गिद्दे शहर !! कविता !! प्रेमशाली घिमिरे - Palpali Milan

Recent

18 May 2018

गिद्दे शहर !! कविता !! प्रेमशाली घिमिरे

थुप्रिएका फोहोर
र फोहोर भित्र
लाश उधिन्दै गरेका गिद्दहरुको शहर
गिद्दे सहर !

रुप बाट
कुरुप बन्दै गरेको
भ्रष्टचारी र ब्यभिचारिहरुको
निर्दयी पाशविक
अड्डा र कोठीहरु
त्यहि कोठीहरू बाट
र्याल चुहाउदै गरेका
काला गिद्दहरुको
गिद्दे सहर !


अस्पताल नामधारी
बधशाला बाट
विवेक मरेका गिद्दहरुले
मानवता बिर्सिएर
जीउदालाई लाश बनाउदै
त्यहि लाश बाट जीजिविषा
चलाउदै पेट भरेको सेतागिद्धरुको
गिद्दे सहर !

शक्तिका तख्ता पल्टिएर
मूर्दा बनेर लम्पसार पर्रेका
सिंह ,बाघ र चितुवालाइ घिसार्दै
तिनैको इतिहासका
चोक्टा -चोक्टा तान्दै -लुछ्दै
अराजनैतिक गिद्दहरुको झूनड
गिद्दे सहर !

दुनिया भरका ठेकेदारहरुले
ठेक्काको बोली लगाउदै
कहिले उसलाई उचाल्दै
कहिले त्यसलाई थेचार्दै
त्यो कुना
र यो कुना बाट
छलकपटका
दूर दूर सम्म नजर घुमाएर
लाशहरु कोराल्दै गरेका
गीद्दहरुको
गिद्दे शहर !

सम्पन्न र आधुनिक आडम्बरमा
थाकेका र गलेका पिडुलाहरु
संस्कृति र परम्परालाई
आगोमा डढाउदै
उत्पन्न खरानी धसेर
लम्पसार परेका लाशहरुको थुप्रामा
रजाइ गर्दै गरेका गिद्धरुको
गिद्दे सहर !

मौनतामा सर्व स्वीकार गर्दै
जीउदै मूर्दा बनेर
सडक गल्ली र चोक हरुमा
अर्थ हिन भिड लगाउदै
बाँचेको नाटकबाजहरुको
लाशै लाशको शहर
गिद्दे सहर !

जति बलात्कार गरे पनि हुने
जति टुक्रा पारे पनि हुने
मुढो झैं अचेत
बिचार शून्य, भावना शून्यले
चिथोरिदै ,कोपरिदै हस्तिपंजर
कनकालै कंकाल
धूलो , हिलो र फोहोरको
दुर्गन्धको कालो मुस्लो रुपी
आकाश माथि
उड्दै गरेका गिद्धरुको
गिद्दे सहर !

No comments:

Post a Comment

Search