएको भन्ने समेत भेउ पाउन सकेका थिएनन्।उनिहरु लाई ध्यान थियो त कसरी बिहानबेलुकाको छाक टार्ने र कमाएको पैसा भट्टीमा खर्च गर्ने। माया चुपचाप रहिन।

केहि बोलिनन् । बोलुन पनि कसरी एक त समाजमा त्यस्तो घटनाको दोषी स्वंय महिला हुनुपर्छ भने दोषी को भन्ने पनि रहस्यमय नै थियो।लोकाचारको डरले पनि माया खुल्स्त हुन सकिन।

करिब एकहप्ता पछि अलिक सञ्चो भएपछि माया त्यो दिन स्कुल आएकी थिइन् । म उनको त्यो दर्दनाक घटनाबाट बिक्षिप्त भैसकेकी थिएं।

के भन्ने मेरो दिमागले कामै गर्न छोडेको थियो ।आफैमा ग्लानी भएको थियो।मायाको त्यो वेदनाको मसंग कुनै उपचार नै थिएन।घटना ताजा चादैं थाहा पाएको भए केहि कानुनी उपचारको लागि न्यायको ढोका ढक्ढक्याउथें ।तर अब ढिला भैसकेको थियो। मात्रै सान्त्वना र ढाडस बाहेक मसंग अरु केहि थिएन।अपार स्नेह उर्लिदैँथियो मेरो मायाप्रति।

कसैलाई नभन्ने अनुनय गरेकी थिइन् मायाले मसंग त्यसैमे म चुप थिएं।अहिले ६ महिना बितिसकेको थियो त्यो घटना भएर ।
माया स्कुल आउन छाडिसकेकी थिइन।आज दिउँसो मात्रै सुनेको स्कुलका केटाकेटीहरुले भनेका मायाले त खै कसको हो भुँडी बोकीछे अनि उनको बाबुले त्यहि मायालाइ कहिल्यै मन नपरेको त्यो डर लाग्दो हेर्दै खाईदेला जस्तो पल्लो घरमा बस्ने ४५ वर्षिय मान्छेसंग विबाह गरिदिए रे।

 बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Search