धेरै घोचेर नभन्नुस, मित्रहरु !
यहाँ रहरले कोही पनि विदेशिएको हुँदैन
सक्नु हुन्छ भने यसको कारण खोजिदिनुस ,
त्यत्तिकै त मातृभूमिबाट कोही पर भएको हुदैन ।
हामीले आमाको काख र प्रियको साथ् छोडेकाछौं,
छुनेमुने लालाबालाको अमूल्य माया त्यागेकाछौं
आत्मीयताको न्यानो सहवासबाट बिछोडिएकाछौं
मुटु र मायालाई देशमै छोडेर विदेशिएका हौँ ।
ब्याज र स्याजको पीडाबाट मुक्ति खोज्न आएकाहौँ ,
मुटुका टुक्राहरुको सुन्दर भविष्य निर्माण गर्न आएकाहौँ
भोकले पिल्सेका परिवारलाई एकपेट खुवाउन आएकाहौँ ,
अभावै अभावले रोइरहेका मुहारलाई हँसाउन आएका हौँ ।
राम्रो अवसर पाएको भए ,को विदेशिन्थ्यो र मित्र ?
तर हामीहरु त यहाँ घरबारी कबुलेर आएका हौँ
आफ्नो मिहेनत र पसिना फुल्न नसकेरै त होला ?
आँशुका तरेलिले नुहाएर आफ्नो देश छाडेका हौँ ।
विदेशमा सुखै-सुख र आनन्द ले, को बसेको छ र मित्र ?
कहिले घामले पोलेको छ त कहिले हिउँले पछारेको छ
रुखो र कर्कश आवाजले सधैं गिज्याएको छ यहाँ ,
बाध्यता र विवसताले मात्रै मिहेनती र सहनशील बनाएको छ ।
हामीले आफ्नो अस्तित्व बेचेका छैनौ, मित्र !
देशको मायालाई अन्तरदिलमा सजाएर राखेका छौं
परदेशी बन्नुपर्दाको पीडा कसलाई हुँदैनर ?
तैपनि अनगिन्ति सपनाहरु सजाएर बाँचेकाछौं ।
हामीलाई देशको मायाँ नगर्ने नठान्नुस, मित्रहरु !
देशको चिन्ताले हाम्रो मुटु सधैं दुख्ने गरेको छ
आफ्नो रीतिरिवाज र संस्कृतिको सधैं सम्मान गर्छौ हामी ,
हामीलाई आफ्नो राष्ट्रियता प्राण भन्दा पनि प्यारो छ ।
कवी
कोमल भट्ट
काठमाडौँ नेपाल हाल न्युर्योक
No comments:
Post a Comment