मनको कुनामा अलिकति रहर पोको पारेर
घाम पानी केही नभनी जिन्दगीलाई खारेर
आज रोए पनि भोलि हाँस्ने अभिलाषा बोकी
मिहिनेतको फसल उब्जाउदैछु मरभूमि बारेर
बटुवाका आँखामा लालीगुराँस फुल्छ र पो शिर उच्च छ
पूर्वको घामले उत्तरमा हिमाल खुल्छ र पो शिर उच्च छ
सिमेन्ट र बलुवाको त्यो घना जंगलभित्र भक्तपुरे दाइको
खर्पनमा परिश्रमको हरियाली झुल्छ र पो शिर उच्च छ
जुन खोलाको तिम्ले पानी खायौ बैरी
त्यही खोलामा तिम्ले विष लायौ बैरी
गर्ने नगर्ने कर्म गरिसकेपछि
के माग्न मन्दिर मस्जित धायौ बैरी?
रोजगार र रोटीको छिटो लागोस् भनेर टुङ्गो
उ पूज्दै हिँड्छ सफालुगामा लपेटिएको ढुङ्गो
खालीहात पसार्दैमा कसैले दिँदैन यहाँ
तिर्खा मेटाउँने पञ्चामृत र पेटभर्ने अपुङ्गो
आज मलाई किन किन मरे जस्तै लाग्यो
मेरो नाममा खरानी छरे जस्तै लाग्यो
अन्याय र अत्याचारले सीमारेखा नाघ्दा
सुन्दर सृष्टिमै खडेरी परे जस्तै लाग्यो
रचनाकार << गीता थापा “दोषी”>> हाल ईजरायल