फूल सम्झे फूल हुन्छ, काँडा सम्झे काँडा
सम्झिरहे नजिक हुन्छ, बिर्सिगए टाढा
भित्री मनको आँखा खोली संसार हेर्यो भने
कोही हुन्न शत्रु यहाँ, सबै मित्र बन्छ गाढा
आधा दिन छ यहाँ आधा रात छ जिन्दगीमा
सबको आधा हाँसो-खुसी,धेरै घात छ जिन्दगीमा
हातमुख जोर्न बन्दकीमा थुनिएका रहरहरु
मुक्त भइ भन्न बाँकी धेरै बात छ जिन्दगीमा
आज मलाई सैलुंङ्गेको डाँडा याद आयो
पात्ले वनको कटुसैको काँडा याद आयो
परदेशमा कहाँ पाउनु ? घरदेशको स्वाद
गुन्द्रुक-ढिडो, सिल्भरको भाँडा याद आयो
धेरैका धेरै सपनाहरु डुब्दोछन् साँझको घामसंगै
आवाजहरु हराउँछन् यतै गुमनामका लामसंगै
न्याय कसलाई माग्नु खै ?यहाँ त कानुन साटिन्छ
पाउने-पठाउनेको नाम नलेखिएको साधाखामसंगै
माटोको निम्ति माटोमै ढुंगा भएर बाँच्छु
शितले कक्रेको केराको बुंगा भएर बाँच्छु
मान्छे जन्मेकै दु:ख टेक्न हो भने अब
काँडामाथिको गुलाफ-थुंगा भएर बाँच्छु
रचनाकार
मनु लोहोरुङ राई
सितलपाटी - ६, संखुवासभा
हाल : - न्युयोर्क
No comments:
Post a Comment